खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित राम्चेका ५२ घर स्थानीय बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारा सञ्चालनमा ल्याइएको छ । क्रिश्चियन एडको रु २५ लाख र नगरपालिकाको रु आठ लाख लगानीमा राम्चेका प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हो ।
करिब डेढ किलोमिटर टाढा पर्ने पात्लेखोला मुहानबाट ल्याइएको खानेपानी आयोजनामा उपभोक्ताको १५ प्रतिशत श्रमदान रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताए । “मुहानबाट एक हजार ६०० मिटर वर ४६ हजार लिटरको रिर्जभ ट्याङ्की निर्माण गरिएको छ”, उनले भने, “रिजर्भ ट्याङ्कीबाट राम्चेका ५२ घर स्थानीय उपभोक्ताको प्रत्येक घरमा एक÷एक वटा खानेपानीको धारा जडान गरेर सञ्चालनमा ल्याइएको छ ।”
बालसेवा समाज नेपाल नेर्पाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको खानेपानी आयोजनामार्फत घरघरमा धारा जडान भएपछि उपभोक्ता हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका राम्चेका स्थानीय उपभोक्ता नगरपालिका र क्रिश्चियन एडको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजनामार्फत आआफ्नो घरमा खानेपानीको धारा वितरण भएपछि हर्षित भएका हुन् ।
खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बुईपास्थित राम्चेमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारले साँगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए । क्रिश्चियन एडले राम्चेका ४६ घर उपभोक्तालाई पानी जम्मा गर्ने हिलट्याङ्कीसमेत वितरण गरेको छ । राम्चेका स्थानीय बासिन्दालाई तरकारीबालीमा अग्रसर गराउने उद्देश्यले प्रतिघर परिवारलाई ५०० मिटरको पाटी ट्याङ्की वितरण गरेको हो ।