कोरोनाबाट बच्ने उपाय, डराउनै पर्दैन साबुन पानीले हात धोए

काठमाडौ : अहिले जताततै कोरोनाकै हल्ला छ । काठमाडौ बाहिर त के सम्म हल्ला चल्न थालेको छ भने शरिरको कुनै पनि भाग देखाउनै मिल्दैन । हातमा अनिवार्य पञ्जा लगाएर मात्र हिड्नुपर्छ । घरबाहिर पनि निस्कन मिल्दैन । बस पनि चल्दैनन् ।

कोरोना भाइरससँग सतर्क रहने यो पनि केही उपाय त हुन सक्छ । तर काठमाडौमा कोरोनाकै कारण यस्तो भयावह अवस्था भने सिर्जना भईसकेको छैन । कोरोना भाइरसबाट बच्ने उपाय के हुन सक्छ त ? धेरैले धेरै उपायहरु सुझाएका छन् । तर अनुसन्धान तथा प्रयोगशालाबाट के प्रमाणित भएको छ भने नियमित रूपमा प्रक्रिया पु.याएर साबुनपानीले राम्ररी हातमुख धुने हो भने कोरोना भाइरस लाग्नै पाउँदैन । साबुन पानीले हात धुँदा कोरोना मात्र होइन, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखाला लगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ ।

विशेषज्ञका अनुसार कोरोनाको संक्रमण फैलन नदिने हो भने साबुन पानीले हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार मानिसको हातमा कुनै किटाणु टाँसिएको अवस्थामा दुई घण्टा भन्दा बढी समयसम्म कीटाणु जीवित रहन सक्छ । यति मात्र हैन, जतिबेला हामीले दूषित वस्तु वा सतहलाई छुन्छौं, हाम्रो हातमा फोहोरमा रहेका कीटाणु सजिलै टाँसिन्छ । त्यही हात अनुहार, आँखा, मुखमा लाँदा र नाक आदि कोट्याउँदा र छुँदा संक्रमणको मारमा पर्छौं ।

साबुनपानीले हात धुँदा विश्वलाई नै आतंकित तुल्याईरहेको कोरोना भाइरस र मौसमी रुघाखोकी लगायत श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम ५० प्रतिशतसम्म कम हुने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार थुप्रै संक्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने भएकाले साबुन पानीले हात धुनैपर्छ ।

नोवल कोरोना भाइरस, मौसमी रुघाखोकी, झाडा पखाला, हैजा, ग्यास्ट्रो इन्ट्राइटिस, टाइफाइड, क्षयरोग, श्वासप्रश्वासबाट सर्ने रोग, हेपाटाइटिस ‘ए’ र ‘ई’, जुका, चुर्ना, निमोनिया, छाला र आँखा सम्बन्धी रोग लगायत थुप्रै रोगको संक्रमणबाट बच्न पनि नियमित हात धुनुपर्ने डाक्टर पाण्डेको जोड छ ।

अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार हात धुनु आफैंले लिन सकिने एक प्रकारको खोप हो । यसले अहिलेको भयानक मानिएको कोरोना लगायत झाडापखाला र श्वास सम्बन्धी संक्रमण फैलिनबाट जोगाएर स्वस्थ रहन सघाउँछ । केही काम गरेपछि सही तरिकाले हात धुने र कीटाणुलाई हटाउने एउटा सबैभन्दा राम्रो विधि भनेकै नियमित हात धुनु हो । नियमति हात धुने बानीले बिरामी हुनबाट जोगाउनुका साथै अन्य व्यक्तिमा समेत कीटाणुको प्रसारलाई रोक्छ ।

एउटा अत्यन्त सामान्य कुरा मानिने साबुनपानीले हात धुने प्रक्रिया कडाभन्दा कडा प्रकारको संक्रामक रोगसँग लड्ने सशक्त, विज्ञान प्रमाणित हतियार हो । तर विश्वभरि गरिएका विभिन्न अध्ययनले के देखाएको छ भने, हामीमध्ये धेरैजसोले उपयुक्त रूपमा आवश्यक मात्रामा हात सफा नै गर्दैनौं । सफा गरे पनि यसलाई प्रभावकारी रूपमा गरिएको हुँदैन ।

हात धुने उचित तरिका

राम्ररी हात धुनलार्ई न्यूनतम २० सेकेन्ड समय खर्चिनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाउँदै आएको छ । बच्चालार्ई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ । उचित प्रकारले हात धुनका लागि पानीमा हात भिजाएर पर्याप्त मात्रामा हातमा साबुन लगाएर दुवै हातलार्ई राम्ररी मोल्नुपर्छ । दुवै हातको औंलालार्ई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ । एउटा हातको औंलालाई अर्को हातले समातेर घुमाउँदै दल्नुपर्छ । र, फेरि यस्तै विपरीत क्रममा समेत गर्नुपर्छ । पानीले राम्ररी हात धुनुपर्छ । धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ । यस्तो प्रक्रियाले हात स्वस्थ र सुरक्षित हुन्छ ।

राम्ररी हात धोएर त्यसलाई आफूले लगाएको लुगाको कुना, खल्तीमा राखिएको रुमालले वा सारीको आँचलले पुछ्नु हुँदैन । यसमा पहिल्यैदेखि कीटाणु रहेको हुन्छ जून चिसो हातमा टाँसिन्छन । चिकित्सकहरूका अनुसार, सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ । तौलियालार्ई कीटाणुरहित बनाउन उम्लिरहेको पानीमा धुनुपर्छ ।

 

नुहाउँदा, कपडा धुँदा उपयोग गरिने रासायनिक पदार्थ नै साबुन हो । यसलाई बोसो, अम्लको पानीमा घुल्ने लवण भने पनि हुन्छ । हातलाई साबुनपानीले धुँदा पानीले मात्र हात धुनुको दाँजोमा धेरै बढी मात्रामा रोग उत्पन्न गर्ने जीवलाई हटाउँछ । साबुनमा मुख्य रूपमा सर्फेक्टेन्ट अर्थात् फोहोर हटाउने रसायन, डिटर्जेन्ट, ग्लिसरिन, सुगन्धी लगायत मात्रा हुन्छ । यसको प्रचलन पछिल्लो ५–६ दशकयता बढेको छ । यसअघि धेरैजसो माटो, खरानी, रिठ्ठा आदिलाई हात वा कपाल लगायत सफा गर्नका लागि उपयोग गरिन्थ्यो ।

हाम्रो हात, शरीरमा भएका थुप्रै प्रकारको सूक्ष्म जीव, लवण, धुलोका कण, पसिना, तैलीय पदार्थ, मृत कोषिका आदिमा साबुन लगाउँदा पानीसँगै पखालिन्छ ।

बजारमा मुख्य रूपमा हात धुने र नुहाउने गरी दुई प्रकारका साबुन पाइने गरिएको रसायनशास्त्री विनय झाले बताउनुभयो । साबुनको गुणस्तर त्यसमा भएको कुल बोसो (टोटल फ्याटी म्याटर अर्थात् टीएफएम) मा निर्भर गर्छ । नुहाउने साबुनमा ६० देखि ८० प्रतिशत सम्म टीएफएम प्रयोग गरिन्छ । यस्तै नुहाउने साबुनमा सुगन्धी लगायतका अन्य थुप्रै पदार्थ समेत थपिने गरिन्छ ।

हातमा भएको कीटाणुको संख्यामा कमी ल्याउन साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त तरिका हो । तर यदि साबुनपानी छैन भने अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर उपयोग गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार