थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी

काठमाडौ : खानेपानी मन्त्रालयका अनुसार सो आवमा कूल १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्याले मध्यम तथा उच्चस्तरको खानेपानी सेवा प्राप्त गरेका हुन् । यस्तै कूल २४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसङ्ख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा भएको समीक्षा बैठकमा मन्त्रालय मातहत विभिन्न निकायले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि सहभागी थिए ।

समीक्षा बैठकमा मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको सहसचिव अरुण सिंखडाले जानकारी दिनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी दिइएको थियो । खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासको भनाइ छ ।

मेलम्चीको प्रगति ९३ प्रतिशत

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।

त्यस्तै गत आवको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा गरी छ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्रसम्मको वितरण पाइप तथा वाग्मती नदीसम्मको वास आउट पाइप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताउनुभयो ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको बैठकमा जानकारी दिइयो । त्यस्तै काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको छ । आव २०७६÷७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये छ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् ।

तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० जनसङ्ख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनामध्ये चार सम्पन्न भई करिब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिनुभयो ।

त्यस्तै जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ३१ हजार ४४५ जनसङ्ख्या लाभान्वित भएको खानेपानी विभागको भनाइ छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको छ ।

मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति अन्तर्गत गत आवमा २३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार ७०४ जनसंख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताउनुभयो । समीक्षा बैठकमा खानेपानीमन्त्री मगरले खानेपानी तथा सरसफाइको क्षेत्रमा दीर्घकालीन कार्ययोजना तयार गरेर मन्त्रालय अघि बढेको बताउनुभयो । “गत आवमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्‍यौँ”, उहाँले भन्नुभयो, “चालु आव हाम्रा लागि चुनौती र अवसरको हुनेछ ।”

उहाँले मन्त्रालयको समग्र भौतिक प्रगति राम्रै भए पनि लक्ष्य पूरा गर्न अझै मेहनत गर्नुपर्ने र त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय गर्नु जरुरी रहेको बताउनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले औँ योजनाका लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखले अझै मेहनत गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव माधव बेल्बासेले गत आवमा राम्रो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर आफूहरु लागिपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार