मेलम्ची खानेपानीमा बदमासी गर्नेलाई सजायको सट्टा प्रोत्साहन

 495 पटक हेरिएको

काठमाडौ : पानी पठाएर परीक्षण गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका असार ३० गते भत्कियो । पानीले चार कर्मचारी बगाएकामा एक इन्जिनियरको मृत्यु भयो । एक कर्मचारी अझै बेपत्ता छन् । घटना छानबिनका लागि खानेपानी मन्त्रालयले समिति बनायो ।


छानबिनमा निर्माण व्यवसायी, परामर्शदाता र आयोजनाको लापरबाही भएको निष्कर्ष निकालियो । सुरुङमा ढोका नै उल्टो जडान गरेको निष्कर्ष छानबिन प्रतिवेदनले तयार पारेको छ । घटनामा न कोही दोषी भेटिए, न त कोही कारबाहीका भागीदार । बरु दोषीमाथि कारबाही गर्नुको साटो जसले सुरुङको ढोका नै उल्टो जडान गर्‍यो, उसैले अहिले ‘रि–डिजाइन’ गरेर निर्माण तालिका बनाउन सुरु गरेको छ । निर्माण कम्पनीले लकडाउनका कारण प्राविधिक ल्याउन नसक्दा दुर्घटना भएको प्रस्टीकरण दिएको छ ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार भारतीय निर्माण कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले काम सुरु गरिसकेको हो । यही कम्पनीले उल्टो ढोका जडान गर्दा दुर्घटना भएको हो । छानबिन प्रतिवेदनमा ढोकाको जडान उल्टो गरेको र प्राविधिक परामर्शबिना नै प्रेसिजन इन्फ्राटेकको लापरबाहीले नट–बोल्ट खुस्किएको प्रस्ट रूपमा उल्लेख छ । ‘अहिले कारबाहीभन्दा पनि काम गर्ने कुरा हो । निर्माण व्यवसायी र परामर्शदातालाई ‘डि–मोटिभेट’ गर्नु पनि भएन,’ खत्रीले भने, ‘उनीहरूले गल्ती भएको स्वीकार गरिसकेका छन् ।’

भौतिक र मानवीय क्षतिभन्दा आयोजनाको निर्माण महत्त्वपूर्ण रहेको ठहर गर्दै घटनाका दोषीलाई उन्मुक्ति पाउने निश्चित भएको स्रोतको दाबी छ । प्रतिवेदनमा लापरबाही गरेको उल्लेख भए पनि कारबाहीको कुनै प्रक्रिया सुरु नगरी ढोकाको डिजाइन र जडानका लागि सोही कम्पनीलाई जिम्मेवारी दिनुले घटनालाई सामान्यीकरण गर्न खोजिएको अनुमान आयोजना क्षेत्रबाट निर्वाचित सांसद शेरबहादुर तामाङले गरे । ‘घटना लगत्तै निष्पक्ष छानबिन र कसै न कसैले जिम्मेवारी लिनुपर्ने सुझाव दिएका हौं,’ उनले भने, ‘यस्ता हरेक घटनामा दोषी कोही नहुने हो भने भोलिका दिनमा लापरबाही बढ्ने खतरा छ ।’

आयोजनाको परामर्शदाताका रूपमा स्पेनको इप्टिसा बेट्स जेभी कम्पनी रहेको छ । आयोजनाको डिजाइन, जडान, अनुगमन लगायतका प्राविधिक विषयको ‘सुपरभिजन’ को जिम्मेवारी परामर्शदाताको हो । निर्माण कम्पनी प्रेसिजन इन्फ्राटेकले लकडाउनका कारण प्राविधिक रूपमा पर्याप्त सुपरभिजन नपुगेको स्पष्टीकरण सरकारलाई दिएको छ । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरूले घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका थिए । मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले सबै कामको जिम्मेवारी आयोजनालाई नै दिएको जानकारी दिए । ‘मन्त्रालयले अनुगमन मात्र गर्ने हो,’ उनले भने, ‘कार्यान्वयनको काम आयोजनाकै हो ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिवेदनमा सिन्धुपाल्चोकको हेलम्बु मुहानबाट ५० मिटर उचाइको पानीको प्रेसर थेग्न सक्ने डिजाइन गरिएकामा पानीको उचाइ १६ मिटरमा नै ढोका खुलेपछि गम्भीर त्रुटि भएको उल्लेख गरिएको छ । सहसचिव रमाकान्त दुवाडीको संयोजनमा हाइड्रोमेकानिक क्षेत्रका विज्ञहरूसमेत समावेश गरेर छानबिन समिति बनाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन र आयोजनाका अन्य कामको सम्बन्धमा छानबिन सुरु गरेको छ । घटनालगत्तै आयोगमा आयोजनाका सबै संरचनाको गुणस्तर जाँच गर्नुपर्ने मागसहितको उजुरी परेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले छानबिन सुरु भएको जानकारी दिए ।

हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ निर्माण १२ वर्षअघि सुरु भएको हो भने आयोजनाका लागि करिब २९ अर्ब खर्च भइसकेको छ । पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड र दोस्रो चरणमा स्थानीय याङ्ग्री र लार्के खोलाबाट क्रमशः १७/१७ करोड गरी दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ । दोस्रो चरणको निर्माणको डिजाइन तयार भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार