जब अष्ट्रेलियाका विद्यार्थी खानेपानी आयोजना हेर्न काभ्रेको देउराली पुगे

काभ्रेपलाञ्चोक : गाडीबाट एकाएक नयाँ मानिसहरु ओर्लिए । अरु बेला भन्दा बेग्लै गाडी र अपरिचित मानिसहरु देखेपछि स्थानीय बासिन्दा केहीबेर अचम्मित भए । गाडीबाट ओर्लिएपछि उनीहरु सीधै ओरालो लागे । नयाँ अनुहार भएपनि स्थानीय देख्दा उनीहरु नमस्कार गर्थे ।
जन्तीको झल्को दिने गरी काभ्रेको धुलिखेल नगरपालिका २, देउराली पुगेका उनीहरु अष्ट्रेलियाको सिड्नी स्कुल अफ ल र काठमाण्डु युनिभर्सिटी स्कुल अफ ल का प्राध्यापक तथा विद्यार्थीहरु थिए ।

विश्व बैंकको सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्डबोर्डद्वारा सञ्चालित देउराली खानेपानी तथा सरसफाइ आयोजनाको अध्ययन भ्रमण गर्न दुवै कलेजका प्राध्यापक सहित करिब ५० जना विद्यार्थीहरु सोमबार धुलिखेल नगरपालिकाको देउराली पुगेका हुन् ।

भ्रमण टोली देउराली पुग्दा सहयोगी संस्था शान्ति जनआदर्श सेवा केन्द्र तथा फण्ड बोर्डका कर्मचारीले आयोजना सम्बन्धी विवरण फ्लेक्समा उतारेर प्रस्तुतीकरणका लागि ठिक्क पारेका थिए । सुरुमा फण्ड बोर्डका क्षेत्रिय प्रबन्धक इन्जिनियर रमेश कुमार शर्माले आयोजनाको ले आउट प्लान, आयमूलक कार्यक्रम, खानेपानी सुरक्षा योजनाका बारेमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले पूर्व सम्भाव्यता चरण, विकास चरण र कार्यान्वयन चरणमा भएका क्रियाकलापहरु समेटिएको फोटो प्रदर्शन गर्दै देउराली एक घर एक धारा खानेपानी आयोजनाबाट १९५ घरपरिवार लाभान्वित भएको, खानेपानीको दिगोपनाका लागि ग्रामीण मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरिएको, खानेपानी सेवा शुल्क बापत प्रति घर प्रति महिना सय रुपैयाँ संकलन गर्ने गरेको जस्ता विवरण प्रस्तुत गर्नुभयो ।

यस्तै महिलाहरुले खानेपानी ओसार्न लगाउने समय अहिले जीविका समूह बनाई आयआर्जनका क्रियाकलापहरुमा उपयोग गर्न थालेको, फण्ड बोर्डको २० हजार रुपैयाँ बीउ पूँजीबाट बृद्धि गरी ३ लाखमा बनाएको र तरकारी खेती, कुखुरा पालन लघु उद्यमहरु सञ्चालन गर्न मासिक १ प्रतिशत ब्याजदरमा तीन महिनाका लागि प्रति सदस्य ५ हजार रुपैयाँ सम्म ऋण परिचालन गर्दै आएको जानकारी गराउनुभयो ।

कोष विकास समितिका वातावरण विज्ञ रोशन कुमार जोशीले भने आयोजनाको वातावरणीय र सामाजिक पक्षको बारेमा अध्ययन टोलीलाई जानकारी गराउनुभयो । उहाँले खानेपानीको आयोजना चक्रमै वातावरणीय र सामाजिक पक्षलाई समावेश गरिएको जानकारी गराउनुभयो । उहाँले मुहान संरक्षण, फोहोर पानीको निकास, ठोस फोहोरमैलाको व्यवस्थापन जस्ता वातावरणीय पक्षलाई समेटेर योजना निर्माण गरिएको बताउनुभयो । उहाँले खानेपानी आयोजनाको संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा जग्गा धनीको समझदारी र सामाजिक समावेशीकरण जस्ता सामाजिक पक्षलाई ध्यान दिईएको जानकारी दिनुभयो ।

खानेपानी आयोजनाको बिषयमा ध्यान दिएर सुनिरहेका विद्यार्थीहरुले खानेपानी आयोजनाका बिषयमा विभिन्न प्रश्न समेत सोधेका थिए । उनीहरुले खानेपानीको मुहान बस्ती भन्दा कति टाढा छ ? खानेपानी प्राप्त गर्नुभन्दा पहिले देउराली गाउँका मानिसहरुले कहाँबाट पानी ओसार्थे ? पानी पाएपछि के फाइदा भयो जस्ता प्रश्न सोधेका थिए ।
आयोजनाका सम्बन्धित पदाधिकारीसँग जिज्ञासा राख्दा–राख्दै धुलिखेल नगरपालिका वडा नं. २ का अध्यक्ष देव प्रसाद कोइराला पनि टुप्लुक्क आईपुग्नुभयो । उहाँले यस्तै प्रकृतिको खानेपानी आयोजना वडा कार्यालयले अन्य वस्तीमा समेत सञ्चालन गर्ने योजना बनाईरहेको जानकारी गराउनुभयो । देउराली खानेपानी तथा सरसफाइ आयोजनाका सचिव माधव सापकोटाले खानेपानी आयोजना सञ्चालन हुनु पूर्व आधा घण्टा तलतिर रहेको कुवाको पानी ओसारेर पिउन बाध्य भएको र खानेपानीकै कारण झैझगडा समेत हुने गरेको बताउनुभयो । उहाँले खानेपानी प्राप्त भएपछि आयआर्जनमा टेवा पुगेको, पशुपालन गर्न लालयित भएको र समाजमा मिलमिलाप बढेको भ्रमण टोलीलाई जानकारी गराउनुभयो ।


भ्रमण टोलीका सदस्यहरुले स्थानीय बासिन्दासँग समेत खानेपानी उपलब्ध भएपछि दैनिक जीवनयापनमा आएको फेरबदलका बिषयमा छलफल गरेका थिए । उनीहरुले खानेपानी संरचनाको समेत विवरण लिए ।

भ्रमण टोलीमा विश्व बैंककी वास विज्ञ रुबिका श्रेष्ठ, सिड्नी स्कुल अफ ल का प्राध्यापक डेभिड किन्ले, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका सन्चार विज्ञ भरत अधिकारी, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा र सेवा केन्द्रका पदाधिकारीहरु समेत सहभागी हुनुहुन्थ्यो । भ्रमण टोलीले खानेपानी मर्मत सम्भार कोषका लागि १० हजार रुपैयाँ प्रदान गरेका छन् । आफ्नो गाउँमा आएको पाहुनाको स्वागत गर्न पाउँदा आफूहरु धेरै खुसी भएको स्थानीयबासिन्दाले बताए ।
विदेशीले समेत अध्ययन भ्रमण गर्न योग्य आयोजना भएकोमा आपूmहरु गौरवान्वित भएको उपभोक्ता समितिका सचिव सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार