लेखनाथमा खानेपानीका लागि १ अर्ब खर्च, थप एक करोड आवश्यक पर्ने

पोखरा : पोखरा महानगरपालिका–३० खुदीस्थित लेखनाथ साना सहरी खानेपानीको गुणस्तर सुधार र क्षमता अभिवृद्धिको लागि थप १ करोड रुपैयाँ लाग्ने भएको छ । २०६२ सालदेखि सञ्चालन भएको परियोजनामा हालसम्म करिब एक अर्ब रुपैयाँ लगानी भइसकेको लेखनाथ साना सहरी खानेपानी संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो । पानीको मुहानदेखि मानिसको मुखसम्म शुद्ध खानेपानी अभियान सञ्चालन गर्न र क्षमता अभिवृद्धि गर्न थप १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

एक अर्बको यस परियोजनामा १० प्रतिशत संस्थाको लगानी हुने, जलवायु अनुकुलन परियोजनाबाट थप १० प्रतिशत र बाँकी रकम नेपाल सरकारबाट सहयोग प्राप्त हुने विश्वास लिइएको बरालले बताए । उनले परियोजनाको सर्वेक्षण भइ हाल डीपीआर बन्ने चरणमा रहेको बताए । “एक जनालाई दैनिक एक सय लिटर पानी उपलब्ध गराउने लक्ष्य समेत राखिएको छ,” उहाँले भन्नुभयो ।

बाह्रै महिना शुद्ध खानेपानी आपूर्ति गर्ने लक्ष्यका साथ गुणस्तर सुधारमा ध्यान दिइएको हो । अझै पनि वर्षात्को समयमा शुद्ध पानी वितरण गर्न चुनौती रहेकाले अभियान नै सञ्चालन गर्न लागिएको हो । पानीको मुहानदेखि शुद्धीकरण गर्ने र लप्सिडाँडामा समेत थप शुद्धीकरणसहित पानीको परिक्षण गरी घर घरमा पानी बितरण भइरहेको छ ।

हाल उपलब्ध गराएको पानी अपुग भएकोले थप प्रतिसेकेण्डमा एक सय लिटर पानी वितरण गर्ने योजना अघि बढाएको छ । हाल करिब प्रतिसेकेण्ड ५० लिटर पानी उपलब्ध गराउदै आएको आयोजनाले साविक लेखनाथमा बस्ती विकास बढेसँगै उपभोक्ताको मागको आधारमा उक्त परियोजना सञ्चालन गर्न लागिएको बरालले बताउनुभयो । उक्त परियोजनाको पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडाका करिब ६२ हजार ३ सय २० जना उपभोक्ता छन् ।

हाल पोखरा २० र कास्कीको मादी गाउँपालिका–७ को सिमानामा पर्ने गिउजे खोलादेखि करिब १३ किलोमिटर टाढाबाट पोेखरा २६ को लप्सिडाँडाको रिजर्भ ट्याङ्कीमा पुर्‍याइएको उहाँले जानकारी दिनुभयो । उक्त खोलाबाट हाल प्रतिसेकेण्ड ४८.९ लिटर पानी लगिएको अध्यक्ष बरालले बताउनुभयो । “हामीले दीर्घकालिन रूपमा पोखराका ६ वटा वडालाई समेटेर शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले हालको परियोजनामा पानी करिब दोब्बरले बृद्धि गर्न खोजेका हौं, यसको लागि खानेपानी विभाग देखिका अन्य निकायमा यसको लागि हाल पहल भइरहेको छ ।” उहाँले भन्नुभयो । संस्थामा हाल १६ करोड बचत छ भने करिब ४ करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार