चौरजहारी सुक्खा क्षेत्र खानेपानी चार महिना अगावै सम्पन्न हुने

 

रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निर्माणाधीन विजयश्वरी–चौरजहारी सुक्खा क्षेत्र खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्र आयोजनाको काम सक्नुपर्ने भए पनि त्यसको ४ महिना अघि नै आयोजना हस्तान्तरण हुने निर्माण कम्पनी सिएबी कन्स्ट्रक्सनले जनाएको छ ।
कम्पनीका प्रतिनिधी प्रवीर डाँगीका अनुसार आयोजनाको काम अब ५ प्रतिशत मात्रै बाँकी छ ।

विजयश्वरी–चौरजहारी सुख्खा क्षेत्र सम्पन्न भएपछि चौरजहारी नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाको खानेपानी समस्या समाधान हुने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । आयोजनाका अनुसार भौतिक निर्माण काम सम्पन्न भई सकेको छ भने भौतिक संरचनामा रंगरोगन गर्ने र केही फिल्टरमा पम्प जडानको काम गर्न मात्र बाँकी छ । नगरपालिकामा खानेपानीको समस्या भएपछि केन्द्र सरकारले २०७५ साउन १ देखि सुक्खा क्षेत्र खानेपानी आयोजनाको काम अघि बढाएको थियो ।

भेरी नदीको पानी लिफ्टिङ गरेर खानेपानी आयोजना बनाइएको हो । आयोजनाका लागि चौरजहारी–३ को मटेला कैंचाबाट भेरीको पानी लिफ्टिङ गरिएको हो । प्रतिसेकेन्ड २० लिटर पानी आउने आयोजनामा ९ ट्यांकी र एउटा फिल्टर प्लान्ट निर्माण भएको छ । पानी लिफ्टिङका लागि भेरीको छेवैमा २ वटा इनार बनाइएको छ ।

सिएबी कन्स्ट्रक्सन कम्पनीले १६ करोड रुपैयाँको लागतमा आयोजना निर्माण गरिरहेको छ । कम्पनीका प्रतिनिधि प्रवीर डाँगीका अनुसार संरचना रंगरोगनको काम मात्रै बाँकी छ भने आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम पनि निरन्तर भईरहेको र बैसाख १ गते आयोजना हस्तान्तरण हुनेछ । वर्षाको समयमा पनि खानेपानीका लागि लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन लागेकोमा उपत्यकाबासी खुसी छन् ।

उपभोक्ताबाट ५ हजार रुपैयाँ संकलन

खानेपानी आयोजनाको हरेक उपभोक्ताबाट ५ हजार रुपैयाँ नगद संकलन गरिएको संस्थाका अध्यक्ष तेजबहादुर बटाला बताउनुभयो । आयोजना सम्पन्न हुनै लाग्दा उपभोक्ताले गर्नुपर्ने १० प्रतिशत श्रमदान अन्तर्गत उपभोक्ता आफैंले सामग्री खरिद गरी धारा जडानको काम गरिरहेको उहाँले बताउनुभयो ।

आयोजना सम्पन्न भएपछि ४ वटा वडाका १ हजार ६ सय ४५ घरपरिवार लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार