अनलाइन बैठकको निष्कर्ष : मोबाइलको माध्यमबाट सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम प्रभावकारी बन्दै

विनोद महतो, धनुषा : लकडाउनको समयमा घरमै बसेर मोबाइल मार्फत पठाईने सन्देश र नजिकको घरधुरीमा सामाजिक दुरी कायम गर्दै गरिएको सहजीकरण प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यक्रमले समुदायमा सचेतना फैलिँदै गएको र सरसफाइको उपलब्धीहरु देखिन थालेको धनुषाधाम नगरपालिकाका वडा नं. ४ का पूर्ण सरसफाइ सहजकर्ता भुपेन्द्र मण्डलले बताउनुभयो ।

अहिले सो पालिकाको वडा नं.३, ४, ६, ८ र ९ मा पूर्ण सरसफाइ सहजकर्ताहरुले मोबाइलबाटै कुराकानी गरेर दिएको पूर्ण सरसफाइ सम्बन्धी सन्देश र प्रत्येक वडामा १०० घरधुरीमा गरिएको अपडेट तथा सर्वेक्षणको आधारमा समुदायबाट सकारात्मक जवाफहरु आउन थालेको अभियानका पालिका संयोजक ललिता यादवले बताउनुभयो । धनुषाधाम नगरपालिकामा पहिला चरण ५ सय घरधुरीमा पूर्ण सरसफाइका सन्देश प्रवाह गरी दैनिक रुपमा अपडेट गर्ने गरिएको र अर्को चरणमा फेरि ५ सय घरधुरीमा सन्देश दिन लागिएको संयोजक यादवको भनाइ छ ।


धनुषा जिल्ला खुल्ला दिसामुक्त घोषणा भए पश्चात जिल्लामा पूर्ण सरसफाइ अभियान कार्यक्रम सञ्चालन गरिरहेको समाज उत्थान युवा केन्द्र (सुयुक) का अभियानकर्मी कर्मचारीहरुको अनलाईन बैठकमा अभियान प्रभावकारी बन्दै गएको बताएका हुन् । अनलाईन मार्फत गरिएको अभियानकर्मी कर्मचारीहरुको भिडियो बैठकमा अहिलेको कोरोना भाइरसको महामारी र यसको संकटसँगै कसरी अभियानलाई गति दिने विषयमा छलफल गरिएको हो । छलफलको क्रममा कोरोना संकटसँगै अभियानले गति लिएको र पूर्ण सरसफाइका उपलब्धीहरु देखिन थालेको वडाका पूर्ण सरसफाइ सहजकर्ताहरुले बताएका थिए ।

दिनहुँको अपडेट र सन्देशले अहिले केही घरधुरीमा भाडा सुकाउने मचान, साबुन पानीले हात धुने ठाउँ, चर्पीको मर्मत सम्भार, पहिला भन्दा अहिले साबुन पानीले हात धुने बानी, पानी फिल्टर गरेर खाने लगायतको व्यवहार र आनीबानी चार गुणाले बढेको जनकनन्दनी गाउँपालिका वडा नं. ५ की पूर्ण सरसफाइ सहजकर्ता गीता कामतले बताउनुभयो । गाउँका मानिसहरु कोरोना भाइरसको सन्त्रासका बीच पनि पूर्ण सरसफाइकै माध्यमले यसको संक्रमणबाट बच्न सकिने सन्देश पाएपछि विना हिचकिचाहट साविकका व्यवहारमा परिवर्तन गर्न थालेको कुरा बैठकमा उहाँले सुनाउनुभयो ।

जि.एस.एफ. यू.एन. ह्याविट्याटको सहयोगमा समाज उत्थान युवा केन्द्र (सुयुक) ले जिल्लाको तीन वटा पालिका धनुषाधाम नगरपालिका, जनकनन्दनी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको १३ वटा वडामा वडा र पालिकाको अगुवाईमा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको अभियानका टिम लिडर सुजित कुमार मण्डलले बताए । अभियानको क्रममा घरधुरी सर्वेक्षणकै क्रममा रहँदा कोरोना भाइरसको संकट आइ परेकोले अहिले विशेष प्राथमिकताका साथ पूर्ण सरसफाइका सूचकहरु बाट समुदाय र घरपरिवारलाई सम्भावित संक्रमणको जोखिमबाट बचाउने उपायहरुबारे मोबाइलबाट सन्देश दिन थालेको टिम लिडर मण्डलको भनाइ छ । बैठकमा कार्यक्रम सञ्चालित सबै वडाका सरसफाइको अवस्था, घरधुरीको सरसफाइको प्रगति र सन्देशले आएको परिवर्तनबारे वडागत रुपमै छलफल गरिएको टिम लिडर मण्डलले जानकारी दिनुभयो ।

सुयुकका टिम लिडर सुजित कुमार मण्डलको प्रमुख उपस्थिति र यूएन ह्याविट्याटका जिल्ला संयोजक गोविन्द सुवेदीको विशेष उपस्थितिमा भएको बैठकमा अभियानकर्मीहरुले कोभिड १९ संक्रमणको बीचमा कार्यक्षेत्रमा भएको प्रगति, उपलब्धी र आगामी कार्य योजनाबारे पनि वृहत छलफल भएको थियो ।


बैठकमा सुयुकका कार्यक्रम संयोजक विनोद महतो, वास अफिसर टंक प्रसाद जोशी, पालिका संयोजकहरु महादेव पटेल, ललिता यादव, वडाका सरसफाइ सहजकर्ताहरु धनुषाधामबाट वडा नं. ३ की पूजा कर्ण, ४ का भुपेन्द्र मण्डल, ६ नन्दभुषण दास, ८ का सरोज यादव, ९ की चन्द्र बुलनको सहभागिता थियो । यस्तै जनकनन्दनी गाउँपालिकाको वडा नं. ४ बाट सिर्जना कार्की, ५ बाट गिता कामत, ६ बाट संदिव यादव र लक्ष्मीनियाँ गाउँपालिकाबाट वडा नं. १ बाट रोशन यादव, ६ बाट रामभरोस यादवको सहभागिता रहेको संस्थाले जनाएको छ ।

बैठककमा समापन हुँदै गर्दा सबै अभियानकर्मीहरुले अहिलेको कारोना संकटको समयमा अभियानलाई थप प्रविधीमैत्री बनाउँदै सुमदायलाई पूर्ण सरसफाइतर्फ अग्रसर गराइ राख्न थप उर्जाका साथ लाग्ने सामूहिक रुपमै प्रतिवद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार