ट्युवेल बनेपछि वनकरिया हर्षित

मकवानपुर : खानेपानीको समस्या झेल्दै आएका मकवानपुरको मनहरी गाउँपालिका ४ मा बसोबास गर्दै आएका लोपोन्मुख जाति वनकरियावस्तीमा दश वटा ट्युवेल सञ्चालनमा आएपछि खुशी भएका छन् । खोल्साको पानी पर्याप्त नहुने र कुलोको पानी प्रदुषित भएपछि वनकारियाहरु पानीको समस्यामा थिए ।

आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह (आईडब्लुजीआईए) को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ मार्फत ट्युवेल निर्माण गरिएको हो । २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण गरिएको छ ।

ट्युवेलको मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काले आईतबार उद्घाटन गर्नुभयो । ट्युवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो । वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नबाट मुक्ती पाएको बताउनुभयो ।

यसैबीच कोरोना भाईरस (कोभिड–१९) का कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो ।

साथै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भुमी अधिकार सम्वन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजिकरण गर्नुभएको थियो ।

ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङ लगायत उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार