चुरे दोहन नरोकिए मधेस मरुभूमि बन्छ : मुख्यमन्त्री राउत

 

जनकपुर : प्रदेश –२ का मुख्यमन्त्री लालबाबु राउतले बालुवा, गिट्टी संकलन तथा चरिचरण लगायत गतिविधि माथि रोक नलगाए, अन्नको भकारी भनिने मधेसको जग्गा मरुभूमिमा परिणत हुने बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान तथा निती अनुसन्धान प्रतिष्ठानले मंगलबार जनकपुरमा गरेको ‘जलवायु परिर्वतन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक गोष्ठीमा मुख्यमन्त्री राउतले चुरे दोहन नरोकिए मधेसको जग्गा मरुभूमिमा परिणत हुने बताउनुभयो । ‘चुरे दोहनका कारण पानीको स्रोत सुकिरहेको छ । भूमिगत पानीको स्रोत पनि भासिरहेको छ । यो प्रक्रिया नरोक्ने हो भने मधेस मरुभूमिमा परिणत हुने निश्चित छ’ उहाँले भन्नुभयो ‘माथिल्लो तहको मिलेमतोमा बर्षौदेखि चुरे दोहन भइरहेको छ, खै कसले यसको संरक्षण गर्ने ?’

माथिल्लो तहको सेटिङमा टिपर लगाएर खोला तथा नदी उत्खनन गराउने काम भइरहेको भन्दै उहाँले तराई मधेसमा वर्षेनी आउने बाढी, कटान तथा मरुमूमिकरण चुरे दोहनकै कारण भएको बताउनुभयो । मुख्यमन्त्री राउतले संघीय सरकारले चुरे संरक्षणलाई बेवास्ता गरेको दाबी गर्नुभयो ।

‘तल देखि माथिसम्मको मिलिमतोमा वर्षौदेखि चुरे दोहन हुदैँ आएको छ । मुलुक संघीयतामा गयो तर चुरे दोहन रोकिएको छैन ।’ उहाँले भन्नुभयो । संघीय सरकार मधेसका वन जंगल तथा प्राकृतिक सम्पदाहरुको संरक्षणलाई वेवास्ता गरेको आरोप लगाउदै उहाँले निगम बनाएर बिक्री गर्न लागेको सागरनाथ वनलाई प्रदेश सरकारले फिर्ता लिएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार