बाढीले कलेक्सन च्याम्बर र पाइपलाइनमा क्षति पुर्‍याउँदा माङसेबुङमा खानेपानीको समस्या

इलाम : बाढीले क्षति पुर्‍याएपछि पश्चिम इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा पिउने पानीको समस्या भएको छ । मुसलधारे वर्षा र बाढीले खानेपानीको मुहान क्षतिग्रस्त बनाएपछि यस क्षेत्रका २ सयभन्दा धेरै घरपरिवार प्रत्यक्ष प्रभावित भएका हुन् । तामाखोलामा आएको बाढीले सोही खोलाबाट सञ्चालित विभिन्न ३ वटा र निर्माणाधीन एउटा खानेपानी आयोजनाको कलेक्सन च्याम्बर र पाइपलाइन क्षतिग्रस्त बनाएको छ ।

मुहानको कलेक्सन च्याम्बर र पाइपलाइनमा नै क्षति भएपछि खानेपानीको चरम अभाव सिर्जना भएको वडाध्यक्ष पुष्पराज कार्कीले जानकारी दिए । ‘तत्काल जरुवा पानीको भर पर्नुपरेको छ,’ उनले भने, ‘बाढीले ठूलो क्षति गराएकाले योजनालाई पुनः सञ्चालन गर्न केही समय लाग्छ ।’ सुनगाभा विकास संस्थाको सहयोगमा सञ्चालित दुई र युनिसेफको सहयोगमा सञ्चालित एउटा तामाखोला ग्रामीण खानेपानी तथा सरिफाइ आयोजनाको मुहान क्षतिग्रस्त बनेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा निर्माणाधीन माङमालुङ वर्षादे खानेपानी संकलन आयोजनामा क्षति पुगेको छ । ती आयोजनाका मुहानमा निर्मित कलेक्सन च्याम्बर र पाइपलाइनसहित भौतिक संरचनामा कामै नलाग्ने गरी क्षति पुगेको हो । निर्माणाधीन आयोजनाका पाइपसमेत बाढीले बगाएको छ ।

वडाध्यक्ष कार्कीका अनुसार १ ट्र्याक्टरभन्दा धेरै पाइप बाढीले बगाएको छ । कलेक्सन च्याम्बर भत्किएका र पुरिएका छन् । पाइपहरू खोलाको किनारमा क्षतविक्षत अवस्थामा देखिएका छन् ।

स्थानीयलाई घन्टौंको दूरीमा गाग्रोबाट पानी बोक्न बाध्यता थपिएको स्थानीय बालकृष्ण बस्नेतले जानकारी दिए । ‘उनीहरू स्थानीय कुवा र खोल्सीको धमिलो पानी पिउन बाध्य भएका छन्,’ उनले भने, ‘जरुवा पानीका स्रोत पनि यसअघिको लामो खडेरीका कारण सुकेकाले समस्या छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार