हिउँदमा पानीको दुःख हुन्छ ? आकाशेपानी संकलन गर्ने यही हो बेला

 238 पटक हेरिएको

काठमाडौ : हिउँदको समयमा खानेपानीको समस्या भोगिरहनु भएको छ भने आकाशेपानी संकलन गर्ने यो भन्दा उपयुक्त समय नहुन सक्छ । अहिले मनसुनको समय छ । बिगत दुईचार दिन यता झमझम् पानी परिरहेको छ । यही बेला मौका नछोप्ने हो भने फेरि विगत बर्षहरुमा जस्तै खानेपानीको चरम अभाव व्यहोर्नुपर्ने निश्चित छ ।

आकाशेपानी संकलनका लागि त्यत्ति गाह्रो छैन । हिजोआज आकाशेपानी संकलनकै क्षेत्रमा विभिन्न संघसंस्थाहरु क्रियाशील छन् । ती संघसंस्थाले आकाशेपानी संकलन गर्ने तरिका सिकाउने मात्र होइन, प्रविधि नै भित्र्याएका छन् । निभा रेनका निर्देशक नरेन्द्रमान डंगोलका अनुसार आकाशेपानी संकलन प्रविधिको जडान निकै सुलभ र सस्तो हुने बताउनुभयो । आकाशेपानी संकलन प्रविधि, यसको प्रशोधन गर्ने वायो स्याण्ड फिल्टर र फोहोर पानी प्रशोधन गर्ने प्रविधि आफ्नै घरमा जडान गर्दा सुरुमा २ लाख जति लगानी भए पनि ३ वर्षमा नै लगानी उठाउने सकिने उहाँको दाबी छ ।


यदि तपाईसँग आकाशेपानी संकलन सम्बन्धी ज्ञान छैन तर आकाशेपानी संकलन गर्नु छ भने बर्षातमा घरको छानोबाट जम्मा भएर झर्ने बलेसीलाई ठूलो आकारको ट्याङ्कीमा समेत जम्मा गर्न सकिने विज्ञहरु बताउँछन् । पानीको समस्यासँग जुधिरहेको सहरको लागि वर्षायाम वरदान भन्दा कम नभएकाले यस्तो अवसर खेर फाल्न नहुने गुथिका प्राविधिक सल्लाहकार तथा आकासेपानी संकलनका विज्ञ प्रकाश अमात्यले बताउनुभयो ।

पुर्व वातावरण तथा विज्ञानमन्त्री गणेश शाहले वर्षातको समयमा सडकमा बाढीले समस्या निम्त्याईरहेकाले यसको दिर्घकालीन समाधानका लागि आकासेपानी संकलन र जमिन पुनर्भरण गर्नुपर्ने बताउनुभयो । यसको लागि काठमाडौं महानरपालिकाले ल्याएको रिचार्ज काठमाडौंको नीति सबैमा आशा बनेको भएपनि धेरैलाई यसको बारेमा जानकारी नभएको बताउनुभयो । उहाँले सार्वजनिक विद्यालयहरुमा आकासेपानी संकलन र रिचार्ज प्रविधि जडान गरी अभिभावकहरुमा यस प्रविधि बारे जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो ।

आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो । यसको सही उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ । आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहित गर्ने उद्देश्यले गुथि र ह्याण्डमेड वाटरले केही दिन अघि आकासेपानी संकलन र पुनर्भरण सम्बन्धी जिज्ञासा र जवाफ शत्र सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार