काठमाडौ : विद्युतीय फोहोर व्यवस्थापनका लागि काठमाडौ महानगरपालिकाको वातावरण विभाग, प्रशासन महाशाखा प्रमुख सरिता राईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । विद्युतीय फोहोर व्यवस्थापनको लागि ठोस कार्यक्रम बनाई कार्यान्वयन गर्न कार्यदल गठन गरिएको हो । कार्यदलमा काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा कार्यरत विभिन्न संघ संस्था तथा नागरिक समाजका प्रतिनिधिहरु सदस्य हुनुहुन्छ ।
“Global Recycling Day” को आयोजित विद्युतीय फोहोर व्यवस्थापनमा महानगरपालिकाको भुमिका विषयक छलफल गोष्ठीमा कार्यदल गठन गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । विगत चार वर्ष देखि मार्च १८ लाई विश्वव्यापी रुपमा “Global Recycling Day” मनाउदै आइरहेको छ । नेपालमा भने गुथि संस्था र काठमाडौं रिसाइकल्डको पहलमा गत वर्षबाट मात्र यो दिवस मनाउन थालिएको हो ।
विद्युतीय फोहोर व्यवस्थापनका लागि बजेट परिचालन : महाशाखा प्रमुख राई
काठमाडौ महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख सरिता राईले विद्युतीय फोहोर व्यवस्थापनका लागि महानगरपालिकाकाले बजेट परिचालन गर्न सकिने बताउनुभयो । उहाँले विद्युतइि फोहोरको प्रकोपको बारेमा सचेतना जगाउन आवश्यक रहेको र विभागबाट यस कार्यक्रमका लागि बजेट परिचालन गर्न सकिने बताउनुभयो ।
उहाँले फोहोरमैला व्यवस्थापनमा संलग्न संघ संस्थालाई विद्युतीय फोहोर व्यवस्थापनका लागि पाईलट परियोजना संचालनका लागि विभागसँग हातेमालो गर्न प्रस्ताव गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल ले हामी भन्दा पहिलो पुस्ताले आफ्नो समयमा पुनःप्रयोग र पुनःनिर्माणको कार्यको सुरुवात गरिसकेको बताउँदै बढ्दै गएको विद्युतीय फोहोरको बढदो क्रमलाई व्यवस्थापन गर्न नसके भावी पुस्तालाई निकै समस्या हुने बताउनुभयो । ‘भविष्यलाई ध्यानमा राखेर अहिलेबाट नै व्यवस्थापनको कार्य सुरु गर्नुपर्नेछ । यस कार्यको सुरुवात काठमाडौ महानगरपालिकाको वडा नं. १५ बाट नै हुनेछ ।’ उहाँले भन्नुभयो ।
विद्युतीय फोहोर व्यवस्थापनका लागि राष्ट्रिय नीति आवश्यक : उप प्राध्यापक गिरी
त्रि–चन्द्र क्याम्पसकी उप–प्राध्यापक डा. ज्योति गिरीले विद्युतीय फोहोर व्यवस्थापनका लागि राष्ट्रिय नीतिको आवश्यक रहेको बताउनुभयो । वर्तमान सन्दर्भ र विद्युतीय फोहोर व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुतिकरणको क्रममा उहाँले कर तिरेर ल्याइने विद्युतीय फोहोरसँग अर्थतन्त्र जोडिएको बताउनुभयो । विद्युतीय फोहोरलाई प्रशोधन गर्ने प्रविधि र स्रोत जुटाउन समस्या हुने भएकोले यस्को व्यवस्थापन सहज नहुने भन्दै उहाँले यसको व्यवस्थापनका लागि पुनविचार, अस्वीकार, कम प्रयोग, अर्को कामको लागि प्रयोग, पुनःप्रयोग, रिसाइकल र कुहाउने गरी ७ नियमको पालना गर्नुपर्ने औल्याउनुभयो ।
‘हामीले विदेशबाट उपहारको रुपमा भित्र्याई रहेका कतिपय विद्युतीय डिभाईसहरु साधारण मर्मत पश्चात पुनःप्याकेजिङ्ग गरिएको हुन्छ । तसर्थ हरेक विद्युतीय फोहोरहरुलाई रिसाइक्लिङको प्रक्रियामा लानुपर्छ ।’उहाँले भन्नुभयो ।
हरेक विद्युतीय फोहोरहरुलाई ल्याण्डफिल्ड साइटमा फाल्ने होकि, त्यसलाई जलाउने हो ? त्यो विषयमा छलफल गर्नुपर्ने र त्यसलाई छुटयाउनुपर्ने उहाँको भनाई थियो । पृथ्वीमा गएर दुषित गर्दैन भने ल्याण्डफिल्डमा लानुपर्ने अन्यथा माटो र पानीलाई प्रदुषित गर्छ भने त्यसलाई जलाउनु पर्नेमा उहाँको जोड थियो ।
कोभिडको समयमा फोहोर सम्बन्धी सर्भेक्षण गर्दा मानिसहरुमा विद्युतिय फोहोरबाट उत्पन्न हुन सक्ने समस्याका बारे जानकार भए पनि मानिसहरुले नगरेको र देशमा यसको पुन प्रयोग गर्नै क्षमता नभएको बताउनुभयो । उहाँले विद्युतीय फोहोर वस्तुहरु उत्पादन र व्यवस्थापन दुवै क्षेत्रमा फोहोर कर लिनुपर्ने र जनचेतना फैलाउनु पर्ने विषयमा जोड दिनुभयो ।
‘विश्वमा विकास संगै विभिन्न प्रकारका फोहोर उत्पादन हुँदै आएको छ । विद्युतीय फोहोर व्यवस्थापन आजको समयमा अर्को चुनौतीको रुपमा देखापरेको छ । यसको व्यवस्थापनका लागि महानगर र यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुले सहकार्य गरी नीतिनियमहरु बनाई व्यवस्थापनमा अगाडि बढ्नुपर्ने र अन्यथा यसले भविश्यमा भयावह अवस्था ल्याउने सक्ने गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो ।