कोरोना कहरकै बीचमा खानेपानी सहित विकास निर्माण धमाधम

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा विकास निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरकै बीचमा पनि फिरफिरेमा विभिन्न योजना निर्माणले गति लिएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भई निर्माण शुरु गरिएका योजनालाई समयमै निर्माण सम्पन्न गर्न कामलाई अगाडि बढाइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । “कोरोना कहर भए पनि विकास निर्माणलाई रोक्ने कुरा भएन, स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका कामलाई धमाधम अगाडि बढाएका छौँ”, गुरुङले भन्नुभयो ।

तीनै तहबाट बजेट विनियोजन भएर निर्माण शुरु भएका योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वडाध्यक्ष गुरुङका अनुसार वडाभित्र सञ्चालित योजना मध्ये ७० प्रतिशत योजना सम्पन्न भएर भुक्तानीसमेत प्रदान गरिसकिएको छ । “असारे विकास प्रतिस्थापन गर्नुपर्छ भन्ने उद्देश्यसहित समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ”, गुरुङले भन्नुभयो, “चैतमा नै योजना निर्माण सम्पन्न गर्ने तयारी भए पनि विविध कारणले गर्न सकेनौं ”

यहाँ सङ्घीय सरकार, प्रदेश सरकार र नगरपालिकाको गरी करीब रु पाँच करोड ५० लाखभन्दा बढीका योजना सञ्चालित छन् ।खानेपानी, सिँचाइ, पूर्वाधार, कृषि लगायत योजना चालु आर्थिक वर्षमा सञ्चालित छन् । असार महिनामा आएर काम गर्ने प्रचलन अझै पनि कायम रहेकाले त्यस्तो परम्परा तोड्ने अभियानमा आफूहरु रहेको गुरुङले जानकारी दिनुभयो ।

यहाँ हाल दुलेगौडादेखि लामा गाउँसम्म जोड्ने सडकमा नाली, तमु हिल पार्कमा पैदलमार्ग, घरबासको सामुदायिक भवन निर्माण लगायतका काम चलिरहेका छन् । दुलेगौडादेखि लामागाउँसम्म जोड्ने १७ किमी मोटरमार्गअन्तर्गत हाल नाली निर्माणको काम भइरहेको छ ।

चालु आवमा विनियोजित रु एक करोड ४० लाखको बजेटले बाटो ग्राभेल र तीन किलोमिटर नाली निर्माण हुनेछ । “बाटो चक्लाउने काम सकियो, अहिले नाली बन्दैछ”, गुरुङले भन्नुभयो । वडाको गौरवको योजनाका रुपमा रहेको तमु हिल उद्यानमा पैदलमार्ग निर्माणको कामसमेत शुरु भएको छ । पैदलमार्गलगायत संरचना निर्माणका लागि चालु आर्थिक वर्षमा रु १७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी यहाँ तमु हिल उद्यान बनाउन लागिएको छ । यसका लागि छ जना स्थानीयवासीले दश रोपनी जग्गादान गर्नुभएको छ । उद्यान निर्माण सम्पन्न गर्न करीब रु पाँच करोड लाग्ने अनुमान छ । उद्यानलाई गुरुङ समुदायका युवापुस्ताले इतिहासबारे अध्ययन गर्ने थलो बनाउने योजना रहेको बताइएको छ ।

उद्यानको आकर्षणमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होइबोमा १२ वटा वर्गचक्रको मूर्तिले घेरिएको हुनेछ । गुरुङ समुदायको परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री प्रदर्शनमा राखिनेछ । यहाँबाट गुरुङ समुदायका बारेमा सोध अध्ययनमा सहयोग पुग्ने जनाइएको छ । उद्यानभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्कको परिकल्पना गरिएको छ । बालउद्यान, वनभोजस्थल, ‘भिआइपी’ सवारी र आपत्कालीन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने डिजाइनमा उल्लेख छ ।

यस्तै प्रदेश सरकारको रु २० लाख बजेटमा घडेरी सामुदायिक घरबासको भवन निर्माण भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नै मिलेनियम गुफा जाने बाटोमा पहिरो नियन्त्रणका लागि जाली भर्ने काम भइरहेको छ । यसका लागि यहाँका २५ युवालाई रोजगारी दिइएको छ । उक्त कार्यक्रमका लागि रु पाँच लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार नगरपालिका र स्थानीयवासीको लागत साझेदारीमा ढोर तालबँेशीमा सामुदायिक भवन निर्माण कार्य पनि जारी छ । यसका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ भने स्थानीयवासीले रु पाँच लाखको साझेदारी गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार