कोरोनाको सन्त्रासबीच सामाजिक अगुवाहरु पूर्ण सरसफाइ प्रबर्द्वनमा

विनोद धौलागिरि/विराटनगर : देशैभरि कोरोनाको सन्त्रास छ, जनजीवन कठिन बनिरहेको छ । कोरोनाबाट नेपालमा पहिलो मृत्युको खबर बाहिरिंदै गर्दा आगामी दिनहरुमा फेरि यस्तै त्रासदीपूर्ण दिनहरु आउनै नदिनका लागि अहिले समुदाय पूर्ण सरसफाइ प्रबर्द्वनमा जुटेका छन् ।

मोरङ बेलबारी नगरपालिका, वडा नं. ८ की रत्ना खवासको दैनिकी समुदायमा घरदैलो गरी पूर्ण सरसफाइ प्रबर्द्वनको अवस्थाको अनुगमनबाट थालनी हुन्छ । उहाँलाई साथ दिनुहुन्छ सोही वडाकी सामाजिक अगुवा उर्मिला खवासले ।

“सरसफाइ कायम राख्न नसक्दा कोरोनामात्र होइन, यस्तै अन्य दर्जनौं रोगले सताउँछन्”, लामो समय स्वास्थ्य क्षेत्रको अनुभव संलाग्नुभएकी सामाजिक अगुवा रत्ना खवास भन्नुहुन्छ, “कोरोनाको त्रासमात्र होइन, वर्षा याममा सरसफाइ कायम राख्न नसकेमा झाडापखाला, हैजा, आउँ, जुका, जिआर्डियासिस, हेपाटाइटिस लगायतका रोगले सताउँछन् ।”

विगतमा नागरिक सचेतना केन्द्रमा रही सामाजिक सवालहरुमा निरन्तर क्रियाशील स्वयंसेवक उर्मिला खवास सरसफाइ र स्वच्छताई पहिलो सामाजिक सवालको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुहुन्छ । “अहिले कोरोनाले पनि देखाइसकेको छ कि सरसफाइ र स्वच्छता नै पहिलो सामाजिक सवाल रहेछ”, उहाँको भनाइ छ, “सरसफाइ र स्वच्छता भएन भने मानव जीवन समेत नरहने रहेछ ।”

सरसफाइका संरचना निर्माणमा जोड

सरसफाइ तथा स्वच्छताको दिगो व्यवहार परिवर्तनका लागि सरसफाइका संरचना निर्माणमा जोड दिनुहुन्छ बेलबारी नगरपालिकाकै सामाजिक अगुवा रीता कोइराला । “त्यसैले, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने, पानीको शुद्धीकरण गर्ने लगायतका स्वच्छता व्यवहारका अलावा जुठ्यान तथा मचान निर्माण, चर्पीको मर्मतसम्भार तथा स्तरोन्नति, फोहर गाड्ने स्थान लगायतका भौतिक संरचना निर्माणमा समेत जोड दिइरहेका छौं”, कोइरालाको प्रतिप्रश्न छ, “घरमा चर्पी नहुनेले चर्पीमा दिसा पिसाव गर्छ भन्ने कुराको कसरी ग्यारेण्टी हुन्छ र ?”

लामो समयअघि खुल्ला दिसामुक्त घोषणा भएका कतिपय स्थानमा अहिले चर्पी बिग्रिए भत्किएका छन् भने कतिपय नयाँ निर्माण गरिएका अस्थायी प्रकृतिका घरहरुमा चर्पी निर्माण भएका छैनन् । पूर्ण सरसफाइ अभियानको थालनीमा नै चर्पी निर्माण तथा मर्मतसम्भार गर्न बाँकी घरहरुमा चर्पी निर्माणलाई पहिलो प्राथमिकता दिइएको बताउनुहुन्छ पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था नारी विकास संघ मोरङकी कार्यक्रम अधिकृत शर्मिला चौधरी । “चर्पी नभएका कारण खुल्ला स्थानमा दिसा पिसाव गर्न जाने घरधुरीमा मात्र होइन, संयुक्त रुपमा चर्पीको प्रयोग गरिरहेका घरधुरीमा समेत अलग अलग चर्पीको निर्माण गर्नुपर्ने छ”, चौधरीको भनाइ छ, “त्यसैले, चर्पीको निर्माण तथा मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेका छौं ।”

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा नारी विकास संघले मोरङ जिल्लाका चार स्थानीय तहका १६ वडामा पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेको छ । कोरोना सन्त्रासका कारण बन्दाबन्दीको समयमा समेत पूर्ण सरसफाइ अभियानअन्तर्गत सहजकर्ता र स्वयंसेवकहरुले सरसफाइ प्रवद्र्धन गर्न आवश्यक घरधुरीमा नियमित रुपमा टेलिफोनको माध्यमबाट जानकारी गराउने, प्रज्वलन गर्ने, प्रतिवद्धता गर्ने र स्थानीय स्वयंसेवकको सहयोगमा अनुगमन गर्ने कार्य जारी राखेका छन् ।

“सरसफाइसम्बन्धी आनिवानीमा परिवर्तन नआएसम्म उहाँहरुलाई निरन्तर रुपमा टेलिफोनको माध्यमबाट प्रज्वलन गर्ने, प्रतिवद्धता लिने र प्राविधिक जानकारी गराउने गर्छौं”, पूर्ण सरसफाइ सहजकर्ता देवीराम सरदारको भनाइ छ, “उहाँहरुले सरसफाइसम्बन्धी व्यवहार परिवर्तन गरेको बताएपछि स्वयंसेवकको सहयोगमा अनुगमन समेत गर्ने गरेका छौं ।”

बन्दाबन्दीका कारण आमपरिचालनका क्रियाकलाप गर्न नपाएपछि पूर्ण सरसफाइ प्रवद्र्धनका क्रियाकलाप साँघुरिनु परे पनि अहिले भौतिक निर्माणले गति लिएको बताउनुहुन्छ नारी विकास संघको तर्फबाट जहदा गाउँपालिकाका संयोजक निश्चल घिमिरे । “बाहिरबाट सिमेण्ट, गिटी, बालुवा, फलामको रड लगायतका निर्माण सामग्री सहज रुपमा लैजान पाउने अवस्थामा केही समय निर्माणका क्रियाकलापमा कमी भएको भए पनि, अहिले वृद्धि भएको छ”, उहाँको भनाइ छ, “स्थानीय स्तरमा पाइने सामग्रीबाट आवश्यक संरचना निर्माण गर्दै जाने र ढुवानी सहज बनेपछि बाह्य सामग्री ल्याएर बाँकी काम पूरा गर्नेगरी समुदाय तहमा काम भैरहेको छ ।”

व्यवहार परिवर्तनका लागि टेलिफोन गरी सहजीकरण गर्न थालेपछि पूर्ण सरसफाइ अभियान थालनी भएका १६ वटा वडामा २९ चर्पी निर्माण सम्पन्न भएको र १ सय ९९ घरमा निर्माणाधीन अवस्थामा रहेका छन्। यसैगरी ४९ घरधुरीले साबुन पानीले हात धुनका लागि स्थायी संरचना निर्माण गरेका छन् भने ३ सय ६ घरले टुटीसहितको बाल्टिन र साना प्लास्टिकका ड्रमको व्यवस्था गरेका छन् । “७ सय ३२ घरले साबुन पानीले हात धुनका लागि साबुनका अलावा अलग्गै बाल्टिन र जगको व्यवस्था गरेका छन्”, नारी विकास संघका पूर्ण सरसफाइ अभियान टिम लिडर हिमांसु यादवको भनाइ छ, “ढुवानी सहज हुनासाथ यी घरधुरीमा साबुन पानीले हात धुनका लागि दिगो संरचना निर्माण गर्ने प्रतिवद्धता घरधुरीले व्यक्त गर्नुभएको छ ।”

महिलाको अगुवाइमा सफलता

पूर्ण सरसफाइ प्रवद्र्धन र समुदाय सचेतीकरणका विभिन्न तहमा महिलाले गरेको अगुवाइ सफल भैरहेको बताउनुहुन्छ बेलबारीकी सामाजिक अगुवा एवम् पूर्ण सरसफाइ पालिका संयोजक रीता कोइराला । “परिवारको पुरुष सदस्य घरमा नभएका घरधुरीमा छिमेकीको सहयोग लिएर पनि काम भैरहेको छ”, कोइराला भन्नुहुन्छ, “महिलालाई एक पटक उत्प्रेरित गरिसकेपछि र यसका फाइला बेफाइदाको बारेमा जानकारी गराएपछि काममा जुटिहाल्नुभएको भेटिन्छ ।”

सामाजिक र पारिवारिक भूमिकाका कारण महिला सरसफाइमा बढी जोडिएका कारण पनि यस अभियानमा महिलाले अगुवाइ लिनुपर्ने बताउनुहुन्छ रतुवामाइ नगरपालिकाका पूर्ण सरसफाइ अभियान सहजकर्ता विमला खतिवडा । “महिलाले बहाना कम गर्ने गरेको भेटिन्छ”, खतिवडाको भनाइ छ, “रतुवामाई नगरपालिका क्षेत्रभित्र पनि बिग्रिए भत्किएका चर्पी पुनःनिर्माण गर्ने र भाँडा सुकाउने मचान बनाउने काम महिलाको अगुवाइमा बढी भैरहेका छन् ।” निर्माणाधीन ८६ चर्पीमध्ये ५० भन्दा बढी महिलाको अग्रसरतामा निर्माण भैरहेको फेहरिस्त प्रस्तुत गर्नुहुन्छ शर्मिला चौधरी ।

घरायसी संरचना निर्माणमा मात्र होइन, पूर्ण सरसफाइ प्रबर्द्वनमा स्वयंसेवी भूमिका पूरा गर्ने काममा समेत महिलाहरुको सक्रियता अनुकरणीय रहेको बताउनुहुन्छ रतुवामाई नगरपालिकाकी अर्की सहजकर्ता तिलो ताजपुरिया । “समुदायको विवरण संकलन गर्नेदेखि समुदायलाई टेलिफोनको माध्यमबाट जानकारी दिने र आवश्यक परेको खण्डमा आफू सुरक्षित भएर समुदायमा नै पुगी अनुगमन र प्राविधिक सहयोग गर्ने कार्यमा समेत महिलाको भूमिका प्रभावकारी देखिएको छ ।”

तातेको बेलामा धार लगाउने काम

फलामबाट हतियार बनाउनका लागि तातेको बेलामा धार लगाएजस्तै अहिले समुदायलाई सरसफाइको आवश्यकता महसुस भएको बेलामा सरसफाइका संरचना निर्माण र तिनको दिगोपन दिन सजिलो हुने सहजकर्ताहरुको धारणा रहेको छ । “रेडियो, टेलिभिजन, मोबाइलको रिङ टोन र सामाजिक सञ्जालबाट समेत साबुन पानीले हात धुनुका साथै सरसफाइ प्रबर्द्वनका सन्देश निरन्तर रुपमा प्रवाह हुन थालेपछि समुदायका सबै जनालाई सरसफाइको आवश्यकता महसुस भएको छ”, जहदा गाउँपालिकाका पूर्ण सरसफाइ सकजहर्ता गीता ठाकुर भन्नुहुन्छ, “पहिले विभिन्न बहाना गर्नेहरु पनि अहिले सरसफाइ नै जीवनको आधार हो भन्ने बुझेपछि सरसफाइ प्रबर्द्वनमा जुट्नुभएको छ ।”

अहिलेको असहज अवस्थामा बाह्य निर्माण सामग्री आवश्यक नपर्ने सरसफाइ प्रबर्द्वनका कार्यमा जोड दिइएको छ । “पछिल्लो डेढ महिनाको अवधिमा टेलिफोनको माध्यमबाट गराइएको जानकारी र आवश्यक परेको समयमा स्थानीय स्वयंसेवकले गरेको प्राविधिक सहयोगबाट १ सय ८६ वटा भाँडा सुकाउने मचान निर्माण भैसकेका छन्”, पूर्ण सरसफाइ अभियानका कार्यक्रम अधिकृत शर्मिला चौधरीको भनाइ छ, “१ सय ९४ घरमा मचान बनाउनका लागि बाँस र काठ तयार गरी निर्माणाधीन अवस्थामा रहेका छन् ।”

समुदायलाई आवश्यकता महसुस भएको बेलामा नै आवश्यक सहजीकरण र प्राविधिक सहयोगमा कमी आउन नदिनका लागि वडाका जनप्रतिनिधि र स्थानीय अगुवाहरु समेत क्रियाशील हुन थाल्नुभएको छ । पूर्ण सरसफाइ अभियान सहजकर्ताहरुले वडासँग समन्वय गरी पहिचान गरिएका घरधुरीमा भौतिक दूरी कायम गर्दै र सुरक्षा सावधानी अपनाउँदै सहजीकरण गर्न थाल्नुभएको छ । “वडा अध्यक्ष र सदस्यहरुसँग समन्वय गरी उहाँहरुसँगै आवश्यक घरधुरीमा पुग्ने गरेका छौं”, वडाबाट विपन्न घरधुरीको पहिचान गरी राहत वितरण कार्यमा समेत सहयोग पु¥याउनुभएकी पूर्ण सरसफाइ पालिका संयोजक रीता कोइराला भन्नुहुन्छ, “हामी सामाजिक भूमिकामा रहने र सामाजिक अभियान सहजीकरण गर्नेहरु लकडाउनभरि कोठाभित्र बसिरहेर पनि पुग्दैन । आवश्यक सावधानी अपनाएर समुदायमा पुग्नैपर्ने रहेछ ।”

 

सावधानी अपनाएरै बाचौं

कोरोना भाइरसविरुद्धको खोप निर्माण भै सबैको पहुँचमा नपुगेसम्म यसको त्रास शून्यमा झर्न नसक्ने भएकोले सावधानी अपनाएर दैनिकी सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ झापाको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र मिश्र । “छोटो समयमा कोरोना शून्यमा झर्दैन, त्यसैले सावधानी अपनाउँदै जीवनलाई सहज गराउनुपर्छ”, मिश्रको भनाइ छ, “कोरोनासँग डराएर घरभित्रै बसिरहनुभन्दा पनि यो एकबाट अर्कोमा सर्न नै नपाउनेगरी पूर्ण सरसफाइको आनिवानी प्रवद्र्धन गर्नुपर्छ ।”

यही आवश्यकतालाई महसुस गरेर सरकारले लकडाउनको समयमा समेत सरसफाइ प्रवद्र्धन कार्य र सेवालाई अत्यावश्यक सेवाभित्र समावेश गरेको छ । “चर्पी निर्माण र साबुन पानीले हात धुनेमात्र होइन, पिउने पानीको शुद्धीकरण, भान्छाको सफाइ, गोठ र घर आँगनको सफाइ, घरायसी तहमा नै फोहरको वर्गीकरण, महिनावारी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन, खानाको सुरक्षा र खोर गोठको पर्याप्त सरसफाइमा समेत उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ”, पूर्ण सरसफाइ सहजकर्ता सोमनाथ सिग्देल भन्नुहुन्छ, “हामीले समुदायमा यही सन्देश प्रवाह गरिरहेका छौं, र उहाँहरुको प्रतिवद्धता लिदै व्यवहारमा अवलम्वन गरे नगरेको अनुगमन समेत गर्ने गरेका छौं ।”

समुदायमा जागरुक र सरसफाइ तथा स्वच्छताको सुरक्षित व्यवहार अवलम्वन गर्ने व्यक्तिको समूह बनाउँदै सरसफाइ प्रवद्र्धनमा जुट्नुपर्ने आवश्यकता त छँदैछ, विपन्न र जोखिममा रहेका बस्तीहरुमा वर्षा याममा हुने सम्भावित सरुवा रोगको जोखिमबाट बचाउनका लागि स्थानीय तहहरुले अल्पकालीन एवम् दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेछ । आवश्यक नीतिगत व्यवस्थासहित पूर्ण सरसफाइ प्रवद्र्धनलाई स्थानीय तहको वार्षिक नीति कार्यक्रममा अलग्गै महत्वपूर्ण विषयको रुपमा र अन्य क्षेत्रसँग अन्तरसम्बन्धित विषयको रुपमा समावेश हुन सकेमा मात्र सरसफाइ प्रवद्र्धन दिगो बन्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार