लकडाउनमा खानेपानीको हाहाकार

पाल्पा : तानसेनमा दिनहुँ वर्षा भइरहेको छ । पानीको श्रोत दिनहुँ बढिरहेको छ तर उपभोक्ताको घरमा भने दुई हप्ता हुँदासम्म धारामा पानी आएको छैन । कोरोनाको कारण लकडाउन भएपछि विधार्थी कर्मचारी तथा भाडामा बस्ने व्यक्तिहरु गाउँगाउँ जाँदा पानीको खपत कम हुँदासमेत उपभोक्ताको घरमा दुई हप्तामा एक घण्टा पानी नआउँदा तानसेनवासी समस्यामा परेका छन् ।

‘दुई हप्तासम्म धारामा पानी आउँदैन, टंयाकरबाट पानी मगायो भने ५ दिनपछि मात्र आउँछ । यो अवस्थामा तानसेनमा कसरी बस्ने ?’, तानसेन नगरपालिका वडा नं ३ का उपभोक्ता राजेन्द्र गोपाल सिंहले बताए । धारामा पानी नआएर अधिकांश तानसेनबासीहरु ढुङ्गेधारामा धाउन बाध्य छन् । तानसेन वडा नं. ५ का जिवन थापाले ढुंगे धारामा पानी लिन जान पनि कोरोनाको संक्रमण हुने डर लाग्ने बताए । दुई हप्तामा पानीको धारा आउँदासमेत १ घण्टा मात्र पानी आउने गरेको तानसेन ४ का बुद्धबहादुर केसीले बताउँछन् । खानेपानी उपभोक्ता समिति जिम्मेवार नभएकै कारण खानेपानीको समस्या भएको केसीले बताए ।

तानसेन खानेपानी उपभोक्ता समिति मार्फत तानसेनमा खानेपानी आपुर्ती हुँदै आएको छ । लकडाउनअघि नै तानसेन होलाङ्दीको पानी तान्ने मोटर प्यानल बिग्रिएको थियो । तर अहिलेसम्म मर्मत भएको छैन । लकडाउनको बहाना बनाउँदै समितिका पदाधिकारी तथा कर्मचारीहरु जिम्मेवारीबाट पन्छिने गरेका छन् । दैनिक एक लाख लिटर पानी तान्ने १ प्यानल बोर्ड बिग्रने बित्तिकै लकडाउन भयो प्यानलबोर्ड वुटवलमा मर्मतको लागि पठाएको छ तर मर्मत गर्ने मिस्त्री घर गएकोले बनाउन नसक्दा पानी वितरण प्रणालीमै समस्या आएको समितिका कोषाध्यष भिमसेन कार्कीले बताए । तानसेन नगरपालिकाले बाँझा क्षेत्रमा सडक खनेको कारण बाँझाको मुलको पानीमा समेत समस्या भएको, नेपाल विधुत प्राधिकरणले लाइन मर्मत गर्दासमेत भुल्केको लाइनमा समस्या आएकोले पानी वितरणमा ढिलो भएको कोषाध्यक्ष कार्कीले बताए ।

कालीगण्डकी पानी माघभित्र आउने भनी तानसेनबासी तथा पत्रकारहरु माझ सार्वजनिक गरेको समितिले अहिलेसम्म कालीगण्डकीको पानी तानसेनसम्म ल्याउन सकेको छैन । तानसेनमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भए पनि हाल दैनिक रुपमा ५ लाख लिटर पानी मात्र पम्प हुँदै आएको छ । तानसेनमा भुल्के, सिस्ने, होलाङदी, तिनधारा क्षेत्रबाट लिफ्ट प्रणालीबाट पानी वितरण हुँदै आएको छ । तानसेन खानेपानी उपभोक्ता समितीले हालसम्म ३ हजार ५ सय निजीधारा वितरण गरेको छ भने नयाँ धाराको लागि करीव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएका छन् । यो खबर अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरिएको हो । तानसेनको खानेपानी लिफ्टमा आधारित खानेपानी भएकोले विद्युत अवरुद्ध हुँदा समस्या हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार