पर्साको ९० विद्यालयमा स्वचालित वाटर फिल्टर प्लान्ट

पर्सा : वीरगन्ज महानगरपालिका क्षेत्रभित्र पर्ने ९० वटा सामुदायिक विद्यालयमा स्वचालित ‘वाटर फिल्टर प्लान्ट’ जडान गरिने भएको छ । ‘सबैका लागि सरसफाइ तथा खानेपानीमा तीव्रता’ कार्यक्रम अन्तर्गत सबै विद्यालयमा वाटर फिल्टर प्लान्ट जडान गर्न लागेको महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख सुनिल कुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५४ विद्यालयमा वाटर फिल्टर प्लान्ट जडान गर्न टेन्डर गरिसकेको छ भने बाँकी ३६ वटा विद्यालयमा प्लान्ट जडान गर्न युनिसेफलाई आग्रह गरिएको छ । प्रत्येक वाटर फिल्टर प्लान्टको लागत २ लाख ५० हजार रुपैयाँ पर्नेछ । ‘विद्यार्थी तथा शिक्षकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्लान्ट जडान गर्न लागिएको हो । फिल्टरले प्रशोधित पानी दिनुका साथै जाडोमा तातो र गर्मीमा चिसो पानी दिनेछ’ उहाँले भन्नुभयो ।

महानगरले अहिले पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । ‘पूर्ण सरसफाइका लागि विद्यालयबाट जनचेतनामूलक कार्यक्रम सुरु गरेर स्वास्थ्य संस्था सम्म पुग्ने योजना छ, ‘शुद्ध पिउने पानीमा स्थानीयको पहुँच बढाउँदै खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसाल्नु कार्यक्रमको मुख्य उद्देश्य हो ’ उहाँले भन्नुभयो । पर्सा जिल्लालाई गत भदौ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत छात्रालाई सेनिटरी प्याड विसर्जन गर्ने तरिका सिकाउनुका साथै अस्पतालबाट निस्कने फोहोरलाई पनि सुरक्षित रुपमा विसर्जन गर्ने योजना छ । यसका लागि हाल निर्माणाधीन ल्यान्डफिल साइटमै एउटा प्लान्ट जडान गर्ने तयारी भइरहेको महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख कर्णले बताउनुभयो । महानगरका सबै वडामा गरी १० लाख बिरुवा रोप्ने योजना पनि रहेको उहाँले बताउनुभयो । यसका लागि वडा नं। ३१ बेल्वामा महानगरले आफ्नै नर्सरी बनाउन लागेको छ । कार्यक्रम अन्तर्गत नै महानगरमा रहेका ३र४ वटा पोखरीलाई यस वर्ष संरक्षण गर्ने योजना समेत अघि सारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार