मेलम्ची पानी ३ सय २० ठाउँमा लिकेज, १८६ ठाउँमा टालियो, मर्मतका लागि सडक खन्ने स्वीकृति लिदै

काठमाडौं : मेलम्चीको पानी वितरण गर्न थालेपछि ३ सय २० ठाउँमा लिकेज भएको पहिचान भएको छ । विभिन्न माध्यमबाट ३ सय २० ठाउँमा लिकेज (चुहावट) भएको सूचना प्राप्त भएको र ती मध्ये १ सय ८६ ठाउँमा मर्मत गरिसकेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिनुभयो ।

वास खबरसँग कुराकानी गर्दै प्रमुख कार्यकारी अधिकृत शाक्यले चुहावट समस्या समाधान गर्न सडक विभाग, महानगरपालिका सँग समझदारी भईसकेको र सडक विभागबाट निर्वाध तरिकाले सडक खन्न स्वीकृति पाउन साथ चुहावट मर्मतको कामलाई तिब्रता दिईने बताउनुभयो । ‘ट्राफिक सँग पनि समन्वय गर्दै रातीको समयमा ट्राफिक कम भएको बेला मर्मत सम्भार गर्नेछौं । बिहान र दिउँसो चाहिं पानी वितरणमै ध्यान दिनेछौं ।’ उहाँले भन्नुभयो ।

पानीको चुहावट भईरहेको खबर पाउनसाथ र्‍यापिड रेस्पोन्स टिम परिचालन भईरहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत शाक्यले हाल ४० प्रतिशतमा रहेको चुहावट नियन्त्रण गरी १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले यसबारे जानकारी दिन केयूकेएल एप प्रयोग गरी खबर गर्न पनि आग्रह गर्नुभयो । ‘एप डाउनलोड गरी कहाँ पानी चुहावट भईरहेको छ त्यहाँको फोटो नै खिचेरअपलोड गर्न सकिन्छ । त्यसैको आधारमा कर्मचारी परिचालन गरी मर्मत गर्न सजिलो हुन्छ’ उहाँले भन्नुभयो ।

यसैबीच खानेपानीको चुहावटले सडकमा क्षति पुर्‍याएपछि यसबारे रणनीति बनाउन सडक डिभिजन कार्यालय काठमाडौले केयूकेएल सहित सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । एकैपटक धेरै स्थानमा सडक खन्नुपर्ने र पाइपलाइनको लिकेज टाल्नुपर्ने भएपछि डिभिजन कार्यालयले आज सरोकारवाला निकायलाई छलफलमा बोलाएको हो ।

काठमाडौंमा चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको हो । सुरुमा दैनिक ४ करोड लिटर पानी वितरण गर्दै आएको केयूकेएलले अहिले दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्दै आएको जनाएको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईका अनुसार पुराना भित्री शहरहरूमा पानीको चुहावट बढी देखिएको छ । लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्क लगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी देखिएको छ । प्रवक्ता राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार