काठमाडौंको परम्परागत पुनःभरण प्रणाली संसारकै उत्तम : डा. भट्टराई

 882 पटक हेरिएको


काठमाडौ : डा. चिरञ्जीवी भट्टराईले काठमाडौंको परम्परागत पुनःभरण प्रणाली संसारकै उत्तम भएपनि अन्धाधुन्द विकासका नाममा बनेका संरचनाहरुले पोखरी, कुलो, ढुङ्गेधारा सबै बिनास भएको बताउनुभएको छ । अन्डरग्राउण्डजग, पार्किङ्ग जस्ता संरचनाका कारण जमिन मुनिको पानी पुनःभरण हुने क्षेत्रमा अवरोध पुगेको उहाँको भनाइ छ । गुथिले आयोजना गरेको ‘आफ्नो क्षेत्र पुनःभरण गरौं’ बिषयक अनलाइन अन्तरक्रियामा उहाँले भन्नुभयो ‘हामी अब वितेको समयमा त जान सक्दैनौ तर सरकारद्वारा आकासेपानी संकलन र पुनःभरणलाई प्रोत्साहन दिन सक्छ र नयाँ संरचनामा आकासेपानी संकलन र पुनःभरण गर्नुपर्ने बाध्यकारी प्रावधान ल्याउनु पर्छ ।’

यस्तै आकासेपानी पुनःभरणमा सही अनुसन्धान हुनुपर्ने र जमिनको भु–विज्ञानलाई ध्यानमा राखी कुन ठाउँमा पुनःभरण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा विभिन्न सरकारी गैर सरकारी संस्था, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र महानगरपालिका बीच समन्वय गरी विश्लेषण हुन जरुरी रहेको डा. दिनेश मानन्धरले बताउनुभयो ।

कार्यक्रममा पाटनका ऐतिंहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले पुनःभरण गर्दा जमिनले कति पानी थेग्न सक्छ भन्ने विषयमा ध्यानमा राख्नुपर्ने बताउनुभयो । उहाँले सबै ठाउँमा पुनःभरण सम्भव नभएको र ग्राभेलमा पुनःभरण गर्दा धेरै पानी पुनःभरण हुने बताउनुभयो । ‘केही भुगोलमा पानी पुनःभरण सजिलै हुदैन । यसरी पानी पुनःभरण गर्दा जमिनको क्षमताको अध्ययन हुनुपर्छ र धेरै पानी पुनःभरण गर्दा जमिनको आउटलेट बारे पनि सोच्न जरुरी हुन्छ ।’ उहाँले भन्नुभयो ।

यस्तै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले भूमिगत पानी रिचार्ज अभियान ल्याए तापनि नागरिक समक्ष पुग्न नसक्नु दुर्भाग्य भएको बताउनुभयो । त्सैले अवका दिनमा नितिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई व्यवहारिक र कार्यान्वयन तहमा लिएर जान वडा स्तरिय समुदायमा आधारित भएर घरदैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार