२६ किलोमिटर सुरुङ छिचोल्दै मेलम्चीको पानी आज सुन्दरीजल आईपुग्ने, प्रधानमन्त्री अवलोकनका लागि जाँदै

काठमाडौं : बहुप्रतिक्षित मेलम्चीको पानी सुरुङमार्गबाट आज सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा ल्याईने भएको छ । परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । सुन्दरीजल पानी प्रशोधन केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट पानी परिक्षणका लागि सुरुङ पठाईएको थियो । २६ किलोमिटर सुरुङ भरिदै आज पानी प्रशोधन केन्द्र सुन्दरीजलमा आईपुग्न लागेको हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङ भित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो । हाल परीक्षणका लागि २६० लिटर प्रति सेकेण्ड पानी सुरुङमा हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्चीको पानी आएपछि वाग्मतीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आयोजनाले अपिल गरिसकेको छ ।

पानी परीक्षण सकिए पछि प्रति दिन १७ करोड लिटर पानी सुरुङ मार्गबाट सुन्दरीजल आइपुग्नेछ । सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि उपत्यकामा विछ्याईएको थोक वितरण प्रणाली तथा वितरण सञ्जालको माध्यमबाट उपत्यकाको घरघरमा पानी वितरण हुनेछ ।

मेलम्चीको पानी काठमाडौ ल्याएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएल तयारी अवस्थामा रहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले बताउनुभयो । गएको मंगलबार खानेपानीमन्त्री मणिचन्द्र थापा, खानेपानी सचिव माधव बेल्बासे सहितको टोलीले केयूकेएलको शाखा कार्यालयहरुको तयारीबारे निरीक्षण गरी जानकारी लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार