सरसफाइको हालखबर बुझ्दै घर घर चाहर्ने हेड मास्टर

विद्यालयका प्रधानाध्यापकको डायरीमा गाउँभरिका मानिसहरुको नाम, शौचालयको अवस्था र स्तर समेत टिपोट गरिएको हुन्छ । कसको घरमा सुरक्षित चर्पी छ, कसको घरमा चर्पीको स्तरोन्नति गर्नुपर्ने छ ? कुन घरका मानिसहरुले कहाँको पानी पिउँछन् ? पानी पिउँदा शुद्धीकरण गरेर वा नगरी पिउँछन् ? त्यहाँ सम्मको जानकारी पनि प्रधानाध्यापक आफैले राखेका हुन्छन् ।

विद्यालयसँगै विद्यालय सेवाक्षेत्र भित्रको समुदायको सरसफाइको अवस्थाबारे अद्यावधिक रहने प्रधानाध्यापक हुनुहुन्छ, भगवती माध्यमिक विद्यालय, भूमिकास्थान–९ डेभा अर्घाखाँचीका प्रधानाध्यापक कृष्ण खनाल । यी सबै अवस्था बुझ्न उहाँ आफै अभिभावकको घरसम्म पुग्नुहुन्छ । कहिले बाल क्लबका सदस्यहरु त कहिले विद्यालयकै शिक्षक शिक्षिका सँगै खनाल घर–घरमा पुग्न सघाउँछन् । विद्यार्थीको व्यक्तिगत सरसफाइ मात्र नभई घरायसी तथा वातावरणीय सरसफाइको समेत विशेष ख्याल राख्ने हेड सर खनाललाई कार्यालयको कुर्सीमा भन्दा गाउँघरमै भेट्न सजिलो हुने अभिभावकहरु बताउँछन् ।

आफूलाई पनि कार्यकक्ष भन्दा बालबालिकाहरुको घर गाउँ नै प्यारो लाग्ने भनाइ छ, प्रधानाध्यापक खनालको । “कुर्सीमा बस्ने योजना बनाउनका लागि हो, पढाइ कक्षा कोठामा र सिकाइ त समुदायमा पुगेर नै हुन्छ”, खनाल भन्नुहुन्छ, “हामीले विद्यालय मार्फत गरेको प्रयास कत्तिको सफल भएछ भनेर हेर्ने त समुदायमा नै हो”, खनालको बुझाइ छ । अभिभावकसँग सरसफाइको विषयमा कुराकानी गर्दा घरमा बालबालिकाको शैक्षिक वातावरण र सामाजिक आर्थिक अवस्था समेत बुझ्न पाएको प्रधानाध्यापक खनालले बताउनुभयो ।


प्रधानाध्यापक आफै विद्यार्थीको घरघरमा पुग्न थालेपछि समुदाय र विद्यालय बीचको सम्बन्ध समेत मजबुत भएको छ । “यो भन्दा अगाडि जुन सुकै कार्यक्रम लिएर गए पनि सबै घरमा पुग्न त सकिदैन थियो । सरसफाइले गर्दा मात्र हामी अभिभावकहरुसँग भेट्न पायौं, उहाँहरुको पारिवारिक सामाजिक पृष्ठभूमि पनि थाहा भयो”, प्रधानाध्यापक खनाल भन्नुहुन्छ “अभिभावकहरुलाई विद्यालयमा बोलाउँदा पनि आउन सक्नुहुन्न थियो । अभिभावककै घरमा शिक्षक र विद्यार्थी पुग्दा चाहिं कोही लज्जित भएजस्तो भए पनि धेरैजसो खुसी हुनुभयो, अहिले विद्यालय र समुदायको सम्बन्ध पनि राम्रो छ ।”

यू.एन. ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोग एवम् प्रकाश सचेतन समूह (प्राग) को सहजीकरणमा सञ्चालित ‘मेरो विद्यालय सहयोग कार्यक्रम’ ले विद्यालयलाई समुदायको सरसफाइको अवस्था बुझ्ने मौका जुरायो । विद्यार्थीहरु सँगसँगै गाउँ टोल, प्रत्येक घर परिवारको सरसफाइको स्थिति, आनीबानी के छ, विद्यार्थीहरुलाई मूल्याङ्कन गर्न लगाएर सफा र स्वच्छ क्षेत्रका सूचक पूरा भएको घरका लागि हरियो झण्डा राख्ने र सरसफाइमा सुधार गर्नुपर्ने भएमा छलफल गरी समयसीमा तोक्ने र अनुगमन गरिरहने गरेको प्रधानाध्यापक खनाल बताउनुहुन्छ ।

“पढाउने समयमा कहाँ विद्यार्थीलाई गाउँ डुलाउँदै हिडेका ?” सुरुका दिनमा खनालले सामना गर्नुपरेको प्रश्न हो यो । “यो पनि पढाइ हो सिकाइ हो, किताबमा भएको कुरा मात्र पढाएर हुँदैन । व्यवहारिक ज्ञान पनि दिलाउनुपर्छ । सामाजिक कामका बारेमा पनि विद्यार्थीले जान्नुपर्छ । यो पनि पाठ्क्रमभित्रै पर्छ”, अभिभावकको प्रश्नको जवाफ आफूले हाँसी हाँसी दिएको र क्रमशः पूर्ण सरसफाइ अभियानमा समुदायले बुझ्दै जाँदा अहिले आफूहरुको प्रयास सार्थक भएको उहाँको भनाइ छ ।


विद्यालय सेवा क्षेत्रमा सरसफाइको बिषयलाई लिएर प्रधानाध्यापककै नेतृत्वमा पटक पटक शिक्षक, विद्यार्थी गएर सम्झाएपछि सरसफाइमा सुधार भएको मात्र होइन, यसले अभिभावकहरुलाई समेत विद्यालयप्रति उब्जेका कुराहरु भन्ने खुल्ला अवसर पनि प्रदान गरेको छ । प्रधानाध्यापक खनाल भन्नुहुन्छ, “अभिभावकहरुका गुनासाहरु हुन्छन्, हामी सँगै बसेर सुन्छौं, विकास साझेदार र सहजीकरण गर्ने संस्थाका सहजकर्ताहरुले समेत घरदैलो, छलफल, योजना बनाउने काम र प्राविधिक विषयमा सहयोग गर्नुहुन्छ । पूर्ण सरसफाइको माध्यमबाट जीवनमा पर्ने सकारात्मक प्रभावको नतिजा देख्न थालेपछि अहिले अभिभावकहरु समेत सक्रिय बन्नुभएको छ ।”


‘मेरो विद्यालय सहयोग कार्यक्रम’बाटै भगवती माध्यमिक विद्यालयमा सुरक्षित खानेपानीको सुविधा, विद्यार्थीको उचाइ अनुसारको हात धुने र पानी पिउने धारा, स्यानिटरी प्याड व्यवस्थापन गर्ने सुविधा सहितको छात्रामैत्री शौचालय तथा फूलको बगैंचा र हरियाली वातावरण निर्माण भएको छ ।
प्रधानाध्यापक खनाल भन्नुहुन्छ, “विद्यालयमा २४ घण्टा नै पानी आए पनि त्यो चुनढुंगा मिसिएको थियो । अहिले बायोस्याण्ड फिल्टर जडान गरिएको छ । विद्यालयमा सरसफाइ गर्ने बालक्लव, महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूह, सरसफाइ उपसमिति बनेका छन् । विद्यालयको जेण्डर फोकल शिक्षिकालाई सरसफाइ समितिको समेत फोकल पर्सन तोकिएको छ । छात्रछात्रा शौचालय, स्यानिटरी प्याडको व्यवस्थापन, हात धुने ठाउँको व्यवस्थापन, पिउने पानीको व्यवस्थापन, चमेना गृहमा पनि सुरक्षित पानीको व्यवस्था गरिएको छ ।”


विश्वभरि फैलिएको कोरोना महामारीका कारण लामो समयसम्म शिक्षक र विद्यार्थीले सामुहिक रुपमा समुदायको भ्रमण गर्न पाउनुभएन, जुन अहिले फेरि सुरु गरिएको छ । अब टोल स्तरीय सरसफाइ समितिहरुसँग महिनाको एक पटक सरसफाइको बारेमा समीक्षा गर्ने, सरसफाइका लागि टोल समिति र विद्यालयबीच सहयोग आदानप्रदान गर्ने विद्यालयको योजना रहेको प्रधानाध्यपक खनालले बताउनुभयो ।

नेपाल सरकारले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि जारी गरी विद्यालय सरसफाइका सूचक, स्तर र प्रक्रिया निर्धारण गरिसकेको छ । सोही मापदण्ड अनुसार सबैभन्दा माथिल्लो तहका सूचक पूरा गर्ने लक्ष्य विद्यायले लिएको छ । “हाम्रो उद्धेश्य त यसै वर्ष सबैभन्दा राम्रो तीन ताराको स्तर प्रमाणीकरण नै गर्ने थियो”, खनाल भन्नुहुन्छ, “लामो समय विद्यालय बन्द रहेकोले थप काम गर्न पाइएन, आउँदो वर्षको सुरुमै स्तर प्रमाणीकरण गर्ने योजना रहेको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार