किर्तिपुरमा पम्पिङ गरेर मेलम्चीको पानी वितरण, दैनिक २३ लाख लिटर वितरण गरिने


किर्तिपुर : काठमाडौको किर्तिपुरमा पनि मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको छ । किर्तिपुरमा निर्माण भएको ६० लाख लिटर क्षमताको नयाँ ट्याङ्कीमा पानी जम्मा गरी त्यहाँबाट पम्पिङ मार्फत चिलंचो पानी पोखरी, क्वाँचो पानीपोखरी, ल्याकुँ, भजाङगाल र देवढका पानी पोखरीबाट पानी वितरण गर्न सुरुवात गरिएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिनुभयो ।

किर्तिपुरमा हालका लागि दैनिक २३ लाख लिटर पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजना मार्फत दैनिक १७ करोड लिटर पानी प्राप्त भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेडले केही दिन अघि मात्र भक्तपुरको टिग्नी पानी पोखरीबाट पनि पानी वितरण गरिसकेको छ ।

फ्लसिङ गर्न अनुरोध

मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर पठाएको भएपनि एक दुई दिन फ्लसिङ गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यले आग्रह गर्नुभयो । यस्तै उहाँले घरेलु विधि मार्फत पानी शुद्धिकरण गरेर मात्र पिउन पनि आग्रह गर्नुभयो ।

कितिपुर नगरपालिकाका मेयर रमेश महर्जनले पनि मेलम्चीको सुरुको पानी नपिउनका लागि आग्रह गरिएको बताउनुभयो । ‘हामीले आज र भोलिको पानी चाहिं नपिउन भनेका छौं, हामीले हाम्रो उपभोक्तालाई आइतबार देखि मात्र पानी उपभोग गर्नुहोला भनेर सूचना जारी गरेका छौं’ उहाँले भन्नुभयो ।

किर्तिपुरमा शुक्रबार साँझ परिक्षणको रुपमा मेलम्चीको पानी वितरण गरिएको हो । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले खानेपानी वितरणको क्रममा चुहावट भएमा सम्बन्धित वितरण शाखामा सम्पर्क गर्न वा जानकारी गराउन आग्रह गर्नुभयो ।

अहिले पुरानै पाइपलाइनबाट पानी वितरण गर्दा चुहावट हुने सम्भावना भएकाले त्यसलाई रोक्न तत्काल सम्बन्धित शाखा कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । नयाँ पाइपलाइन परिक्षणको क्रममा रहेको र नयाँ प्रणाली मार्फत पानी वितरण गर्दा चुहावट १५ प्रतिशत भन्दा कममा झार्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
पुरानो पाइपलाइन बाट पानी वितरण गर्दा ४० प्रतिशत जत्ति चुहावट देखिएको छ । हाल मेलम्चीको पानी वितरण गर्न थालेपछि चुहावट हुने ठाउँहरु पनि पहिचान हुँदै गएको र रातको समयमा चुहावट मर्मत गरी दिउँसो पानी वितरण भईरहेको उहाँले जानकारी दिनुभयो । हालसम्म ३२० स्थानमा चुहावट देखिएकोमा २०० भन्दा बढी ठाउँमा मर्मत भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार