पानीले तिर्खा धायो, नदीको पानी आँगनमै उक्लियो

खोटाङ : एउटा उखान छ ‘‘तिर्खाले धाउँछ कि पानीले ?’’ उखानको सार हो, पानीको समस्या भएमा आफैले पानीको जोहो गर्नुपर्छ । तिर्खा लाग्यो भन्दैमा पानी टुप्लुक्क आउँदैन । तर सबैको प्रयासबाट खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा खोलाले नै तिर्खा धाएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा सुनकोसीको पानी गाउँमा चढाएपछि त्यहाँका ६२ घरपरिवार लाभान्वित भएका हुन् ।रसुवाघाट–कालापानी खानेपानी आयोजनाको केही दिन अघि मात्र कांग्रेस महाधिबेसन प्रतिनिधि एबं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले उदघाटन गर्नुभयो ।

आयोजना सम्पन्न भएको वर्ष दिनपछि उदघाटन गरिएको हो। सुनकोसीको पानी लिफ्ट गरेर कालापानीमा निकाल्नका लागि सुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजना स्वयं राईले २०७२ साल चैत्र ११ गते शिलान्यास गर्नुभएको थियो । खानेपानी २०७६ साल पुस २४ गतेदेखि निरन्तर वितरण भइरहेको रसुवाघाट–कालापानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो ।

खानेपानी मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी करिब १ करोड ८० लाखमा रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । सुनकोसीको रसुवाघाटबाट करिब १८ सय मिटरमाथि रहेको गाउँमा लिफ्ट गरेर पानी चढाएपछि स्थानीबासिन्दाले पानीको समस्या भोग्नु परेको छैन । नदीको पानी आँगनको धारामै आइपुगेपछि घण्टौ समय लगाएर कुवा तथा खोलाको पानी ल्याउनुपर्ने बाध्यता हटेको छ ।

इन्द्रेणी पोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११५ घरपरिवारलाई घण्टौँ धाएर पानीको जोहो गर्नुपर्ने बाध्यता थियो । गाउँ र नदीको बीचमा निर्माण गरिएको पहिलो र दोश्रो सप्लाई ट्यांकी हुँदै सबैभन्दा उच्च ठाउँमा बनाएको मूल ट्यांकीमा नदीको पानी जम्मा गरेर ९७ धारा मार्फत ५ सयभन्दा बढी उपभोक्तालाई वितरण गर्ने लक्ष्य भएपनि दर्जनौं घरपरिवार खानेपानी अभावमा बसाइ सरिसकेकाले निर्धारित धारा वितरण नभएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार