धमिलो पानी पिउनुपर्ने फिदिम ११ का बासिन्दाको बाध्यता हट्ने


पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नं. ११ का बासिन्दाले सुरुमा खानेपानीको समस्या झेल्दै आएका थिए । जब जलबर्ने खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भयो, त्यसपछि खानेपानीको अभाव त हट्यो तर बर्खामा भने सुरक्षित पानी पिउन पाएनन् । खानेपानीको मूलमा भलबाढी पसेपछि धमिलो पानी पिउनुपर्ने बाध्यताले उनीहरु हैरान भए ।

यो समस्या उपभोक्ता समितिको तर्फबाट अध्यक्ष योगेन्द्र न्यौपानेले सहयोगी संस्था हुसाडेक नेपाल धनकुटा समक्ष पेश गर्नुभयो । अध्यक्ष न्यौपाने भन्नुहुन्छ ‘सुरुमा त्यस्तो समस्या होला भनेर सोचिएन, बर्खाको समयमा खानेपानीको मूलमा भेल पसेर धमिलो हुने भयो । हामीले यो समस्या सहयोगी संस्थालाई दर्शायौं ।’

उपभोक्ता समितिको तर्फबाट आएको प्रस्तावलाई सहयोगी संस्थाले पनि सम्बन्धित निकाय अर्थात फण्डबोर्डसम्म पु¥याईसकेको छ । फण्डबोर्डका कार्यकारी निर्देशक स्वयं खानेपानीको अनुगमनका क्रममा जलबर्ने खानेपानी आयोजनामा पुगेको बेला भलको पानी रोक्ने संरचना निर्माणको लागि आवश्यक सहयोग गर्ने बचन दिएको हुसाडेक नेपालका टिम लिडर गुरुप्रसाद तिमम्सिनाले बताउनुभयो । ‘हामीले यो समस्या फण्ड बोर्डमा दर्शाइसकेका छौं । हाम्रो आयोजना क्षेत्रको भ्रमण गर्न आउनुभएको बेला बोर्डका कार्यकारी निर्देशकलाई समेत देखायौं, उहाँले पनि यसको सुनुवाई हुन्छ भन्नुभएको छ । सायद लकडाउन नभईदिएको भए यसको समस्या समाधान भईसक्थ्यो होला । हामी आशावादी छौं, यसको समाधान हुनेमा ।’ उहाँले भन्नुभयो ।

आफूहरुको समस्या समाधानका लागि केन्द्रबाट प्रयास भईरहेको भन्नेसम्म थाहा छ, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाई । बर्षातमा खानेपानीको मुहानमा भेल पस्ने समस्या समाधानको आश्वासन पाएपछि एक पटक सर्वेक्षणका लागि टोली समेत आएको जलबर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र न्यौपानेले बताउनुभयो ।

खानेपानी धमिलोपनाको समस्या हल हुन्छ : उप कार्यकारी निर्देशक मिश्र

कोष विकास समिति (फण्ड बोर्ड) का उपकार्यकारी निर्देशक सञ्जय कुमार मिश्रले पाँचथरको जलबर्ने खानेपानी तथा सरसफाइ आयोजनामा बर्खाको समयमा धमिलोपानी आउने समस्या चाँडै हल हुने बताउनुभयो । फण्ड बोर्डले विकास चरणमा छुटपुट भएका, डिजाइनमा समेट्न भूलबस छुटेका लगायत पक्षलाई समेटेर खानेपानी आयोजनालाई दिगोपना दिलाउन निर्माण पश्चातको चरणको व्यवस्था गरिएको र उक्त समस्यालाई यस चरण अन्तर्गत हल गरिने उहाँले बताउनुभयो ।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण मात्र ढिलाई भएको हो । उपभोक्ता समितिले सम्झौता गरेर उक्त काम अगाडि बढाउन सक्नुहुनेछ’ उपकार्यकारी निर्देशक मिश्रले भन्नुभयो ।

जलबर्ने खानेपानी तथा सरसफाइ आयोजनाबाट पाँचथरको फिदिम नगरपालिका वडा नं. ११ का ६९ घरपरिवार लाभान्वित भएका छन् । तर बर्खाको समयमा भने सुरक्षित खानेपानी पिउन वञ्चित उपभोक्ताले अब चाँडै सुरक्षित पानी पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार