जो स्यानिटरी प्याडमा महिलाको पहुँच बढाएर फोर्ब्समा पुगे

काठमाडौ :नेसनल ल युनिभरसिटी दिल्लीबाट स्नातक गरेर जेसलीना राणा दुई वर्षअघि नेपाल फर्किइन् । शुभाङ्गी राणा पनि त्यही समय नेसनल इन्स्च्युट अफ इन्डिया, हैदरवादबाट सिभिल इन्जिनियरिङ सकेर नेपाल आएकी थिइन् । उनीहरुको चिनजान थिएन ।

एउटा सामूहिक जमघटमा संयोगले चिनापर्ची भयो। पढाईको सिलसिलामा दुवै लामो समय नेपाल बाहिर बसे। त्यसैले स्वदेश फर्केर ‘केही गरौं’ भन्ने हुटहुटी थियो। तर, के गर्ने, टुंगो थिएन।

जेसलीनालाई मानवअधिकार र महिला सशक्तिकरणको क्षेत्रमा रुचि थियो, शुभाङ्गीलाई इन्जिनियरिङ र सरसफाईमा। समाजमा प्रभाव देखिने काम गर्नु चाहिँ दुवैको साझा रोजाई। केही समय घोत्लिएपछि दुवैको चाह सम्बोधन हुने आइडिया फुर्‍यो– रजस्वला हुँदा अत्यावश्यक पर्ने प्याडमा महिलाको पहुँच सहज बनाउने। त्यसका लागि स्यानिटरी न्याप्किन भेन्डिङ मेसिन वितरण गर्ने। यही सपनालाई मूर्त बनाउन स्थापना गरे– प्याडटूगो, अक्टोबर २०१८ मा।

‘प्याडटूगो’कै कारण कोभिड–१९ को त्रासबीच शुभाङ्गी र जेसलीना सुखद समाचारको स्रोत बनेका छन्। अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरुको सुचीमा शुभाङ्गी र जेसलीना पनि परेका छन्। ‘द फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२०’ मा उनीहरुसँगै नेपालका युवा उद्यमीहरु निकिता आचार्य र किरण तिम्सिना (अर्वन गर्ल), रोहित तिवारी (फुडमारियो) र प्रतिमा शेर्पा (गल्फर) अटाएका छन्।  ‘यति छिट्टै फोर्ब्सको सुचीमा परिएला भन्ने कल्पनै थिएन। एकदम गर्व महसुस भइरहेको छ’ शुभाङ्गीले  खुशी साटिन् ।

यो खबर शुभाङ्गीलाई जेसलीनाले सुनाएकी थिइन्। ‘काठमाडौंमै छौं तर लकडाउनका कारण भेटेर खुशीयाली मनाउन पाएका छैनौं। फोनमा धेरै कुरा गरेर चित्त बुझाइयो,’ शुभाङ्गीले सुनाइन्।

जब ‘प्याडटूगो’ सुरु गरे, फोर्ब्समा पुग्ने सपना देख्न थाले। तर, ठूलो समूदायका लागि प्रभावकारी काम नगरी त्यहाँ पुगिन्न भन्ने थाहा थियो उनीहरुलाई। पहिले बाजुराको दुर्गम भेगमा शौचालय बनाउने अनि फोर्ब्समा आवेदन दिने योजना बुनेका थिए। फोर्ब्सको प्रभावशाली सुचीका लागि कि आफैं आवेदन दिनुपर्छ कि कोही आधिकारिक व्यक्तिले नोमिनेसन गर्नुपर्छ। उनीहरुलाई चाहिँ फोर्ब्स इन्डियामा कार्यरत कर्मचारीले अन्तरवार्तापछि सिफारिस गरेका थिए। तीन महिना अगाडि फाइनल राउन्डमा छानिएको जानकारी पाएका थिए। ‘तर, अन्तिम सुचीमा परेको चाहिँ फोर्ब्सको अनलाइनमा प्रकाशित भएपछि मात्र थाहा पायौं,’ जेसलीनाले भनिन्।

गत वर्ष उनीहरु स्वीट्जरल्यान्डमा ‘अगुसन वर्कसप’ मा प्रथम भएका थिए। लगत्तै महिलाले नेतृत्व गरेको एसियाभरका स्टार्ट–अपको सिंगापुरमा प्रतियोगितामा भएको थियो, जहाँ ‘प्याडटूगो’ ले दोस्रो स्थान हासिल गर्‍यो। यही सफलतालाई फोर्ब्सको सुचीले नयाँ उचाईमा पुर्‍याएको छ।

शुभाङ्गी र जेसलीनाले कहिल्यै रजस्वला हुँदा विभेद सहनुपरेन, न स्तरीय प्याडकै अभाव खेप्नुपर्‍यो। तर, राजधानीमै महिनावारी भएका महिलालाई गर्ने छिछिः दुरदुरचाहिँ देखेका थिए। प्याड नपाउँदाको तनाव उस्तै। झन् दुर्गम भेगका महिलाले कति सास्ती झेल्नु पर्ला ? यो सोचाईले उनीहरुलाई लामो समय चिमोटिरह्यो। शौचालय र प्याडको अभावमा महिनावारी हुँदा स्कुल नजाने, कतिले त्यही कारण अध्ययन नै छोड्ने समाचार पनि पढेका थिए। त्यसैले प्याडलाई सुलभ बनाउँदा दीर्घकालमा महिला सशक्तिकरणमा योगदान पुग्छ भन्ने निष्कर्षमा पुगे।

तर, पूर्ण गैरनाफामुलुक ढंगले काम गर्ने अवस्था थिएन। आर्थिक रुपमा आत्मनिर्भर हुनैपर्ने थियो। सोही कारण सोसल–इन्टरप्राइजको बाटो समाते। त्यो भनेको, पैसा पनि आर्जन गर्ने, समाजमा प्रभावकारी देखिने काम पनि गर्ने। शुभाङ्गी भन्छिन्, ‘हामी व्यापार र सामाजिक दायित्वको सन्तुलन मिलाउँछौं। सकेसम्म कम नाफा लिएर धेरैभन्दा धेरै महिलासम्म प्याड पुर्‍याउने प्रयास गर्छौं।’ नाफाको निश्चित प्रतिशत आफूलाई राखेर बाँकी रकम फेरि लगानी गर्छन्, रजश्वला सम्बन्धी साँघुरो सोचमा परिवर्तन ल्याउने जमर्को गर्छन्। यही मोडलले उनीहरुलाई फोर्ब्समा पुर्‍याएको हो।

जेसलीनाको कलेजमा प्याडको भेन्डिङ मेसिन थियो, जहाँ क्वाइन हालेपछि प्याड आउँथ्यो। कहिलेकाहीँ उनले पनि प्रयोग गरिन्। शौचालय नजिकै राखिएको हुन्थ्यो। तर, नेपालमा यस्तो मेसिन देखेकी थिइनन्। म्यानुअल भएकाले मेसिन जहाँ पनि लान मिल्थ्यो। जेसलीना भन्छिन्, ‘हामीले भारतबाट यस्तै मेसिन ल्याएर बेच्न थाल्यौं। नयाँ र प्रभावकारी भएकाले धेरैको ध्यान तानिदै गयो।’ यो स्टोरी हामीले कान्तिपुर डेली डटकम बाट लिएका हौं ।

सुरुवातको लगानी थियो– ६ लाख। राजधानीका स्कुल, कलेज पुगेर मेसिनबारे बुझाउन थाले। मल्टिप्लेक्स चेन क्युएफएक्सको सबै शाखामा यो मेसिन राखिएको छ। डेढ वर्षमा ‘प्याडटूगो’ देशका ६ प्रदेशमा फैलिसक्यो, कैलालीदेखि धादिङ अनि सिन्धुपाल्चोकसम्म। अहिले एक सय १० मेसिन चालु छन्। एउटामा २५ वटा प्याड अट्छ, अर्कोमा ५०। युनिभिलरको विस्पर्ड र नेपालमै बन्ने जास्मिनको पाँच रुपैयाँ र दश रुपैयाँ दरका प्याड राखिएका हुन्छन्। शुभाङ्गी भन्छिन्, ‘प्याडको गुणस्तरीयता कायम गर्न प्रतिष्ठित कम्पनीसँग सहकार्य गरेका हौं।’ हिमालय बैंक, लायन्स क्लब, बुद्ध एयर, मल्टिप्लेक्स चेन क्युएफएक्स, होटल साम्बालामा यो मेसिन राखिएको छ।

तर, ‘प्याटूगो’ मार्फत शुभांगी र जेसलीना मेसिन मात्र बेच्दैनन्। रजस्वला र सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि चलाउँछन्। प्रायः स्कुल/कलेजमा मेसिन राखेपछि महिला र पुरुष दुवैलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गर्छन्, रजस्वला सम्बन्धि गलत धारणाहरु मेट्न खोज्छन्। जेसलीना भन्छिन्, ‘रजस्वलाबारे महिला मात्र होइन, पुरुषले पनि बुझ्नु आवश्यक छ। खुलेर कुरा गर्ने वातावरण बन्यो भने मात्र विभेद हट्छ।’

यस्तै कार्यक्रम लिएर केही समय अघि उनी बाँके पुगेकी थिइन्। त्यहाँका स्कुलमा पढ्ने छात्राहरुसँग महिनावारी र प्याडबारे कुराकानी गरिन्। उनले दुखीत हुँदै सुनाइन्, ‘कतिले स्कुलमा टाँगिएको पुरानो ब्यानर च्यातेर प्याडका रुपमा प्रयोग गर्दा रहेछन्, कतिले कागज र अरु पुराना कपडा। यस्तो थाहा पाएपछि प्याड सुलभ बनाउन अझ दायित्वबोध भयो।’ ग्राहकसँग प्रत्यक्ष संवाद गर्न मेसिनमा प्याड ‘रिफिल’ गर्न सकेसम्म उनीहरु आफैं जाने गर्छन्। मेसिनको प्रभावकारीता र कमजोरीबारे बुझ्छन्, ताकि सुधार्न सकियोस्।

शुभाङ्गीले मेसिनको १० प्रतिशत र प्याडको सबै नाफा सेवामुलक कार्यक्रममा खर्च गर्ने बताइन्। जस्तो : बाजुराको दुर्गम स्कुलमा महिला, बालबालिका र अपांगमैत्री शौचालय बनाउने तरखरमा छन्। सहरभन्दा गाउँमा मेसिन र चेतनाको खाँचो भएकाले गाउँतिर केन्द्रित हुँदैछन्। स्थानीय तह, स्कुल, कलेज र अन्य संघसंस्थासँग सहकार्य गर्छन्।

जेसलीना एमनेस्टी इन्टरनेसनलकी मानवअधिकार अधिकृत हुन् भने शुभाङ्गी सानिमा हाइड्रोपावरमा कार्यरत छिन्। बिहान ९ देखि साँझ ५ बजेसम्म अफिसमै बित्छ। त्यसबाहेकको समय ‘प्याटटूगो’लाई दिन्छन्। बिदामा पनि यसकै प्रबर्द्धनमा लाग्छन्। ‘महिनावारी सम्बन्धी काम गर्ने भन्नासाथ धेरैले एनजिओ भन्ठान्छन् तर हामी व्यापार गरेरै सकारात्मक परिवर्तनमा योगदान गर्न प्रयत्नरत छौं,’ शुभाङ्गी भन्छिन्, ‘हामीकहाँ सोसल–इन्टरप्राइजको अवधारणालाई व्यापक बनाउन आवश्यक छ। फोर्ब्सले हामीलाई थप उर्जा दिएको छ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार