मैवलमा १ करोड लागतमा एक घर एक धारा

तनहुँ : तनहुँको भानु नगरपालिका–५ मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभूत खानेपानी आयोजनाको “एक घर एक धारा” बहुवर्षीय योजना अन्तर्गत रु एक करोडमा आयोजना निर्माण शुरु गरिएको खानेपानी उपभोक्ता समूहका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट पोखरीथोक, चैनपुर र गोठादीका ७० घरधुरी लाभान्वित हुनेछन् ।

लिफ्टिङ प्रविधिबाट पानी घर–घरमा वितरण गर्न १० र २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरिनेछ । वर्षौदेखि खानेपानीका लागि कुवामा जानुपर्ने बाध्यता रहेकाले आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी अशोक खत्रीले जानकारी दिनुभयो । आयोजना बनाउन स्थानीयवासीले श्रमदान गरेका छन् । यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ र ५ का सर्वसाधारणलाई खानेपानी सुविधा पुर्‍याउन गण्डकी प्रदेश सरकारको सहयोगमा खानेपानी आयोजना निर्माण शुरु भएको छ । उक्त ठाउँका तीन सय घरधुरीमा खानेपानी सुविधा पुर्‍याउन एक करोड ५० लाख रुपैयाँमा खानेपानी आयोजना निर्माण शुरु गरिएको चुनपहरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सुरज जोशीले जानकारी दिनुभयो ।

दुई वर्षमा निर्माण सक्ने गरी आयोजनाको काम थालिएको छ । घर–घरमा धारा नहुँदा यहाँका स्थानीयवासीले सार्वजनिक धारा र कुवा पंधेराबाट खानेपानीको जोहो गर्दै आइरहेका छन् ।

प्रदेश सरकारले घोषणा गरेको “एक घर एक धारा” कार्यक्रम अन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७ सय धारा निर्माण भई २ लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुर्‍याउने सरकारको लक्ष्य भएकाले खानेपानी योजना निर्माणका लागि दुई अर्ब ३९ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा प्रदेश सरकारको पहलमा एक घर एक धारा कार्यक्रमका लागि सङ्घीय सरकारले ३० करोड रुपैयाँ, आधारभूत खानेपानी पहुँच कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पुर्‍याउन निर्माणाधीन आयोजनालाई आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार