महानगरको गाउँमा खानेपानी अभाव, ३६ घरलाई १ धारा

चितवन : भरतपुर महानगर–२९ मा पर्ने कमलपुर गाउँमा मोटर गुड्ने राम्रो बाटो छैन । विद्युत सेवा त छ तर बिग्रियो भने बन्न एक साता लाग्छ । चितवनका नौ वटा पहाडी गाविसमध्ये एउटा कबिलास थियो । अन्य आठ वटा गाविस अहिले कुनै गाउँपालिका र कुनै नगरपालिका बने । तर सिंगो कबिलास भरतपुर महानगरको २९ नम्बर वडा बन्यो ।

महानगरका बासिन्दा बने पनि कमलपुरवासीका कष्ट यथावत् छन् । ‘अरू दुःख त जन्मेदेखि भोग्दै आएको हो । राम्रो सडक र भरपर्दो बिजुली नभए पनि हामीलाई ठूलो कुरा भएन,’ ७१ वर्षीय आकबहादुर गुरुङले भने, ‘अहिले त पानी नै खान नपाइएला भन्ने भयो ।’ गाउँमा ३६ घरधुरी छ । एउटामात्र धारा भएकाले पालो कुरेर पानी थाप्नुपर्छ । चैत लागेपछि धारा सुक्ने र खानेपानी लिन भाँडा बोकेर खोला झर्नुपर्ने बाध्यता गाउँमा सुरु हुन्छ । ‘तल खोल्सो छ । जसलाई हामी ठूलो खोला भन्छौं । पितापुर्खाले त्यही खोलाको पानी खान्थे,’ उनले भने, ‘धारामा पानी सुकेपछि त्यही खोलामा जाने गरेका छौं ।’ खोला पुग्न आधा घन्टाभन्दा बढी लाग्छ । भूकम्पपछि धारामा पानी कम हुँदै गएको उनले बताए ।

पानीको अभावको असर यहाँका बालबालिकाको पढाइमा समेत परेको छ । पानी थाप्ने पालो कुर्दा स्कुल नै छुट्ने गरेको कक्षा सातमा पढ्ने रञ्जु गुरुङ बताउँछिन् । उनको स्कुल गाउँदेखि डेढ घन्टा परको चौकीडाँडामा छ । यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो । भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मनबहादुर मगरले पानीको अभाव भएपछि ढोडेनी भन्ने ठाउँमा पाँच सय मिटर तलबाट पानी तानेर खुवाएको बताए । जसका लागि ९० लाख रुपैयाँ खर्च भएको छ । ‘चौकीडाँडामा ८० लाख लागतमा अर्को खानेपानी आयोजना सुरु हुँदै छ,’ उनले भने, ‘आयोजना पूरा भए कमलपुरमा पनि सधैं पानी आउँछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार