सर्लाही : कोरोना भाइरसले आक्रान्त पारिरहेको अहिलेको समयमा यसबाट बच्नको लागि सबै जना आ–आफ्नो घरमा बसिरहेका छन् भने सरोकारवाला निकायका प्रतिनिधि र सरसफाइकर्मीहरु घर घरमै पुगेर यसबाट बच्नको लागि माइकिङ लगायतका विधि अपनाई सर्बसाधारणलाई सूचना प्रवाह गरिरहेका छन् । कोरोना संक्रमणबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको साबुन पानीले हात धुने बानी हो भन्ने कुरा वैज्ञानिक रुपमा पुष्टि भएसँगै सर्वसाधारणलाई साबुनपानीले हात धुन सिकाउने अभ्यास र साबुन वितरण पनि गरिएको छ ।
सर्लाही जिल्लाको इश्वरपुर नगरपालिकाका दलित वस्तीमा घर – घरमै साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गरिएको इश्वरपुर नगरपालिका वडा नं. ३ का पूर्ण सरसफाई सहजकर्ता मनोज साहले जानकारी दिनुभयो । इश्वरपुर नगरपालिका र बागमती सेवा समाजद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रत्येक घरधुरीलाई १ वटाका दरले करीब ४ हजार बढी साबुन वितरण गरिएको थियो । साबुन पानीले हात धुने बानी विकास होस् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त साबुन वितरण कार्यक्रममा जनप्रतिनिधि समेतको सहभागिता थियो भने मास्क पनि वितरण गर्ने योजना रहेको सरसफाइ सहजकर्ता साहले जानकारी दिनुभयो ।
कोरोनासँग जुध्नको लागि सरकारद्वारा “लकडाउन” गरिनु भन्दा पहिला कोरोना विरुद्ध गाउँ–गाउँमा हात धुने अभियान र विभिन्न जनचेतनामुलक क्रियाकलाप सञ्चालन गरेको बागमती सेवा समाजले पछिल्लो समयमा स्थानीय तह र प्रशासनसँग समन्वय गरी माइकिङको माध्यमद्वारा कोरोनाविरुद्ध सूचना प्रवाह गरिरहेको बासबरिया गाउँपालिकाका पूर्ण सरसफाइ संयोजक रामलखन मुखियाले जानकारी दिनुभयो ।
सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका, हरिवन नगरपालिका र बासबरिया गाउँपालिकाका पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको बागमती सेवा समाजले समुदायस्तरमा १ हजार पाँचसय भन्दा बढी व्यक्तिलाई साबुन पानीले हात धुन प्रयोगात्मक रुपमा सिकाएको संस्थाका टिम लिडर गजेन्द्र साहले जानकारी दिनुभयो । “हामीले घर घरमा साबुन पानी सहितको हात धुने स्थान निर्माण, फोहोरमैला व्यवस्थापन, व्यक्तिगत र घरायसी सरसफाइ जस्ता कुराको लागि अनुरोध गरिएको छ ।” टिम लिडर साहले भन्नुभयो ।
सरकारद्वारा लकडाउन गरिनुपूर्व ३ सय ४० घरमै गएर सरसफाइ सम्बन्धी जानकारी दिई साबुन पानीले हात धुन सिकाइएको बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले बताउनुभयो । “यसका साथै जिल्ला प्रशासन कार्यालय सर्लाहीसँगको समन्वयमा सञ्चालन गरिएको सहायता कक्षमा ७ सय १४ जनालाई इन्फ्रारेटेड थर्मामिटरको माध्यमद्वारा तापक्रम जाँच गरिएको थियो ।” उहाँले भन्नुभयो ।