लकडाउनकै बीचमा २६ घरमा एक घर एक धारा

स्याङ्जा : खानेपानीको अभाव झेल्दै आएका वालिङ नगरपालिका– १ धरमपानीका बासिन्दाका घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । नगरपालिका क्षेत्रमा पर्ने सबै घरमा धारा जडान गर्ने अभियान अन्तर्गत वालिङ नगरपालिका–१ धरमपानीका २६ घरमा खानेपानीको धारा जडान गरिएको हो ।

वालिङ नगरपालिका र स्थानीय उपभोक्ताको श्रमदान सहित बौरादी धरमपानी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि घर घरमै खानेपानी सुविधा पुगेको हो । वडाध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्लेका अनुसार वालिङ नगरपालिकाको २७ लाख ५२ हजार ९ सय ३६ र स्थानीय उपभोक्ताको ६ लाख ५ हजार ६ सय ४६ गरी कुल ३३ लाख ५८ हजार ५ सय ८२ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो ।

नगरमा शुद्ध खानेपानीको सहज आपूर्तिका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको लगानीमा आधा दर्जन बढी खानेपानीका योजनाहरू सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । नगरमा सञ्चालित साना, मझौला र बृहत् योजनाहरू मध्ये केही योजनाहरू सम्पन्न भइसकेका छन् भने केही योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेको छ ।

“बस्तीभन्दा झन्डै ५ सय मिटर तल रहेको मूलबाट विद्युत्को सहायतामा पानी तानेर बस्तीमाथि रहेको ट्यांकीमा संकलन गरिएको छ । ट्यांकीमा संकलन भएको पानी स्थानीयको आवश्यकता अनुसार घरघरमा धारा जडान गरेर वितरणको गरिएको छ ।” वालिङका इञ्जिनियर ध्रुब रेग्मीले भन्नुभयो । खानेपानीको धारा घरघरै जडान भएपछि पानीका लागि बस्ती भन्दा तल रहेको बौरादी मूलमा आधा घण्टा समय खर्चेर जानुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका सचिव मीरा काफ्लेले बताउनुभयो ।

“एक गाग्री पानीको जोहो गर्न कम्तमिा पनि आधाघण्टा समय छुट्टयाउनुपथ्र्यो कुवा, इनारमा गएर पालो पर्खनुपथ्र्यो । लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीका लागि घण्टौं हिँडेर आउजाउ गर्ने समयको समेत बचत भएको छ ।” सचिव काफ्लेले भन्नुभयो ।

खानेपानी योजना सञ्चालन र मर्मत गर्न धारा जडान गरिएका घरधुरीबाट मासिक रकम उठाउने गरेको उपभोक्ता समितिले जनाएको छ । पानीका लागि बस्ती भन्दा तल रहेको कुवा, इनारमा जानुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार