ललितपुर : नयाँ बन्ने घरमा अनिवार्य शील्ड सेप्टिक ट्याङ्क बनाउनुपर्ने नियम लागु गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाको ९ सय ९ घरले मात्र सेप्टिक ट्याङ्क बनाएको भेटिएको छ । ढल प्रणालीमा नजोडिएका वडा नं. ६ देखि १० सम्मको अध्ययनका क्रममा १४२ घरमा चर्पी नै नभएको, २५ सय ७२ घरमा खाल्डे चर्पी रहेको, ४ हजार ९ सय ९१ घरमा सेप्टिक ट्याङ्क भनिए पनि मानवमलमूत्र अड्याउने ट्याङ्क (होल्डिङ् ट्याङ्क) मात्र रहेको पाईएको छ ।
ढल प्रणालीमा तत्काल जोड्न असम्भव रहेको वडा नं. ६ देखि १० सम्म ९ हजार ५७३ घर रहेका छन् । परामर्शदाता डा. भुषण श्रेष्ठले नगरपालिका क्षेत्रमा गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अझै ९ सय ४८ घरको मानवमलमूत्र खुला वातावरणमा छाड्ने गरिएको र ११ घरमा बायोग्यास (इकोसान) चर्पी रहेको पाईएको बताउनुभयो ।
उहाँले अध्ययन क्षेत्रमा सेप्टिक ट्याङ्क भन्दा पनि होल्डिङ ट्याङ्क बढी रहेको र सेप्टिकट्याङ्क भनिएकाहरु पनि फिल्ड सुपरिवेक्षणका क्रममा होल्डिङ ट्याङ्क मात्र सिमित रहेको भेटिएको बताउनुभयो । ‘२ प्रतिशत घरले मात्र नियमित तालिका अनुसार सेप्टिक ट्याङ्क सफा गर्ने गरिएको पाईयो, बाँकीले भरिएपछि मात्र सेप्टिक ट्याङ्क खाली गर्ने गरेको भेटियो’ अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भन्नुभयो ।
उल्लेखित तथ्याङ्कको आधारमा उहाँले ३ हजार ६ सय ६२ घरमा सेप्टिक ट्याङ्क बनाउन सुझाउनु भएको छ । उहाँले ९२० घरमा केही गर्नु नपर्ने र ४ हजार ९९१ घरमा रेट्रोफिटिङको आवश्यकता रहेको बताउनुभएको छ । नगरपालिकालाई स्वच्छ र सफा बनाउन महालक्ष्मी नगरपालिकाले वडा नं।६, ७, ८, ९ र १० मा मानव मलमूत्र प्रशोधन गरी व्यवस्थापन गर्ने र वडा नं। १, २, ३, ४ र ५ लाई ढल प्रणालीमा जोड्ने भएको छ ।
ढल निर्माण गर्दा लगानीको हिसाबले धेरै रकम आवश्यकता पर्ने र भौगोलिक रुपले सम्भव नभएको ठाउँमा मानव मलमूत्र प्रशोधन केन्द्र मार्फत मानव मलमूत्र व्यवस्थापन गर्ने महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भविश्यमा सबै घरलाई ढल प्रणालीमा जडान गर्ने योजना रहेको र गोदावरी करिडोर नबन्दा सम्म वडा नं। ६ देखि १० सम्मको क्षेत्रलाई ढल प्रणालीमा जोड्न सकिने सम्भावना नरहेको बताउनुभयो । नगरपालिकाले वडा नं. १ देखि ५ सम्मको वडालाई ढल प्रणालीमा जडान गरिसकेको छ ।