यतिबेला विश्व कोरोना (कोभिड—१९) को कहरले त्रसित र भयभित बनिरहेको छ । संसारलाई एक गाउँजस्तो बनाउन सफल मानव जीवन घरभित्र नै बन्दी बन्न पुगेको छ । विज्ञानको खोज, ज्ञान र आधुनिक प्रविधिको सहारामा विश्वलाई क्षणभरमा जोड्ने काम गरेको छ । नेपालको एक कुनाबाट संसारलाई चियाउन सक्ने बनाएको छ । त्यही विज्ञानको सहारामा पृथ्वीलाई एक निमेषमा ध्वस्त बनाउन सक्ने बम, गोला, शस्त्र, क्षेप्यास्त्र बनाएको छ । तर, कोरोनालाई सखाप पार्न सक्ने कुनै औषधि समेत पत्ता लगाउन सकेन । विज्ञानको युगमा मानवजातिका लागि कोरोना भयावह चुनौती बन्न पुगेको छ । शक्तिको होडबाजीमा ‘मै हुँ’ भन्ने शक्तिशाली राष्ट्रले पनि कोरोनाको कहरलाई सामना गर्न सकिरहेका छैनन् । यसको त्रासले विश्वलाई स्तब्ध बनाएको छ । हाल (वैशाख २५) सम्म विश्वभर करिब ३८ लाख २३ हजार कोरोनाबाट संक्रमित भएका छन् । ती मध्ये २ लाख ६५ हजारले ज्यान गुमाएका छन् ।
यस्तो महामारीपूर्ण दुःखद घडीमा मृत्यु हुने र संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । त्रसित र भयभीत मानव जीवन कोरोनासँग सामना गर्न भिडिरहेको छ ।
कोरोनाले एकातिर मानव जीवनलाई छिन्नभिन्न बनाएर तहसनहस गर्न खोजिरहेको छ भने अर्कोतिर वायुप्रदूषणलाई नै घटाएर वातावरण सन्तुलन (एयर क्वालिटी इन्डेक्स) मा सकारात्मक बनाउने मौका प्रदान गरेको छ ।
यसैगरी, कोरोनाको प्रभावका कारण विश्वको अर्थतन्त्र धराशायी बन्न पुगेको छ । विश्व लकडाउनले गर्दा मानव बन्द घरभित्र निष्क्रिय भएर चिन्तित बन्न पुगेकोे छ । सम्पन्नशालीले लाखौं खर्चेर पनि जीवनलाई बचाउन सकिरहेका छैनन् । यस्तो संकटको घडीमा असहाय, विपन्नवर्ग, दैनिक मजदुरी, ज्यालादारी गरी परिवारको पालनपोषण गर्नेहरूका लागि यो लकडाउनको असरले हातमुख जोर्नका लागि पनि संकटको अवस्था सिर्जना भएको छ । यस्तो विपद्को घडीमा व्यक्तिका आधारभूत मानवअधिकार पनि खुम्चिएको अवस्था छ ।
वातावरण, मानवीय क्रियाकलाप र सामाजिक प्रणालीका अवयवहरूसँग मानव जीवनको सम्बन्ध अन्तर्निहित र अन्तर्सम्बन्धित रूपमा जोडिएका हुन्छन् । यतिबेला मानवले विज्ञानमाथि गरेको विकासले विनाश निम्त्याएको भान भएको छ । सायद मानवले वातावरणलाई केन्द्रविन्दुमा राखेर विकास गर्न भुलेको परिणाम त होइन ? अहिलेको विश्वसंकट यस घडीमा प्रश्न गर्न मन लाग्छ । मानवजातिले गरेको ज्ञान, विज्ञान र आधुनिक नवीनतम प्रविधिको विकासले भित्रिएका अवसरहरूको परिणामका कारण मानवजातिलाई चुनौती थपिएको जस्तो लाग्छ । यही आधुनिक प्रविधिको उपजले दिन प्रतिदिन वातावरणलाई प्रदूषण पनि बनाएको छ ।
औद्योगिक क्षेत्रको विकास, अत्यधिक सवारी साधन, इँटाभट्टा, आणविक प्रयोग, विषादीको प्रयोग, वनविनाश, जथाभावी फोहोरमैला, अव्यवस्थित बसाइँसराइ लगायतका क्रियाकलापले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जैविक विविधताको ह्रास, जलवायु परिवर्तन, कार्बन उत्र्सजन बढी, खडेरी, अतिवृष्टि, अनावृष्टि, बाढी, महामारी, प्रकोपको सामना गर्नुपरेको छ ।
कोरोनाले मानवजातिलाई संकटको अवस्था मात्र नभई अप्रत्यक्ष रूपमा केही सकारात्मक पक्ष पनि दिएको पाइन्छ । विश्वभरि फैलिएको महामारीमा मानवीय गतिविधि सुस्ताएको छ । मानिस घरभित्र छटपटाइरहेको छ । न त उसले नवीनतम प्रविधि र ज्ञानले हासिल गरेका उपकरणलाई प्रयोग गर्न सक्दछ । अत्यधिक सवारीसाधन, कलकारखाना, उद्योग र इँटाभट्टाबाट बन्द भएको हुँदा यसबाट निस्कने धुवाँ र धुलोमा कमी आएको पाइन्छ । वनविनाश, मानवको आवतजावत, औषधि, विषादीको प्रयोग पनि यति बेला ठप्प भएको देखिन्छ । केवल कोरोनासँग जीवन बचाउने होडबाजी चलिरहेको छ । यसको अप्रत्यक्ष फाइदा वातावरणलाई केही हदसम्म सन्तुलन राख्नका लागि मद्दत पुगेको देखिन्छ ।
सन् २००८ र २००९ मा विश्वमा आर्थिक मन्दीपश्चात् वातावरण इन्डेक्सका अनुसार वायुप्रदूषणमा सुधार आई (एयर क्वालिटी इन्डेक्स) एक वर्षसम्म सन्तुलन आएको थियो । त्यसपछिकै २०२० मा पहिलोपटक वायुप्रदूषण सन्तुलन राख्न केही समयका लागि सकारात्मक रहेको वातावरण विज्ञहरू बताउँछन् । विश्वमा यो संकटको अवस्थामा वायुप्रदूषणको मात्रा घटेको तथ्यांक सार्वजनिक भएको छ । विश्व इन्डेक्समा पहिले शतप्रतिशतबाट घटेर विश्वमा हाल कतै ३३ प्रतिशत, कतै ६० प्रतिशत र कतै ७५ प्रतिशत पुगेको पाइन्छ । इटाली, स्पेन, नर्वे, फिनल्यान्ड, रुसको पश्चिम भाग, क्यानडामा पनि वातावरण प्रदूषणमा (एयर पोलुसन इन्डेक्स) कमी आएको पाइन्छ । न्युयोर्कमा झन् ५० प्रतिशतमा झरेको तथ्यांक रहेको छ । नेपालमा त यो संकटले निम्त्याएको लकडाउनले वातावरण प्रदूषण (एयर क्वालिटी इन्डेक्स)मा धेरै सुधार भएको पाइन्छ ।
विशेष गरी काठमाडौंमा धेरै सुधार आएको देखिन्छ । काठमाडौंमा अत्यधिक सवारी साधनको धुँवा कार्बनडाइअक्साइड, धुलोको कण, इँटाभट्टाबाट निस्कने धुवाँधुलोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने हुँदा यो हानिकारक बनिरहेको थियो । यसले गर्दा मानिसमा श्वासप्रश्वास र मुटुको समस्या बढी देखिएको थियो । विश्व स्वास्थ्य संगठनले उपत्यकामा ठाउँठाउँमा जडान गरिएका एयर पोलुसन इन्डेक्समा वातावरण विभागले गरेको अनुुगमन अनुसार उल्लेख्य सुधार भएको देखिन्छ । हाल काठमाडौं उपत्यकामा पहिलेको शतप्रतिशतबाट एयर पोलुसन इन्डेक्समा कतै २५ प्रतिशत, ३२ प्रतिशत, ३५ प्रतिशत ४० प्रतिशत र ५० प्रतिशतमा झरेको देखिन्छ । काठमाडौं सहर लगायत देशका अनेक ठाउँ यतिबेला वसन्त ऋतुसँगै सुन्दर सफा र हरियाली बन्न पुगेका छन् । आकाश पनि सफा निश्चल देखिन्छ । वातावरणविद्का अनुसार अहिलेको यो निष्क्रिय मानव जीवन, बन्द सवारी, उद्योगको प्रभाव आदिले वातावरणलाई दुई वर्षसम्म वायुप्रदूषण (एयर क्वालिटी इन्डेक्स)मा सन्तुलन ल्याउन मद्दत पुगेको बताउँछन् । कोरोनाले एकातिर मानव जीवनलाई छिन्नभिन्न बनाएर तहसनहस गर्न खोजिरहेको छ भने अर्कोतिर वायुप्रदूषणलाई नै घटाएर वातावरण सन्तुलन (एयर क्वालिटी इन्डेक्स) मा सकारात्मक बनाउने मौका प्रदान गरेको छ ।
जब यो माहामारीको सामना भएपछि मानव दैनिक जीवनयापनमा फर्कन्छ, सवारीसाधनको प्रयोग, कलकारखानाको सञ्चालन सुरुलगायतका क्रियाकलाप बढ्न थाल्छ, पुनः वायुप्रदूषण ह्वात्तै बढ्न सक्ने वातावरणविद्हरू बताउँछन् । यसको असर फेरि मानव जीवनमा पर्दछ । विश्वमा ६० लाख मान्छेको मृत्यु वातावरण प्रदूषणका कारण हुने गरेको तथ्य रहेको छ । यतिबेलाको कारोनाको संकटमा यो पनि सिकाइ भएको छ कि मानवले प्रकृतिको अत्यधिक दोहन नगर्ने, विलासितामा परनिर्भर नहुने, थोरै भए पनि खाद्यान्नको जोहो गर्ने, अत्यधिक उपभोगमुखी नहुने, कार्बन उत्सर्जन कम गर्नेमा जोड दिने, वनस्पति विरुवाको संरक्षण गरी हरियाली बनाउने शिक्षा दिएको छ । जापानमा पनि एक मिटर सामाजिक दूरी कायम गर्नु उनीहरूको संस्कृति रहेको पाइन्छ ।
हाम्रो संस्कारले सिकाएको प्रणाम, नमस्कार, भान्छामा पस्नुअघि हातखुट्टा राम्रोसँग धुने, बाहिरबाट लगाएर आएको कपडा फेरेर वा सफा कपडा लगाएर भोजन गर्नुपर्ने संस्कृति हो । प्रत्येक दिन नुवाएर सफा भई योग, ध्यान, जप, पूजापाठ गरी मात्र भान्छामा जाने अंकमाल नभई प्रणाम नमस्कार गर्ने संस्कार थियो । यसलाई आज कारोनाले सम्झाइदिएको छ । अहिले यस्तो विपत्ति आउला भन्ने कसलाई थाहा थियो र ? विदेशमा जति श्रम र पसिना बगाउँछौं, त्यति हामी आफ्नै खाली रहेका पाखापखेरा, खेतबारी र कान्लामा श्रम लगाउन सक्थ्यौं नि । यो महामारीमा विदेशमा कोरोनाको कहरबाट ज्यान गुमाउनुपर्ने थिएन । सारा नेपाली भोकभोकै रुनुपर्ने थिएन । सायद महामारीको भाइरस बोकी ल्याउनुपर्ने थिएन ।
यो विपद्ले सिकाएको सकारात्मक पक्ष मानी आजैदेखि वातावरणमैत्री प्रविधि प्रयोग गर्नमा सबैलाई प्रोत्साहन गर्नुपर्नेछ । वातावरण सम्बन्धी मानवमैत्री कार्यक्रममा जोड दिँदै हरित सहर निर्माणमा सबैलाई जागरुक गराउनुपर्दछ । काठमाडौं, पोखरा र दाङजस्ता कचौरा आकारका उपत्यकामा धुवाँधुलोको मात्रा बढी हुने हुँदा यसका लागि भएका नीतिहरूको कार्यान्वयन गर्नुका साथै विशेष व्यवस्था पनि गर्नुपर्ने हुन्छ । यस कोरोनाको कहरमा वायुप्रदूषणमा कमी आई बन्न गएको सुन्दर शान्त हरियाली सहरलाई यथावत् राख्नका लागि हामी एकजुट हुनुपर्ने सिकाइ, चुनौतीका साथै अवसर पनि हो ।
लेखक राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत हुनुहुन्छ ।