सडके गफ सुन्न छाडौं, सरसफाइमा ध्यान दिऊँ

विराटनगर : ‘पहिले बच्चाबच्चीलाई खाना खानुअघि हातमुख सफा गर्न भन्दा रिसाउँथे, अहिले साबुनपानीले हात नधोई खानेकुरा छुँदैनन्,’ विराटनगर भट्टाचोककी ६० वर्षीया राधा मण्डल भन्छिन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनलाई अचेल हरेकले सरसफाइमा ध्यान दिइरहेकोमा खुसी लागेको उनले बताइन् । तर, शारीरिक स्वास्थ्यप्रति सचेत भए पनि अनेक हल्लाले तनाब दिने गरेको मण्डलको भोगाइ छ । उनले विपद्का बेला नानाथरीका भ्रम नफैलाउन आग्रह गरिन् ।

प्रहरीको १०० नम्बर डायल गरेर यस्ता बदमासीबारे जानकारी गराउनु पनि नागरिकको कर्तव्य भएको मण्डल बताउँछिन् । ‘वरिपरिका सबैलाई हल्ला सुन्नु भन्दा शरीर र घरको सफाइमा ध्यान दिन भन्छु,’ उनी भन्छिन्, ‘भीडभाडबाट बच्दा एवं हातमुख राम्ररी धोएमा संक्रमित नहुने डाक्टरले भनिसकेपछि बटुवाको कुरा वा सडके गफको पछि लाग्नु भएन ।’

आफ्नो हात, नाक र मुख सफा गरेर मात्र नहुने स्थानीय बाटा रोडका कपडा व्यापारी ५२ वर्षीय श्रीनारायण गुप्ताको बुझाइ छ। एक अर्काप्रति सहयोग एवं सद्भावको भावना राखेर अघि बढ्नु पनि उत्तिकै जरुरी रहेको उनी सुझाउँछन्। ‘यस्तो गम्भीर समस्यालाई खेलाँचीमा लिनु हुन्न, एक अर्कासँग सही सूचनाको आदानप्रदान गरौं, कसैलाई पनि फेक अडियो र भिडियो नपठाऔं,’ गुप्ता भन्छन्,‘सबैखाले आनीबानी स्वस्थ भएपछि यो अवस्थाको सहजै सामना गर्न सक्छौं ।’

हावादारी कुराको पछि नलागी अहिलेको स्थितिको कसरी सामना गर्ने होटल व्यवसायी ३६ वर्षीया सरिता तिमिल्सिनाको मुख्य चिन्ता हो । स्वस्थ दिनचर्याको अभ्यास यसका लागि जरुरी भएको उनी बताउँछिन् ।

‘यतिखेर निजी स्वार्थ वा मुनाफाको बारेमा सोच्नु हुन्न,’ विराटनगर देवकोटा चोक निवासी उनी भन्छिन्, ‘आफ्नो, परिवारजन, छरछिमेक एवं ग्राहकको स्वास्थ्यको ख्याल गर्ने समय पनि हो यो ।’ अन्य मुलुकको अवस्था हेर्दा नेपाली निकै भाग्यशाली रहेको र बच्ने मौका पाइरहेको तिमिल्सिनाको बुझाइ छ । ‘अहिलेसम्म हाम्रो देश यो भाइरसबाट सुरक्षित छ, एक जना पनि संक्रमित नहोउन् भन्ने हामी सबैले प्रयास गर्नुपर्छ,’ उनी भन्छिन् । १७ वर्षदेखि होटल सञ्चालन गर्दै आइरहेकी तिमिल्सिनाले अहिलेसम्म यस्तो अप्रत्यासित एवं कठिन परिस्थिति नभोगेको बताउँछिन् ।

‘यस्तो अवस्थामा आफू मात्र स्वस्थ र सफा भएर भएन, आफ्नो वरपर बस्नेको पनि स्वास्थ्य अवस्था राम्रो हुनुपर्‍यो,’ उनी भन्छिन्, ‘कोरोना भाइरसको संक्रमणले समाजमा सबैजना स्वस्थ रहनु जरुरी रहेको सन्देश दिन्छ ।’यो स्टोरी हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

‘म्यासेन्जर र ह्वाट्सएपमा पठाइने भ्रमित बनाउने खालको अडियो र भिडियो सन्देशलाई तुरुन्तै डिलेट हान्दिन्छु, अहिले यस्ता कुरा स्वस्थ दिनचर्याका लागि सबैभन्दा ठूलो बाधक हो,’ उनी भन्छन्, ‘यस्ता गलत सामग्री अरुलाई त पठाउनै हुन्न ।’ सभ्य बानीबेहोरा पनि जरुरी रहेको आचार्य बताउँछन् । ‘कोरोना संक्रमित नभए पनि सामान्य रुघा, ज्वरो लागेकाले पनि जथाभाबी खोक्ने, हाछ्युँ गर्ने र थुक्ने गर्नु भएन,’ उनी भन्छन्, ‘अहिले न चेते कहिले चेत्नु  ?’

विराटनगर बसपार्क व्यस्थापन समितिका सहकोषाध्यक्ष सूर्य निरौलाले सारा ध्यान आफ्नो, यात्रु र कर्मचारीको सरसफाइमा रहेको बताउँछन् । उक्त समिति र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले शुक्रबारदेखि बसपार्क परिसरमा यात्रु एवं कर्मचारीका लागि दुई ठूलो ड्रममा चौबीसै घण्टा पानी र धारासँगै ‘ह्यान्डवास’ राखेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार