गोगंबु क्षेत्रमा रिचार्ज काठमाडौंको अध्ययन सुरु, सोचेभन्दा बढी पानी पुनर्भरण


काठमाडौ : काठमाडौं महानगरपालिकाले आकासेपानी संकलन र पुनर्भरणका लागि नमुना कार्यक्रमका रुपमा गोंगबु क्षेत्रमा ३ वटा इनार बनाएर रिचार्ज गर्न थालेको छ । प्रारम्भिक अध्ययनबाट सोचेको भन्दा बढी पानी पुनर्भरण भएको र पछिल्लो वर्षमा जस्तो सहरी बाढी र ढलको समस्या नआएको स्थानीयबाट प्रतिक्रिया पाएको काठमाडौ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहित गर्ने उद्देश्यले गुथि र ह्याण्डमेड वाटरले संयुक्त रुपमा आयोजना गरेको वेबिनारमा उपाध्यक्ष बस्नेतले महानगरपालिकाले हरेक पार्कमा आकासेपानी रिचार्ज पिट बनाउने निर्णय गरेको समेत जानकारी गराउनुभयो । सर्वसाधारणले घर बनाउँदा रिचार्ज पिट बनाएमा केही सहुलियत दिने बारे जानकारी दिदै उहाँले यसका लागि ३ वर्षिय कार्ययोजना तयार भएको र उक्त कार्य यस पुस्ताका लागि भन्दा पनि पछिको पुस्ताको लागि निक्कै महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।

रिचार्ज काठमाडौको कार्यविधि तयार

महानगरपालिकाले रिचार्ज काठमाडौं कार्यक्रमको कार्यविधि समेत तयार पारेको छ । महानगरपालिकाले रिचार्ज काठमाडौं कार्यक्रमलाई नीतिमा समावेश गरी कार्यविधि समेत तयार पारिएको सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उपाध्यक्ष बस्नेतले भन्नुभयो ‘रिचार्ज काठमाडौको कार्यविधि तयार गरी विभिन्न चरणमा छलफल भइरहेको छ । आकासेपानी संकलन र पुनर्भरणका लागि सम्भावित क्षेत्रको पहिचान, खुला क्षेत्र र परम्परागत इनार, ढुङ्गधारा र पोखरीहरुको अभिलेखीकरण र नक्सामा समाबेस गर्न प्रयास गरिरहेका छौं ।’

‘काठमाडौंका धेरै जनतालाई आकासेपानी संकलन गर्ने विधि यसको गुणस्तर र प्रविधिबारे जानकारी नभएको, यो प्रविधि खर्चिलो तथा पुरानो घरमा जडान गर्न झन्झटिलो हुने धारणा रहेको र यसको निराकरणका लागि महानगरपालिकाले आकासेपानी संकलन तथा पुनर्भरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने सहभागीले बताएका छन् ।

काठमाडौं जस्तो पानीको समस्यासँग जुधिरहेको सहरको लागि वर्षायाम एक वरदान भन्दा कम छैन । आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो र यसको सही उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने गुथिका प्राविधिक सल्लाहकार तथा आकासेपानी संकलनका विज्ञ प्रकाश अमात्यले बताउनुभयो ।

काठमाडौं महानगरपालिका लगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले आकासेपानी रिचार्ज अभियान ल्याए तापनि नागरिक समक्ष पुग्न सकेका छैनन । अवका दिनमा नीतिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौ अभियानलाई व्यवहारिक र कार्यान्वयन तहमा लएर जान वडा स्तरिय समुदायमा आधारित भएर घरदैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नुपर्ने कुरामा अमात्यले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार