यस्तो पनि क्वारेन्टाइन, जहाँ शौच गर्न खुला ठाउँ खोज्दै हिड्नुपर्छ

कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर २, स्थित महेन्द्र प्राविमा एउटा क्वारेन्टाइन निर्माण गरिएको छ । जहाँ मानिसहरूलाई थुन्नका लागि बनाए जस्तो देखिन्छ । क्वारेन्टाइनमा न शौचालयको व्यवस्था छ, न खाना खाने र सुत्ने व्यवस्थित स्थान । क्वारेन्टाइनमा बसेकाहरूबीच भौतिक दुरी पालना गर्न सकिने अवस्थै छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् ।

यस्तै अवस्था छ, बाँकेको नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइनको पनि । ३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जान्छन् । जिल्लाका मानवअधिकारकर्मी र अधिवक्ताहरूको टोलीले सोमबार सातवटा क्वारेन्टाइनको अनुगमन गरेको थियो । सबै क्वारेन्टाइन मापदण्डअनुरूप नरहेको टोलीको निष्कर्ष छ । ‘क्वारेन्टाइनमा बसेकाहरू राति घरमै गएर सुत्ने गरेको समेत पाइयो,’ अनुगमनमा गएकामध्ये एक अधिवक्ता सुरेशकुमार गौतमले भन्नुभयो यस्तै पाराले समुदायमै कोरोना संक्रमण फैलिएको पक्का छ ।’

टोलीका अनुसार क्वारेन्टाइनमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने खतरा बढेर गएको छ । क्वारेन्टाइनमा सुत्ने, खाने, दिन बिताउने र मनोरन्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भीड लगाएर जानुपर्ने बाध्यता समेत रहेको गौतमले बताउनुभयो । ‘क्वारेन्टाइन व्यवस्थित नहुँदा भाग्नुपर्ने स्थितिसमेत आएको छ,स्वास्थ्यकर्मी पनि समयमै जाँचका लागि पुग्दैनन् यसले बिरामीमा थप नैराश्य थपिएको छ ।’

स्थानीय बासिन्दा क्वारेन्टाइनको लापरबाहीले आफूहरू पनि खतरामा परेको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू रातारात घर आउनेरजाने गर्छन्,’ स्थानीय रामानन्द शर्मा भन्छन्, ‘हामी गाउँका सबै जोखिममा छौं, अनुगमन गर्ने कोही छैन ।’ नरैनापुर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा शौचालय भए पनि क्वारेन्टाइनमा बस्नेले प्रयोग नगरेकाले समस्या थपिएको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू सुरक्षाकर्मीलाई टेर्दैनन्,’ उनले भने, ‘खेतमै शौचालय गर्ने बानी परेकाले लुकेर उतै जान्छन् ।’

आत्मघाती क्वारेन्टाइन 

कपिलवस्तुको मायादेवी गाउँपालिका–३, बड्की खैराटीका सुनिल रैदासलाई स्थानीय क्वारेन्टाइनमा पेट दुख्ने, पखाला लाग्ने र ज्वरो आउने भएर छट्पटिएको १२ घण्टाभन्दा बढी भयो । सोमबार दिउँसोसम्म उनी नेपाल राष्ट्रिय प्रावि क्वारेन्टाइननजिक रहेको रुखमुनि सहयोगका लागि हारगुहार गरिरहेका थिए । ‘तर उनको चित्कार कसैले सुनेनन्,’ उक्त क्वारेन्टाइनमा बसिरहेका बुधराम रैदासले भने, ‘कसरी उसलाई सहारा दिउँ ।’ सुनील दिल्लीबाट आएका हुन् । त्यसैले कोभिड–१९ संक्रमणको त्रास छ ।

आइतबार बिहानदेखि बिरामी उनलाई अपराह्न एकपटक सदरमुकाम तौलिहवा ल्याइएको थियो । डाक्टरले टाढैबाट हेरेर औषधि लेखिदिए र आइतबार राति ११ बजे फर्किए । तर, उनी सोमबार फेरि थलिएका छन् । सुनीलका बाबु अपांग छन् । आमा छैनन् । तनावमा क्वारेन्टाइनमा बस्नु परिरहेको बुधरामले बताए । ‘क्वारेन्टाइनमा रहेका ६० जना उनलाई टुलुटुलु हेरेर बस्न बाध्य छौं,’ उनले भने । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी छैनन् । त्यसैले उपचारका लागि सुनुवाइ गर्ने कोही छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार