जत्तिबेला देशको सबै भूभागमा सरसफाइ अभियान सुरु भएकै थिएन, त्यत्तिबेला पनि ‘बिहे गर्न शौचालय अनिवार्य’, ‘चर्पी नबनाए सुविधा नपाउने’ जस्ता सरसफाइका समाचार प्रायः दुई/चार दिनको फरकमा आईरहन्थ्यो अन्नपूर्ण पोष्ट दैनिकमा । अनि बाइलाइन हुने गर्थ्यो ‘प्रकाश सिंह/बाजुरा’
अन्नपूर्ण पोष्ट र द हिमालयन टाइम्सका लागि बाजुराबाट रिपोर्टिङ गरेका प्रकाशले त्यसबेला हुने गरेका सरसफाइ अभियानका समाचारहरु नछुटाई लेख्ने गर्नुहुन्थ्यो । उहाँको समाचार लेखनले दुर्गम र सरसफाइको समाचारलाई खासै समाचार नमान्ने केन्द्रको दृष्टिलाई बदल्न अहम् भूमिका खेल्यो ।
त्यत्तिबेला अन्नपूर्ण पोष्टले प्रकाशन गर्ने परिशिष्टाङ्कहरु कहिले त बाजुराकै सरसफाइको समाचारले भरिन्थे । प्रकाश भन्नुहुन्छ ‘‘बाजुराका महिलाहरु सरसफाइ अभियानमा लागेको स्टोरीले ‘संगी’ भन्ने परिशिष्टाङ्क पूरै भरिएको थियो । जसले अन्य ठाउँका महिलाहरुलाई समेत सरसफाइमा लाग्न प्रेरित गरायो ।’’
सरसफाइको बिषयमा कयौं समाचार लेखेका प्रकाशलाई एउटा समाचारले भने सरसफाइ क्षेत्रमै चिनाएको उहाँको अनुभव छ । कुरा २०६९/०७० तिरको हो । जत्तिखेर गाउँघरमा शौचालय भेटिन निक्कै मुश्किल पथ्र्यो । कैलालीमा पनि त्यही अवस्था थियो । बाजुराबाट रिपोर्टिङ गरेपनि समाचार भने कैलालीको थियो । रिपोटिङकै क्रममा कैलाली पुग्दा दिसापिसाब लागेको एक घण्टा भइसक्दा पनि शौचालय नभेटेपछि गाउँकै एक जनाले उहाँलाई शौचालय भएको घर देखाएछन् । पछि बुझ्दै जाँदा त्यो घर गाउँभरिको एउटै मात्र शौचालय भएको घर रहेछ । शौच गरिसकेपछि घरमूलीले पनि भनेछन् ‘‘गाउँमा ठूलाबडा आएपछि मेरै घरमा आउँछन् ।’’ प्रकाशले त्यही भनाइलाई समाचारको शीर्षक बनाउनुभयो ‘शौचालय देखेपछि पाहुनाको ओइरो’ ।
त्यसपछि पनि उहाँले ‘सुगन्ध बन्दै दुर्गम गाउँ’, ‘ऋण काढेर शौचालय’, ‘ब्रम्हतोलामा एक घर, एक चर्पी’, ‘बाजुरा सफा सुग्घर जिल्ला’ लगायत सरसफाइका धेरै समाचार लेख्नुभयो तर आफूलाई त्यही समाचारले सरसफाइको क्षेत्रमा चिनाएको बताउनुहुन्छ प्रकाश ।
सरसफाइ समाचार लेखनको कामले उहाँको चिनारी पत्रकारमा मात्र सीमित नरही सरसफाइ अभियन्तामा रुपान्तरण भयो । उहाँ जिल्लाको कुनाकाप्चामा हुने गरेका सरसफाइ अभियानदेखि केन्द्रमा हुने गरेका सरसफाइ कार्यक्रमहरुमा समेत भाग लिनुहुन्थ्यो ।
काठमाडौमा भएको राष्ट्रिय सरसफाइ सम्मेलनमा उहाँ आफै चकित हुनुभयो रे । त्यहाँ विभिन्न संघसंस्थाको आ–आफ्ना स्टलहरु राखिएका थिए । स्टलहरु घुम्दै जाँदा एउटा स्टलमा भने सबै आफूले लेखेका समाचारहरु फ्लेक्समा उतारिएको भेटिएपछि उहाँ दंग पर्नुभएछ । प्रकाश भन्नुहुन्छ, “मैले लेखेको समाचार कति छापिए मलाई नै थाहा हुदैनथ्यो, तर त्यहाँ राखिएका समाचारहरु सबै मैले लेखेका मात्र थिए, म त दंग भएँ । त्यसपछि अझ यस क्षेत्रमा कलम चलाउने हौसला मिल्यो ।”
सरसफाइको क्षेत्रमा कलम चलाए बापत आफूले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका सरसफाइ सम्बन्धी कार्यक्रमहरुमा भाग लिन पाएको र यो नै आफ्नो पूँजी भएको उहाँको भनाइ छ । “मैले दक्षिण एसियाली सरसफाइ सम्मेलनमा पनि भाग लिएको छु, सरसफाइ क्षेत्रमा यति धेरै नलागेको भए मैले त्यो अवसर पाउने थिइन” उहाँले भन्नुभयो ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले बाजुरा जिल्लामा समेत सरसफाइ अभियान सहजीकरण गसिंहयो, जसले उहाँमा सरसफाइ अभियान बुझ्नका लागि झनै सहयोग ग¥यो । उहाँले लेखेका समाचार नै राजधानी र देशका अन्य ठाउँमा ‘बाजुराको सरसफाइ अभियान’ बारे जान्ने माध्यम समेत बने ।
जुनसुकै क्षेत्रमा परिवर्तन ल्याउन सूचना सम्प्रेषणले ठूलो महत्व राख्ने उहाँको बुझाइ छ । समाचार लेखेकै कारण शौचालय नभएको विद्यालयमा शौचालय बनेका, बन्द रहेका शौचालय पुनः सञ्चालनमा आएका, सरसफाइ अभियानमा सक्रिय भएर लागेका र चर्पी नबनेका घरमा बनेका कयौं उदाहरणहरु छन् उहाँसँग । ‘‘फलाना ठाउँका मानिसहरु जत्ति भन्दा पनि सरसफाइ अभियानमा लागेनन् लौन समाचार लेखिदिनुपर्यो भनेर हामीलाई फोन आउँथ्यो’’ प्रकाश भन्नुहुन्छ ‘‘यो मिडियाको शक्ति हो ।’’
सरसफाइ गुरुयोजना २०६८ जारी गर्दा सरसफाइको ७५ औं स्थानमा रहेको बाजुरा नेपालको १६ औं खुला दिसामुक्त जिल्ला हो । २०६८ मा १०.५७ प्रतिशतको घरमा मात्र शौचालय भएको बाजुरामा ३ बर्षकै अवधिमा सतप्रतिशत घरमा चर्पी निर्माण गरी २०७१ साल मंसिर १२ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । सरसफाइमा पुछारको जिल्लाबाट सोह्रौ स्थानमा ल्याउनुमा प्रकाशको कलमको योगदान निकै महत्वपूर्ण छ ।
सरसफाइ अभियानमात्र होइन, विपन्नलाई घर बनाउनेदेखि विरामीको उपचार गर्ने काममा समेत उहाँ आफै खटिनुहुन्छ ।
स्वास्थ्यकर्म हुँदै पत्रकारितामा होमिनुभएका प्रकाशको साथमा स्टेथेस्कोप, केही अत्यावश्यक औषधी र प्राथमिक उपचारका सामग्री कहिल्यै पनि टुट्दैनन् । गाउँघरतिर पुग्दा कोही विरामी देखेमा जाँच गरेर डाक्टर कहाँ जान सुझाउनुहुन्छ । गम्भीर विरामी देखेमा आफै बोकेर समेत स्वास्थ्य संस्थामा पुर्याउनुहुन्छ ।
प्रकाश सिं अहिले पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले रिपोर्टिङ गर्ने द हिमालयन टाइम्समा अहिले पनि सरसफाइका समाचारहरु प्रकाशन भईरहन्छन् । ‘प्याड फेर्ने ठाउँ नहुँदा छात्रालाई सास्ती’, ‘जिल्लामै छैन, छात्रामैत्री शौचालय’ जस्ता समाचारमा अहिले पनि उहाँकै बाइलाइन हुने गरेको छ ।