मेलम्ची सुरुङ्गको परिक्षण दुई हप्ता भित्रै

काठमाडौ : सरकारले मेलम्चीको पानी सुन्दरीजलमा खसाल्न सुरुङ्गको सञ्चालन परीक्षण कार्ययोजना तयार गरेको छ । मेलम्ची खानेपानी विकास समितले चालु आर्थिक बर्षको असार मसान्तभित्रै मेलम्चीको पानी सुन्दरीजलमा खसाल्न सुरुङ्गको सञ्चालन परीक्षण कार्ययोजना तयार गरेको जनाएको हो । त्यसका लागि सञ्चालन कार्यविधि (एसओपी) तयार गरेको छ भने सुरुङगको सञ्चालन परीक्षणको संरचना स्वीकृत गर्न निर्देशक समिति, अनुगमन समिति र स्थलगत कार्य समुह गठन गरेको छ ।

साथै, सुचना व्यवस्थापन तथा संप्रेषणको कार्ययोजना समेत तयार भइसकेको पनि समितिले जनाएको छ । सुन्दरीजलमा पानी झरे पनि काठमाडौंबासीको धारामा पानी पुग्न भने अझै दुई महिना भन्दा धेरै लाग्ने देखिएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको भौतिक कार्य असारभित्र सम्पन्न हुने र त्यसपश्चात तत्काल सुरुङ्ग पानी हालेर परीक्षण गर्न सुरु गरीने जानकारी दिए । उनले दुई महिना लगाएर सुरुङ्गको परिक्षण सम्पन्न भएपछि मात्रै वितरणका लागि बिछ्याइएको पाइपलाइन परीक्षण गरीने बताए ।

मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भईसकेपछि अहिले वितरण भईरहेको पुरानै प्रणालीबाट उपत्यकाका विभिन्न ठाउँहरुमा वितरण गर्ने र नयाँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले बताए । सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भईसकेपछि त्यही पानी सुरुवाती चरणमा पुरानै पाईपलाईन प्रणालीबाट वितरण गर्ने योजना रहेको बेल्वासेले बताए । उनले मेलम्चीको पानी पहिलो चरणमा अनामनगरवासीलाई वितरण गर्ने तयारी भएको पनि बताए । कारोबार दैनिकबाट साभार गरिएको ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको हालसम्मको समग्र प्रगति ९७ प्रतिशत भएको छ । जसमध्य सुरुङमार्ग निर्माणको काम १ प्रतिशत मात्रै बाँकी छ भने हेडवक्र्स निर्माणको काम अझै ३५ प्रतिशत बाँकी छ । पानी प्रशोधन केन्द्र र बैकल्पिक पथान्तरण प्रणालीको काम भने सम्पन्न भइसेको छ । सुरुङ्ग तथा पानी प्रसोधन केन्द्र बीचको जडान कार्य २ प्रतिशत मात्रै बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार