कृत्रिम पोखरीको फाइदै फाइदा : खानेपानीदेखि सिचाईसम्मलाई काईदा

 104 पटक हेरिएको

परासी : पश्चिम नवलपरासीको दक्षिणी भेगमा गत असारमा पनि बोरिङ मार्फत भूमिगत जल सिंचाइ हुन सकेन । केही वर्ष अघिसम्म बोरिङबाट घण्टौंसम्म आउने पानी अहिले ठप्प छ । आएका स्थानमा पनि निकै कम छ । त्यसले खानेपानीदेखि सिँचाइमा समस्या थपिएको छ । भूमिगत पानी घट्दै गएपछि खोला तथा कुलाको पानीलाई एक–दुई किलोमिटर लामो पाइप मार्फत पम्पसेट चलाएर तान्नुपर्ने बाध्यता छ ।

सामुदायिक वनभित्र ठूलो जलाशय भएपछि वरपरका मुहान तथा अन्य पानीको स्रोत पनि नसुक्ने भएकाले कृत्रिम सिमसार क्षेत्रको अवधारणा ल्याइएको हो ।

भूमिगत पानीको सतह घट्ने र तालतलैया सुक्न थालेपछि पश्चिम नवलपरासीका स्थानीय तहले संरक्षणमा चासो देखाएका छन् । पर्यटकीय क्षेत्र हुने र तालतलैयाको पनि संरक्षण हुने भएपछि अहिले धमाधम कृत्रिम सिमसार क्षेत्र र पुराना तालतलैयाको संरक्षणमा जनप्रतिनिधिको चासो बढेको हो । पाल्हीनन्दन, सरावल, प्रतापपुर, रामग्राममा रहेका तालतलैया संरक्षणमा बजेट विनियोजन भएको छ ।

सुनवल र बर्दघाटमा ठूला कृत्रिम सिमसार निर्माण गरिएका छन् । सुनवलमा कृत्रिम सिमसार क्षेत्र तयार भएको छ । पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले अहिले जलाशय निर्माण भएको हो । मूलपानी सामुदायिक वनको खाली चौरमा चार बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएको छ । जलाशय, पार्क तथा वन्यजन्तुमैत्री मार्ग निर्माण भएको छ । जलाशयको बीचमा मन्दिर निर्माण गरेर डुंगामार्फत जलाशयमा पर्यटकलाई शयर गराउने लक्ष्य छ । वरपर बालबालिकाका लागि पार्क र पिकनिक स्पट बन्नेछ ।

जल पुनःभरण पोखरी निर्माण उपभोक्ता समितिमार्फत सिमसार बनेको हो । समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेका अनुसार हरित नगरी बनाउने र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । सामुदायिक वनभित्र ठूलो जलाशय भएपछि वरपरका मुहान तथा अन्य पानीको स्रोत पनि नसुक्ने भएकाले कृत्रिम सिमसार क्षेत्रको अवधारणा ल्याइएको हो । पर्यटकीय गन्तव्यसँगै सिँचाइ पनि गर्न पाइने भएपछि स्थानीय खुसी छन् । सधैं आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीयलाई अब भने वर्षभरि सिँचाइका लागि स्रोत उपलब्ध हुनेछ । सिंचाइ सुविधा भएपछि वर्षमा एक खेती मात्र गर्ने किसानले तीन बालीसम्म भित्र्याउन पाउनेछन् । यो खबर कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

बर्दघाट नगरपालिकाको संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि कृत्रिम सीमसार निर्माण भएको छ । बर्दघाट–१० स्थित सामुदायिक वन क्षेत्रको १० हेक्टरमा बाँध बाँधेर जंगलमै पानी जम्मा पारेर सिमसार क्षेत्र बनाइएको हो । सहजै पानी जम्मा भएपछि जनावरदेखि सुकेका साना मुहानलाई स्रोत मिलेको छ । बाउन्न घोला सिमसार क्षेत्र निर्माण समितिमार्फत ९० मिटर लामो बाँध बाँधेर पानी जम्मा गरिएको छ । आसपास करिब पाँच फुट पानी जम्मा भएको संसारकोट हरियाली सामुदायिक वनका सचिव प्रेमप्रसाद अधिकारीले बताउनुभयो। झण्डै ११ लाख रुपैयाँमा निर्माण भएको बाँधलाई थप सुरक्षित बनाउन २१ लाख रुपैयाँ खर्चेर पक्की बाँध निर्माण गरिँदैछ ।

रामग्राम नगरपालिकाभित्र ५० भन्दा बढी तालतलैया छन् । यिनको संरक्षणका लागि कार्ययोजना बनाएर संरक्षणमा जुटेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । ‘भूमिगत जलस्रोत रिचार्ज नहुँदा सुक्ने क्रम बढ्दो छ । यसका लागि भएका तालतलैयाको संरक्षण नै मुख्य हो,’ उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार