घरघरमा धारा जोडेपछि दोलखा झुलेका बासिन्दा दंग

दोलखा : ६८ वर्षीया जगमाया कार्कीले आफैंले धारा खोलेर पानी थाप्न जानिनन् । आँगनमै धारा बनेपछि खोलेर गाग्रीमा पानी भर्न नजानेकी ६८ वर्षीया कार्कीलाई प्राविधिकले धारा खोल्न र बन्द गर्न सिकाउनु पर्‍यो।

तामाकोशी गाउँपालिका–२, झुलेकी जगमायाको घरमा पहिलोपटक धारा जडान हुँदा उनले खोल्न र बन्द गर्न समेत जानिन् । उनले भनिन्, ‘यो उमेरमा आएर आँगनमै धारा आइपुग्यो, ढुंगेधारामा पानी भरिरहेको बानी यो त खोल्नु नी पर्ने बन्द नि गर्नुपर्ने झन्झट नै रहेछ ।’

दुई कान्लो माथिको घरसम्म वर्षौअघि पाइपबाट पानी आइपुगे पनि आफ्नो घरमा कसैले धारा नजोडिएको उनको गुनासो थियो ।स्वीस सरकारको सहयोगमा २०४१ सालतिर बनेको खानेपानी बाहेक ३५ वर्षपछि सो गाउँमा मिटरसहित प्रतिघर एकधारा जडान भएको छ ।

६ सन्तानकी आमा ६८ वर्षीया कार्कीको घरमा २४ नम्बरको धारा जडान भएपछि भनिन्, ‘के जवाना आयो, बत्तीको पो मिटर हुन्थ्यो अहिले त पानीको पनि पो मिटर देखियो ।’ सामुदायिक विकास मञ्च नेपाल, तामाकोशी गाउँपालिका र स्थानीयहरुको साझेदारीमा ५६२ जना प्रत्यक्ष लाभान्वित हुनेगरी मिटर जडित ९६ वटा धारा बनेको छ ।

झुलेको खरिढुङ्गा, डाँडागाउँ, भीरमुनी, पाँचघरे, ओख्रेनी र हल्लेनीडाँडाको प्रत्येक घरमा धारा छ र धारामा मिटर जोडिएको छ । ‘पानीको जोहो गर्न मिटर राखिएको रे’ झुले खरीढुङ्गाकी तारा थापाले भनिन्, ‘मिटर देखेपछि पैसा कति उठ्ने हो भन्ने डरले अनावश्यक पानी चलाउ नै मन लाग्दैन रै छ ।’ स्थानीय हेमकुमारी कार्की विगतमा पानीको लागि एक बिहान बिताउनु पर्नेमा अहिले घरमै मिटरसहितको धारा जोडिएकाले पानीको लागि निक्कै सहज भएको बताइन् ।

झुलेमा खानेपानीको समस्या भएकोमध्ये ६ वटा टोल बस्तीमा संस्थाको परियोजनाअन्र्तगत मिटरसहितको धारा निर्माण गरिदिएको सामुदायिक विकास मञ्च नेपालका अध्यक्ष राजु थापाले बताए । तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पनि मिटरसहितको धारा निर्माण गर्दा उभोक्ताहरु पानीको उपभोगमा निक्कै सचेत देखिएको बताए ।

जयको धारा र पारीपाखा खानेपानी तथा सरसफाई आयोजना गरी दुईवटा मुहानको पानी जम्मा गरी व्यवस्थित रुपमा वितरण गर्न ८ वटा ट्याङ्की निर्माण भएका छन् । एकीकृत वास जलवायु अनुकुलन र विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्र्तगत सामुदायिक विकास मञ्च नेपालको ३९ लाख ६५ हजार, उपभोक्ताहरुको ५ लाख १३ हजार र तामाकोसी गाउँपालिकाको ३ लाख गरी ४७ लाख ७९ हजारको लागतमा निर्माण भएका ९६ घरधुरीमा जोडिएका धारामा स्थानीयले डेढ महिनादेखि पानीको उपभोग गरिरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरिएको ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार