भक्तपुर र किर्तिपुरमा मेलम्चीको थप पानी आएपछि मात्र वितरण हुने

काठमाडौं : काठमाडौको कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि मात्र मेलम्चीको पानी वितरण हुने भएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडका अनुसार किर्तिपुर र भक्तपुरमा संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ । लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको छ भने मध्यपुर ठिमीमा क्रसिङको काम गरिरहेको छ ।

कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा ‘क्रसिङ’ मा आवश्यक संरचना बनिनसकेको आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुरठिमी, भक्तपुर, कीर्तिपुर लगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ ।

मध्यपुरमा क्रसिङको आवश्यक संरचना निर्माण भएको छ । त्यो ‘सेटिङ’ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार त्यहाँ काम शुरु भएको दुई साता भयो । अबको दुई सातामा पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो । “ठिमीको ट्याङ्कीमा पानी गइसकेकाले अब दुई हप्तामा त्यस क्षेत्रका बासिन्दाले पनि पानी पाउनेछन् ।” उहाँले भन्नुभयो ।

सुन्दरीजलबाट उपभोक्ताका घर–घरसम्म पानी वितरणका लागि आवश्यक ट्याङ्की र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम केयूकेएलले गरिरहेको छ ।

निर्देशनालयले उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएकामा अहिलेसम्म नौ ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा निर्माण भइरहेको छ । दैनिक साढे ८ करोड लिटर पानी वितरण गरिरहेको केयूकेएलले पुरानै पाइपलाइनबाट खानेपानी वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार