कोरोना विरुद्ध सघाउन साझेदार निकायलाई स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौ : सरकारलाई स्वास्थ्य क्षेत्रमा सघाइरहेका साझेदार संघसंस्थाहरूलाई स्वास्थ्य मन्त्रालयले कोभिड विरुद्ध सघाउन अपिल गरेको छ । मन्त्रालयले कोभिड विरुद्धको लडाइँमा अति आवश्यक स्वास्थ्य उपकरण र सामग्रीहरूको सहयोग गरिदिन अपिल गरेको हो । सरकारले अति आवश्यक स्वास्थ्य उपकरण र सामग्रीहरूको संकट चुलिँदै गएको भन्दै विभिन्न ४१ वटा उपकरण तथा सामग्री सहयोग गरिदिन अनुरोध पत्राचार गरिएको छ ।

कोभिडसँग लड्न मानवीय सहायताको हात बढाइदिन भन्दै मन्त्रालयले अक्सिजन जेनेरेसन प्लान्ट ७ वटा, लिक्विड अक्सिजन १० ट्यांक र प्रतिदिन २० टन अक्सिजन, १० हजार अक्सिजन कन्सन्टेटर, ९ सय भेन्टिलेटर ३० दिन भित्र उपलब्ध गराइदिएर सहयोग गर्न पत्रमा उल्लेख गरेको छ । त्यस्तै ३० दिनभित्र ६० हजार पल्स अक्सोमिटर, हाई फ्लो नेजल क्यानुला ९१ हजार० को सहायता मन्त्रालयले माग गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार संक्रमणको दर बढ्दै जाँदा हाल मौजुदा पीसीआर किटले दुई साताभन्दा धेरै धान्न नसक्ने आकलन गरिएको छ । त्यसैले मन्त्रालयले आरटी पीसीआर किट २५ लाख १५ दिनभित्र उपलब्ध गराइदिन अनुरोध गरेको छ । मन्त्रालयले ३ करोड ७ ख भ्याक्सिन पनि ३० दिनभित्र उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

त्यस्तै आइसोलेसन सेन्टर स्थापनाका निम्ति १ सय ५० वटा टेन्ट र ८ वटा सूचना–प्रविधि तथा क्लिनिकल म्यानेजमेन्ट कल सेन्टर ३० दिनभित्र स्थापना गरिदिएर सहयोग गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालले सर्जिकल मास्क ३४ करोड, पन्जा ५० करोड १५ दिनभित्र आवश्यक पर्ने पनि उल्लेख गरेको छ ।

संक्रमणको दर बढ्दै जाँदा टेन्टमै राखेर भए पनि उपचार गर्नुपर्ने परिस्थिति आउने भन्दै १ सय ५० वटा अस्पताल सञ्चालन गर्न सकिने खालको टेन्ट उपलब्ध गराइदिन अनुरोध गरेको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको अनुरोधमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार