खानेपानी मुहान नजिकै भेटिए ११ वटा मरेका गाई

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ६, मुणेलीधारको जंगलमा पानीको मुहान नजिकै ११ वटा गाई मृत अवस्थामा भेटिएका छन् । पुर्चौडी नगरपालिका ६ को सिगास सामुदायिक वन क्षेत्रमा भेरीखोला पानीको मुहानमा गाई मृत अवस्थामा भेटिएको वडा अध्यक्ष जगी साउदले जानकारी दिनुभयो । ७०/८० घरधुरी र एउटा बिद्यालयको लागि खानेपानी आपूर्ति भईरहेको पानीको मुहानमा फालिएका मृत गाईले स्वास्थ्य समस्या आउने सक्ने भयले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

पुर्चौडी नगरपालिकाको ५ कुवाकोट स्थायी घर भएका सुरेश पार्की र लक्ष्मण पार्कीले ताकलाकोट पुर्‍याउने सहमतिमा पाटन नगरपालिकाबाट ३४ वटा गाई लिएर गएको बुझिएको छ । पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले उनीहरुलाई प्रति गाई २ हजार रुपैयाँ दिएर छाडा गाई व्यवस्थापन गर्न लगाईएको बताउनुभयो ।

रकम लिएर पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले नै टिप्परबाट ती गाईलाई खोलामा खसालेको आशंका गरिएको छ । पाटन नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्ने भनेर पुर्चौडी पठाएको भन्ने सम्म जानकारी आएको तर एकिन नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार