ढिलासुस्ती गरिरहेका ठेकेदारलाई लकडाउन बन्यो बहाना, महिनौं पछि धकेलिने भयो खानेपानी आयोजना

प्रतिनिधि तस्बिर

खोटाङ : खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजना निर्माणको काममा ढिलाई गरिरहेको ठेकेदार कम्पनीलाई लकडाउन राम्रो बहाना बनेको छ । दुधकोसीको पानी गाउँमा निकाल्नका लागि तीन वर्षअघिदेखि थालिएको ९६ करोडको आयोजनाको काम समयमै सम्पन्न गर्न नसकेको ठेकेदारले लकडाउनलाई ठूलो कारण बताउन थालेको छ ।

‘प्राविधिक काम गर्ने दक्ष कामदार घर गएको छ । आयोजनाको मूख्य स्ट्रक्चरको काम नै रोकिएको छ, लकडाउन अगाडि आयोजनाको जुन गति थियो, हाल त्यो अवस्था छैन । ढिलासुस्ती गर्ने ठेकेदारले निहुँ पाएको छ ।’ उहाँले भन्नुभयो ।

लकडाउनका कारण बारा र पर्साबाट सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्री र काठ्माडौं, बीरगञ्ज र बिराटनगरबाट दक्ष जनशक्ति ल्याउन नसकिएको सम्बन्धित निर्माण कम्पनीले बताउँदै आएका छन् । हाल पाईपलाईन, ट्यांकीको फाउण्डेसन निर्माण, ट्यांकीसम्म पुग्ने सडक निर्माण तथा मर्मत लगायतका बाहेक अन्य काम हुन नसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख हिराकाजी महर्जनले बताउनुभयो । दुधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ नगरपालिकाका १ देखि ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्यका साथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम थालिएको हो ।

दिवा–महादेव खिम्ती जेभीले भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजारमा दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने गरी मूख्य लाईनको ठेक्का लिएको थियो । २०७६ साल पुस १७ गते सम्ममा काम पुरा गर्ने गरी २०७४ साल असार २१ गते ठेक्का सम्झौता गरेको दिवा–महादेव खिम्तीको काम सन्तोषजनक नभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई गाउँ–गाउँमा पुर्‍याउने वितरण लाईन तर्फको ठेक्का लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी को कामको प्रगती पनि सन्तोषजनक नदेखिएको हलेसी क्षेत्र खोटाङ ९बृहत पम्पिङ० खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव हस्तबहादुर राईले बताउनुभयो । काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ साल असार ३० गतेसम्ममा महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरी सक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरेको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा चरम ढिलासुस्ती देखिएको छ ।

यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्ट्रक्सनको प्रगति समेत अपेक्षित नदेखिएको नेकपा हलेसी तुवाचुङ नगर कमिटिका अध्यक्ष सुरेन्द्र राईले बताउनुभयो ।

आयोजनाको काममा ढिलासुस्ती गरिरहेका ठेकेदारले ढिलासुस्तीको कारण लकडाउनलाई देखाउने निहुँ पाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । ‘प्राविधिक काम गर्ने दक्ष कामदार घर गएको छ । आयोजनाको मूख्य स्ट्रक्चरको काम नै रोकिएको छ, लकडाउन अगाडि आयोजनाको जुन गति थियो, हाल त्यो अवस्था छैन । ढिलासुस्ती गर्ने ठेकेदारले निहुँ पाएको छ ।’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार