नमुना स्वस्थ गाउँमा जन्तीलाई पनि सुरक्षित पानी

 

काभ्रेपलान्चोक : काभ्रेपलान्चोक जिल्लाको पहिलो नमुना स्वस्थ गाउँ चण्डेनी मण्डनका स्थानीयबासिन्दा सधै फिल्टरको पानी मात्र पिउँछन् । आफूहरु मात्र होइन, पाहुना तथा विवाह, भोजभतेर जस्ता सामाजिक काममा समेत सुरक्षित पानीकै प्रबन्ध मिलाउँछन् । नमुना स्वस्थ समुदाय अन्तर्गत तीनधारा गाउँका हिरामाया तामाङको विवाहमा आउने पाहुनालाई समेत फिल्टरकै पानीको ब्यवस्था मिलाईएको थियो ।

सरसफाइलाई मध्यनजर गरी स्वयंसेवकहरु खटाईएका थिए । उनीहरुले जथाभावी दिसापिसाव र फोहोर गर्न दिएनन् । यसका लागि टोलमा भएका सबैको चर्पी खुला गरिएका थिए । फोहोर फाल्ने डोको र बाल्टिनहरु ठाउँ ठाउँमा राखिएका थिए । सरसफाइ सम्बन्धी सन्देश तथा सूचनाहरु ठाउँ ठाउँमा टाँसिएका थिए । प्लाष्टिक, बोतल, कागजका टपरी लगायतका फोहोर जथाभावी फाल्न निषेध गरिएको थियो ।

 

‘सरसफाइ प्रतिष्ठाको विषय भैसक्यो । तीनधारा गाउँमा कुनैपनि सार्वजनिक जमघटमा सुरक्षित पानी खुवाउने र फोहोर गर्न नदिने निर्णय भएको छ ।‘ तीनधारा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बिरस तामाङले भन्नुभयो । स्वस्थ भएर बाँच्न सरसफाइ अति आवश्यक रहेको र झनै सुरक्षित पानी पिउने बानी सबैको लागि अति जरुरी रहेको उहाँले बताउनुभयो ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शान्ति जन आदर्श सेवा केन्द्रको सहयोगमा सञ्चालित नमुना स्वस्थ समुदाय कार्यक्रम अन्तर्गत मण्डन देउपुर नगरपालिका वडा नं. १०, चण्डेनी बजार, शुलिकोट र नेपालथोक सरसफाइ नमूना स्वस्थ टोल घोषणा भैसकेको छ भने ज्यामिरे, श्रीचौर, कोटथुम्का लयायतका गाउँ घोषणाको तयारीमा छ । तीनधारा नमूना स्वस्थ गाउँलाई जिल्लाकै नमूना एकीकृत बस्ती घोषणाको अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार