शिवपुरी राष्ट्रिय निकुञ्जले पानीमा लगाएको शुल्क तिर्न केयूकेएलद्वारा अस्वीकार, पुनरावलोकन गर्न माग

काठमाडौ : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको पानीमा लगाएको शुल्क काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले तिर्न अस्वीकार गरेको छ । केयूकेएल उक्त व्यवस्थामा पुनरावलोकन गर्न माग गर्दै खानेपानी मन्त्रालय समक्ष पुगेको छ । गत जेठ पहिलो साता आएको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली २०७६ को परिच्छेद ७ नियम २६ मा निकुञ्जको जलस्रोत उपयोग गरेबापत् शुल्क तिर्नुपर्ने उल्लेख छ । त्यो व्यवस्थाअनुसार केयूकेएलले गत साउनदेखि नै निकुञ्जलाई शुल्क बुझाउनुपर्ने हो ।

निकुञ्जका विभिन्न स्थानको पानीको शुल्कबापत् वार्षिक ८ करोड रुपैयाँसम्म जम्मा हुने निकुञ्जको अनुमान छ । उक्त रकम सिधै निकुञ्जको खातामा जम्मा हुन्छ । निकुञ्जको आम्दानीको ५० प्रतिशत रकम निकुञ्जको वरपरका क्षेत्रमा बस्ने ९मध्यवर्तीका क्षेत्र० का बासिन्दाको विकासमा खर्च हुने कानुनी व्यवस्था छ ।

यसलाई वातावरणीय सेवा (पेमेन्ट फर इकोसिस्टम सर्भिसेज) बापत्को भुक्तानी भनिन्छ । यस्तो शुल्क लिने मुलुकका १२ निकुञ्जमध्ये शिवपुरी पहिलो हो । मुलुकका केही सामुदायिक वनमा यो व्यवस्था पहिल्यै लागू भइसकेको छ ।

बूढानीलकण्ठ पानीमुहानस्थित निकुञ्जको मुख्यालयले शुल्कका लागि गत साउनमै पत्राचार गरे पनि कानुन पालना गर्नुको साटो केयूकेएलले उक्त व्यवस्था खारेजीका लागि पहल गरिदिन खानेपानी मन्त्रालयलाई आग्रह गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले नियमावली अनुसार ९० दिनभित्र कार्यान्वयन गरिसक्नुपर्ने व्यवस्थाअनुसार शुल्कका लागि १२ साउनमा पत्राचार गरे पनि केयूकेएलले अस्वीकार गर्दै आएको बताए । ‘कानुनमा भएको व्यवस्था कार्यान्वयन गर्नु हाम्रो दायित्व हो,’ पुनले भने, ‘केयूकेएलले भने शुल्क तिर्न अटेर गर्दै आएको छ ।’ शुल्क नबुझाउनेलाई पानी संकलन गर्न रोक्न सकिने नियमावलीमा व्यवस्था भए पनि मानवीय हिसाबले पानी बन्द भने नगरिएको पुनले बताए ।

केयूकेएलले शिवपुरी–नागार्जुनका १० स्थानबाट वर्षौंदेखि निःशुल्क खानेपानी संकलन गर्दै आएको छ । निकुञ्जका अनुसार विभिन्न स्थानबाट दैनिक ५ करोड लिटर खानेपानी संकलन हुन्छ । त्यसमध्ये ६० प्रतिशत पानी केयूकेएलले संकलन गर्छ । केयूकेएलले प्रतिमहिना १० युनिट अर्थात् १० हजार लिटर उपभोग गर्ने उपभोक्ताबाट १ सय ५० रुपैयाँसम्म शुल्क लिँदै आएको छ । केयूकेएलबाहेक निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय, विभिन्न उपभोक्ता समूहहरूले पनि वर्षौंदेखि निकुञ्जका विभिन्न स्रोतबाट निःशुल्क रूपमा पानी उपभोग गर्दै आएका छन् । सुन्दरीजल, वागद्वार, ढाप, चिसापानी, ककनी, मुहानपोखरी, गुर्जेभन्ज्याङ र नागार्जुन क्षेत्रका खहरे, नागिनी खोला, रानीवन, इचंगु लगायत पानीका मुख्य स्रोत हुन् ।

