९ जिल्लामा शौचालयको सेप्टिक ट्याङ्कीबाट उत्सर्जन हुने हरित गृह ग्यासको आँकडा लिईने

काठमाडौ : नेपालको ९ जिल्लाका १४ वटा समुदायमा जलवायु परिवर्तन र सरसफाइ सम्बन्धी अनुसन्धानात्मक परियोजना सञ्चालनमा आएको छ । ब्रिस्टोल विश्वविद्यालयको अगुवाईमा नेपाल सहित विश्वको ४ देशमा सुरु भएको यो परियोजना नेपालमा काठमाडौ विश्वविद्यालय र ग्रीन ग्रोथ ग्लोबल इन्स्टिच्यूट नेपालले कार्यान्वयनमा ल्याएको हो ।

Climate Change and Sanitation : Accessing resilience and mitigation (SCARE) नाम दिईएको यस अनुसन्धानात्मक परियोजनामा बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेशनको आर्थिक सहयोग रहेको छ। यस परियोजनाले सरसफाइको जलवायु उत्थानशीलता मूल्याङ्कन तथा हरित गृह ग्यासको मापन गर्नेछ । यसका लागि परियोजना सञ्चालित ९जिल्लाको १४ वटा समुदायमा रहेका स्थलगत सरसफाइ प्रणाली (अनसाईट स्यानिटेसन सिस्टम) को जलवायु उत्थानशीलता मूल्याङ्कन गर्नुका साथै ३० वटा स्थानमा मानव मल्मुत्र भण्डारण ट्याङ्की (सेप्टिक ट्याङ्की) बाट उत्सर्जन हुने हरित गृह ग्यास उत्सर्जनको २ बर्षसम्मको आँकडा लिईनेछ ।

३ बर्षसम्म सञ्चालन हुने यो परियोजना पश्चात सरसफाइको क्षेत्रबाट उत्सर्जन हुने हरित गृह ग्याँसकोउत्सर्जन कम गर्न सरसफाइको उपयुक्त ब्यबस्थापन तथा प्रविधिको छनौट गर्न तथा जलवायु उत्थानशीलतालाई ध्यानमा राखी सरसफाइका राष्ट्रिय नीतिहरु पुनरावलोकनका लागि सुझावहरु पेश गर्न सकिने अपेक्षा परियोजनाका कोर्डिनेटर डा। अनिस घिमिरेले जानकारी दिनुभयो । यो परियोजना दक्षिण एसियामा नेपाल, पूर्वी अफ्रिकामा इथोपिया र युगान्डा तथा पश्चिम अफ्रिकाको सेनेगलमा सञ्चालित छ ।

कार्यक्रमबारे जानकारी गराउन हालै सरोकारवाला निकायहरुसँग भर्चुअल बैठक समेत सम्पन्न गरिएको छ । खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, ग्रीन ग्रोथ ग्लोबल इन्स्टिच्यूट नेपाल रकाठमाडौ विश्व विद्यालयले संयुक्त रुपमा भर्चुअल बैठक आयोजना गरिएको परियोजनाका कोर्डिनेटर डा। घिमिरेले जानकारी दिनुभयो । भर्चुअल बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र तथा विषय विज्ञ गरी करिब ५० जना भन्दा बढीको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार