पहाडमा पनि डिपबोरिङ मार्फत घरघरमा खानेपानी सेवा

इलाम : पहाडी जिल्ला इलामको इलाम नगरपालिका–११ सोयाकमा डिपबोरिङ मार्फत घरघरमा पानी वितरण गरिने भएको छ । इलाम नगरपालिकाले २ करोड बढी लगानी गरेर एक सय २३ मिटरको गहिराईबाट बोरिङ गरी पानी निकालिएको हो। खानेपानीबाट सोयाकका करिब सय घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी नभएर विस्थापित भएका सो क्षेत्रका बासिन्दा पानी आउने खबरले पुनःस्थापना हुन थालेका छन् ।स्थानीय नरेन्द्रप्रसाद आचार्य बेंसीमा पानी भएकै ठाउँमा बसाइँ सरेर गएको भए पनि अहिले पहिलाकै ठाउँमा आएर बस्न थाल्नुभएके छ । उहाँले लामो समयपछि आफ्नै थात्थलोमा फर्किएको बताउनुभयो ।

यस्तै जीवन पानी बोकेरै बित्ने भो भनेर हरेश खाईसकेकी स्थानीय टीका पराजुली समेत पानी आउने खबरसँगै खुसी हुनुभएको छ । इलाम नगरपालिकाले डिपबोरिङ र स्थानीय मुहानको पानी लिफ्टिङ गरेर वितरणको व्यवस्था गरेकाले सिंगो गाउँमा खुसीयाली छाएको छ । पानीकै अभावमा यस गाउँबाट एक दर्जन धेरै झापा तथा अन्य क्षेत्रमा बसाइँ गएका छन् । ठूलाठूला टारबारी अनि झापा जोड्ने सडक पनि गाउबीचबाट खुलेको छ । यही बेला पिउने पानीको पनि समाधान भएकाले यस क्षेत्रका बासिन्दा अब बसाइँ सर्ने सोचमा छैनन् ।

गाउँको प्रमुख समस्या नै खानेपानी रहेपनि अब सो समस्या हट्ने वडाध्यक्ष रविन एक्तेनले बताउनुभयो। उहाँले लामो संघर्षपछि समस्या समाधान भएकाले अब गाउँले मुहार फेर्न समय नलाग्ने बताउनुभयो। नगर प्रमुख महेश बस्नेतले भने खानेपानीको दिगोरूपमा समस्या समाधान भएकाले यो वडामा अब अन्य विकास निर्माणका कामलाई गति दिने बताउनुभयो। पानीकै अभावले बसाइँ सर्नुपर्ने बाध्यताको अब अन्त्य भएको उहाँको भनाइ थियो।

एक लाख ६० हजार लिटर पानी जम्मा गर्ने गरी बनेका ३ वटा ठूला ट्यांकी रहेको यो आयोजनाबाट १ सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
बोरिङमार्फत कुनै कारण पानी आउन नसके अर्को मुहानको पानीले अभाव टार्न सकिने नगरपालिकाका इन्जिनियर दीपक गुरागांईले बताउनुभयो । उहाँले अन्य मुहानबाट पनि पानी ल्याएर ट्यांकी मार्फत वितरण गर्न सकिने व्यवस्था मिलाइएको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार