दूर्गम गाउँका सरसफाइ र सामाजिक रुपान्तरणको रत्न

 4341 पटक हेरिएको
🔗
101
Shares

मोरङको साविक डाँगिहाट गाविस (हाल बेलबारी नगरपालिका) मा बुहारी बनेर भित्रिंदा रत्ना खवासको घरमा साबुन पानीले हात धुने स्थान व्यवस्थित थिएन । उहाँको घरमा मात्र होइन, गाउँभरि नै सरसफाइको अवस्था निकै कमजोर थियो । “आजभन्दा ५२ वर्षअघि बुहारी बनेर डाँगिहाटमा भित्रिंदा यहाँको सामाजिक अवस्था हेरेर निकै झट्का लागेको थियो”, खवास सम्झिनुहुन्छ, “कुनै घरमा पनि चर्पी थिएन ।”

पहाडी बस्तीको सम्पन्न परिवारमा जन्मिनुभएकी रत्ना अन्तरजातीय विवाह गरेर डाँगिहाट आउनुभएको थियो । “सबैजसो घरमा बंगुर सुंगुर छाडा रुपमा पाल्ने चलन थियो, जहाँसुकै मानिसको दिसा र सुंगुर बंगुरको लादी हुन्थ्यो”, रत्ना सम्झनुहुन्छ, “सामाजिक विषयहरुमा निर्णय लिनुपर्दा पञ्च भलाद्मीकै हालिमुहाली थियो, महिलाको आवाजको सुनुवाइ नै हुँदैनथ्यो ।”

त्यस अवस्थामा सामाजिक सुधारको अभियान कहाँबाट थाल्ने, उहाँलाई द्विविध हुन्थ्यो । ठूला सवाललाई एकैचोटी उठाउन खोज्दा समुदायमा सफल होइँदैन कि भन्ने चिन्ता, फरक समुदायबाट आएको हुनाले समुदायका सबैले साथ देलान् कि नदेलान् भन्ने पनि डर । “सिंगो जिन्दगी यहीं बिताउनुपर्ने भएपछि सुधारको काम सरसफाइबाटै थालनी गर्नुपर्छ भन्ने लाग्यो”, उहाँ भन्नुहुन्छ, “त्यसैले, महिलालाई खुलामा दिसा गर्न जाँदा आइपर्ने समस्यामा केन्द्रित भएर महिलाको इज्जतका लागि चर्पी र सरसफाइ अभियान थालनी गरें ।”

धरानमा जन्मिएकी रत्ना स्कूले शिक्षा पूरा गर्ने त्यस क्षेत्रकी पहिलो महिला भएको बताउनुहुन्छ । फलामे ढोकाको रुपमा लिइने एस.एल.सी. परीक्षा पास गरेपछि उहाँले काली माध्यमिक विद्यालयमा शिक्षण गर्ने मौका पाउनुभयो, सोही बेला खवास परिवारमा जन्मिएर पनि समुदायका चल्तापूर्जा कामीलाल खवाससँग उहाँको प्रेम विवाह भयो ।

घरमा आएपछि उहाँको शिक्षण पेशा धरापमा पर्‍यो । शिक्षण पेशामात्र होइन, घरबाहिर जान पनि पितृसत्ताका खरो समर्थक ससुराले सहजै स्वीकृति दिनुहुँदैनथ्यो । आफ्नो जन्मघरमा फर्किएर जाने ढोका बन्द भएको उहाँलाई लाग्यो । “माइतीको स्वीकृतिविना अन्तरजातीय विवाह गरेर आएकी थिएँ, त्यसैले माइतीमा सहजै फर्किन सकिने अवस्था थिएन”, उहाँ भन्नुहुन्छ, “जसरी पनि संघर्ष गरेरै यही समुदायमा आफ्नो स्थान बनाउनुपर्ने थियो ।”

महिलाको इज्जत, आत्मसम्मान र सुरक्षाको सवाल उठाएकोले केही महिलाको साथ पाउनुभयो, तर केही उहाँलाई साथ दिन डराए । “पुरुषले बोलेको कुरा कसले काट्न सक्थ्यो र ?”, थालनीका दिनको संघर्षलाई रत्ना सम्झनुहुन्छ, “त्यसबेला सीमित छोरी बुहारीहरुले मलाई साथ दिए, तर उनीहरु बाहिर खुलेर बोल्न चाहँदैनथे ।” अझै धेरैले त यसले चर्पीका कुरा बाहेक अरु केही जान्दिनँ भनेर पनि गिज्याउँथे ।

४५ वर्षअघि ससुराको देहान्तपछि रत्नाको सामाजिक भूमिकामा फेरबदल आयो । उहाँका श्रीमान्ले रत्नालाई घरबाहिर जान र सामाजिक काम गर्ने स्वीकृति दिनुभयो । तालिम लिएर उहाँ अनमिको रुपमा बेलबारीमा नै काम गर्न थाल्नुभयो ।

त्यहाँ काम गर्न थालेको १० वर्षको अवधिमा उहाँले बेलबारीका सयौं घरधुरीको भ्रमण गर्नुभयो । कमजोर सरसफाइले स्वास्थ्यमा पार्ने असरको बारेमा बुझाउने मौका पाउनुभयो । परिवार नियोजन, प्रजनन् स्वास्थ्य र बाल स्वास्थ्य त उहाँको जिम्मेवारीका क्षेत्र नै थिए । “त्यसबेलासम्म पनि मैले घरमा आफूले चाहेजस्तो सुरक्षित चर्पी बनाउन पाएकी थिइनँ”, उहाँ सम्झनुहुन्छ, “३१ वर्षअघि मूल घर छोडेर दुई बच्चा सहित हामी चार जनाको परिवार भिन्न भयौं, र चर्पी सहितको नयाँ घर बनायौं ।”

त्यसपछि समुदायमा चर्पी बनाउने अभियान थालनी भयो । महिलाको सुरक्षा, इज्जत, आत्मसम्मान र महिला तथा बालबालिकाको स्वास्थ्यसँग जोडेर सरसफाइ अभियान थालनी भयो ।

रत्नाको अगुवाइमा डाँगिहाट बन्यो सफा र स्वच्छ क्षेत्र

दशकौं लामो अथक संघर्षबाट अहिले बेलबारी नगरपालिका, वडा नं. ८ मा पर्ने डाँगिहाट बदलिएको छm। अहिले डाँगिहाटका सबै घरधुरीमा सुरक्षित चर्पी छन् । खुलामा दिसा कही. कतै पनि भेटिदैन । सबै घरमा फोहर वर्गीकरण गर्ने गरिएको छ । पानी शुद्धीकरण गरेर पिउँछन् । सुँगुर बंगुरलाई खोरमा पाल्छन् । गाईगोठहरु सफा छन् । घरमा करेसाबारी बनेका छन् । चर्पीसँगै साबुन पानीले हात धुने स्थान बनाइएको छ । सबै घरमा महिनावारीमैत्री व्यवहार हुन्छ । डाँगिहाटको आदर्श बस्ती राइझार अहिले सफा र स्वच्छ क्षेत्रका सबै सूचक पूरा गरी सरसफाइ नमूना गाउँ घोषणा हुने पहिलो बस्ती बनेको छ । विश्व चर्पी दिवसको अवसर पारेर गाउँलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरियो ।

रत्नाको एकल प्रयासमा अघि बढिरहेको सामाजिक अभियानमा विभिन्न संघसंस्थाले सहयोग पुर्‍याए । “खुला दिसामुक्त अभियान थालनी हुनुअघि नै गाउँमा महिला सशक्तीकरण र सामाजिक जागरणका लागि नारी विकास संघले निकै सहयोग गर्‍यो”, उहाँ सम्झनुहुन्छ, “खुला दिसामुक्त अभियानको क्रममा सामुदायिक विकास समाज मार्फत ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले सहयोग पुर्‍यायो । पूर्ण सरसफाइ अभियानमा समेत नारी विकास संघले सहयोग गर्‍यो ।”

जीवनको ७४ वर्षको यात्रा गरिरहेकी रत्ना सामाजिक दायित्व र भूमिकामा अविराम अघि बढिरहनुभएको छ । प्रत्येक दिन समुदायको अनुगमनमा जानुहुन्छ । सरसफाइ नमूना समुदाय व्यवस्थापन समितिको अध्यक्षको रुपमा पूर्ण सरसफाइ उन्मुख समुदाय बनाउनका लागि क्रियाशील हुनुहुन्छ । महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहलाई सुझाव सल्लाह दिनुहुन्छ । “रत्ना दिदी समुदायको रत्न हुनुहुन्छ, उहाँले अझै लामो समय समुदायका लागि सुधारको ज्योति बालिरहनुपर्छ”, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार