वीरेन्द्रनगर : वरपरका बासिन्दा कोरोना (कोभिड–१९ ) संक्रमणको डरले धेरैजना भेला हुँदैनन् । धेरैले मुख ढाकेर मास्क लगाएका छन् । तर राउटेको बस्ती निस्फिक्री देखिन्छ । न सतर्कता छ न चिन्ता ।
सरकारी निकायले पनि कोरोनाको संक्रमण जोगिन राउटे बस्तीमा चेतनामूलक कार्यक्रम गर्न भ्याएका छैनन् । भेरीगंगा नगरपालिका–२, सत्तरीमा बस्दै आएका राउटेको सदरमुकाम वीरेन्द्रनगर आवतजावत बाक्लै हुन्छ । सावधानीका उपाय नअपनाउँदा सिंगो बस्ती नै जोखिममा रहेको स्थानीय कमल केसीले बताए । ‘गाउँका हामी धेरै जनाले सावधानीका लागि मास्क लगाउँछौं, चहलपहल र भीडभाडमा जान छाडेका छौं,’ उनले भने, ‘तर, राउटेलाई कुनै मतलब छैन ।’
सत्तरीका स्थानीयले राउटेलाई बाहिर आउजाउ गर्नबाट रोक्न स्थानीय प्रशासन र नगरपालिकासँग अनुरोध गरेका छन् । ‘राउटेले सतर्कताका कुरा बुझिसकेका छैनन्, त्यसले हामी पनि त्रासमा छौं,’ उनले भने, ‘सरकारले केही समयका लागि पर्याप्त खाद्यान्नको व्यवस्था गरिदिए उनीहरुको वीरेन्द्रनगर र अन्य ठाउँमा आउजाउ बन्द हुन्थ्यो ।’
सत्तरीका रुद्रबहादुर खत्रीले राउटे समुदाय साघुँरो ठाउँमा धेरैजना बस्ने भएकाले कोरोना संक्रमण कतैबाट आइपुगे उच्च जोखिममा सुरुमा उनीहरु नै रहेको बताए । ‘हामीहरुले हिँडडुल बन्द गरिसक्यौं,’ उनले भने, ‘तर, उनीहरु जथाभाबी हिँड््दा गाउँमा पनि संक्रमणको जोखिम उच्च छ ।’ उनका अनुसार राउटे समुदायले बाटोमा गाडी रोकेर पैसा र खाने कुरा माग्दै आएका छन् । भारतबाट फर्कने स्थानीयको लर्को चलिरहेको बेला राउटेहरु जथाभावी बाटोमा बसेर माग्ने क्रम बढेको उनले बताए ।
राउटे समुदायको भेटघाट अन्य समुदायमा बढी भएकाले गाउँले त्रसित बनेको केसी बताउँछन् । ‘एक जनालाई संक्रमण भए समुदायलाई जोगाउन मुस्किल अवस्था छ,’ उनले भने, ‘सरकारी निकायले सचेतनासँगै मास्क र सरसफाइका सामग्री तत्काल वितरण गर्न जरुरी छ ।’
राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले कोरोनाको त्रास बढेयता राउटे बस्तीमा कुनै सरकारी निकायका प्रतिनिधि नगएको बताइन् । उनका अनुसार राउटेहरु एउटै झुप्रामा १५ जनासम्म बसिरहेका छन् । ‘भुइँमा सबैजना लस्कर लागेर सुत्छन्, बस्तीमा अन्य स्वास्थ्य समस्याको जोखिम पनि बढिरहेको छ,’ उनले भनिन्, ‘आउजाउ गर्नबाट रोक्न सके कोरोनाको संक्रमणको जोखिम कम हुन्थ्यो ।’ उनले बस्तीमै क्वारेन्टाइन निर्माण गर्न माग गरिएको बताइन् । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।
विभिन्न निकायमा राउटेको स्वास्थ्य परीक्षण र साबुन–पानीको व्यवस्था गर्न आग्रह गरिए पनि बेवास्ता भएको अध्यक्ष खड्काको गुनासो छ । ‘विभिन्न बहानामा दिनदिनै बस्तीमा छिर्ने सरकारी र गैरसरकारी अधिकारी तीन सातादेखि आएका छैनन्,’ उनले भनिन्, ‘सरकारले उनीहरुलाई पुग्ने बस्दोबस्तीका सामान केही समयका लागि व्यवस्था गर्नसके हिँडडुल गर्नबाट रोक्न सकिन्थ्यो ।’
विभिन्न सरकारी र गैरसरकारी निकायले चालु आर्थिक वर्षमा मात्र करिब एक करोड रुपैयाँ राउटे बस्तीमा खर्चिएका छन् । तर, कोरोनाबारे सचेतना जगाउनसमेत कोही नआएको राउटे महामुखिया मैनबहादुर शाहीले बताए । ‘खानाको जोहो गर्न बस्तीबाट बाहिर निस्कनै पर्यो,’ उनले भने, ‘त्यसैले जनतालाई कतै नजाउ भन्न सकिएको छैन ।’ उनले आफूलाई पनि कोरोनाबारे धेरै कुरा थाहा नभएको बताए ।