केयूकेएलले तत्कालीन नेपाल खानेपानी संस्थान र त्यसभन्दा पहिलेको संस्थानद्वारा ०४५ देखि शिवपुरीको पानी काठमाडौंवासीलाई वितरण गर्दै आएको दाबी गर्दै २० प्रतिशत निकुञ्जलाई बुझाउन नसकिने अडान लिएको छ । ‘हालसम्म निकुञ्जलाई कुनै शुल्क बुझाएको देखिन्न’ केयूकेएलले खानेपानी मन्त्रालयलाई लेखेको पत्रमा छ, ‘यो पानीको प्रयोग निकुञ्ज स्थापना हुनुभन्दा धेरै अगाडिदेखि भइरहेकाले अहिले आएको नियमावली पुनरावलोकन गरिनुपर्छ ।’यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

निकुञ्ज ०५८ मा स्थापना भएको हो । त्यसअघि, ०४५ मै सरकारले उक्त क्षेत्रलाई शिवपुरी जलाधार क्षेत्रका रूपमा संरक्षण गर्दै आएको थियो । केयूकेएलले ०४५ देखि पानी संकलन गर्दै आएको दाबी गर्दै आएको छ ।

केयूकेएलले पानीको स्रोतसँग जोडिएका स्थानीय तहका सरकारबाट समेत रोयल्टीका लागि दाबी हुँदै आएको भन्दै थप शुल्क तिर्न अक्षम रहेको उल्लेख गरेको छ । केयूकेएलको आग्रहपछि खानेपानी मन्त्रालयका सचिव स्तरको बैठकले राणाकालीन समयदेखि शिवपुरी जलाधार क्षेत्रबाट बगेर खेर जाने पानी उपयोग गरेको भन्दै पानी संकलन गर्दा वातावरणमा कुनै असर नपुर्‍याएकाले निकुञ्जले शुल्क दाबी गर्नु उपयुक्त नभएको तर्क गरेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले शुल्क, जरिवाना र करजस्तो विषय नियमावलीमा उल्लेख गरेर संकलन गर्नु नै गलत भएकाले प्रधानमन्त्री कार्यालय, अर्थ र वन तथा वातावरण मन्त्रालयलाई लिखित जानकारी गराइएको बताए । ‘शुल्कको २० प्रतिशत लिने भनेकाले यो ठूलो रकम हो,’ उनले भने, ‘यो कार्यान्वयन गर्ने हो भने माथिल्लो स्तरबाट ठूलै निर्णय आवश्यक छ ।’

शुल्क तिर्नुको विकल्प छैन : प्रवक्ता ढुंगाना

वन मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले भने मन्त्रिपरिषद्मा छलफल गरेर ल्याइएको नियमावली भएकाले केयूकेएल लगायतले तोकिएको शुल्क तिर्नुको विकल्प नरहेको बताए । ‘नियमावली संशोधन नभएसम्म त्यहाँ उल्लिखित व्यवस्था सबैका हकमा लागू हुन्छ,’ ढुंगानाले भने, ‘कानुन पालना गर्दिनँ भन्न कसैले पनि पाउँदैन ।’ निकुञ्जभित्रको जलस्रोत प्रयोग गरी पानी संकलन गर्ने निकाय वा समितिले मुहान थुनेर बगेको सबै पानी प्रयोग गर्न नपाउने नियमावलीमा व्यवस्था गरिएको छ । ती निकायले नदी, खोला, पोखरी, तालजस्ता जल भण्डारमा कम्तीमा ५० प्रतिशत पानी अनिवार्य छाड्नुपर्नेछ ।

त्यसबाहेक सिँचाइ, माछापालन लगायतमा प्रयोग भएको पानी सातामा एक दिन पानी बिदा (वाटर होलिडे) का रूपमा छाड्नुपर्नेछ । काठमाडौं उपत्यकाभित्र दैनिक आवश्यक पर्नेजति खानेपानीको अर्को व्यवस्था भइसकेपछि भने वागमती नदीको हकमा सबै पानी नदीमै छाड्नुपर्ने व्यवस्था छ ।

पानी प्रयोगको सम्बन्धमा अनुगमन गर्न निकुञ्ज प्रमुखको संयोजकत्वमा जिल्ला समन्वय समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वा तिनले तोकेका समिति सदस्य, निकुञ्जभित्रको खानेपानी उपभोक्ता समितिबाट एक जना गरी अनुगमन समिति बनाइनेछ । निकुञ्जभित्रका सेना, सरकारी विद्यालय, मठमन्दिर एवं मध्यवर्ती क्षेत्रका सार्वजनिक धारालाई भने शुल्क लाग्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार