५ करोड रुपैयाँ बराबरको ४६ वटा खानेपानी आयोजनाको काम ठप्प

जुम्ला : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जुम्लामा करिब ५ करोडका ४६ वटा खानेपानी आयोजना अलपत्र परेका छन् । लकडाउनका कारण गिट्टी, बालुवा, सिमेन्ट, लगायत निर्माण सामग्री आयात ठप्प हुँदा आयोजना अलपत्र परेको हो । लकडाउनका कारण खानेपानी सहित सिँचाइ, जलविद्युत, भवन, सडक लगायतका विभिन्न योजना समेत अन्यौलमा परेको छ । सरकारले वैशाख २६ गतेपछि शर्तहरु पालना गरी, सामाजिक तथा भौतिक दुरी कायम राखी विकास निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको थियो ।

आर्थिक बर्ष ०७६/७७ मा खानेपानी तथा सरसफाइ तर्फका कार्यक्रममा कर्णाली प्रदेश सरकारबाट जुम्लाका आठै वटा स्थानीय तहका लागि करिब ५ करोड लागतका ४६ वटा खानेपानी योजना स्वीकृत गरी पठाएको थियो । सोही अनुसार आठै तहमा उपभोक्ता समिति गठन गरी निर्माण कार्य पनि अगाडि बढिरहेको थियो । तर चैत ११ गतेदेखि जारी लकडाउनका कारण ५ करोडका ४६ खानेपानी योजना निर्माण प्रभावित भएका छन् ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका सबइन्जिनियर गणेश परियारका अनुसार तातोपानी गाउँपालिकामा ६८ लाख ९१ हजार लागतमा ७ योजना, कनकासुन्दरीमा १ करोड ४९ लाख ७ हजार लागतमा १४ योजना, पातारासीमा ६२ लाख लागतमा ४ योजना, सिंजामा ७३ लाख ५ हजार लागतमा ५ योजना निर्माण सामग्रीको अभावमा अलपत्र परेका छन् । यस्तै हिमामा ५ लाख ९३ हजार लागतमा २ योजना, तिलामा २८ लाख १५ हजारको लागतमा २ योजना र चन्दननाथ नगरपालिकामा ४१ लाख लागतमा ४ योजना गरी ४ करोड ६४ लाख ५६ हजार बराबरका ४६ खानेपानी योजनाको काम रोकिएको छ ।

कोरोना भाइरसको त्रासले गर्दा सबै योजना अहिले प्रभावित भएका छन् । सबइन्जिनियर परियारले भन्नुभयो, “जुम्लाका दुर्गम बस्तीका खानेपानी समस्या समधान गर्न प्रदेश सरकारले करोडौका योजना दिए पनि कोरोनाका कारण योजना निर्माण हुन सकेनन् । आगामी आर्थिक बर्षमा यी योजनालाई कसरी निरन्तरता दिने ? भन्ने बारे प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन जरुरी देखिन्छ ।”

जुम्लाका केही दुर्गम बस्ती अहिले पनि शुद्ध खानेपानीको पहुँचमा छैनन् । अत्यावश्यक मानिने खानेपानी पर्याप्त तथा शुद्ध नहुँदा ग्रामीण भेगका नागरिक खोलाकै दूषित पानी पिउन बाध्य छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन, “कोरोना निर्माण हुन नसकेका सबै खानेपानी योजना पुनर्निर्माण गर्नुपर्छ । लकडाउन खोल ेलगत्तै निर्माण थाल्ने गरी उपभोक्ता समिति तयारी हुनुपर्ने सुझाव दिए ।”

बन्न थालेका योजना लकडाउनका कारण निर्माण सामग्री र जनशक्ति अभावमा ठप्प छ । तर जुम्ला सदरमुकाम खलंगामा भने विगत दुई सातादेखि खानेपानीको समस्या छ । ठिन्के सडक निर्माणका क्रममा पाइप फुटेपछि खलंगामा खानेपानी समस्या भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार