खानेपानी मन्त्रीमा अनिलकुमार झा नियुक्त, मन्त्रिपरिषद् विस्तार

काठमाण्डौ : नेपाल सरकारको खानेपानी मन्त्रीमा अनिल कुमार झा नियुक्त हुनुभएको छ । जनता समाजवादी पार्टी (ठाकुर–महतो समूह) बाट अनिलकुमार झा आजै खानेपानी मन्त्रीमा नियुक्त हुनुभएको हो । झासँगै राजेन्द्र महतोले उपप्रधान तथा सहरी विकास, शरदसिंह भण्डारीलाई ऊर्जा, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा, जलश्रोत तथा सिंचाइ राज्यमन्त्री दिइएको छ ।
रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसँग राख्नुभएको छ ।


मन्त्रिपरिषद् पुनर्गठनको क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत बाहिरिनुभएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी एमालेका रघुवीर महासेठले पाउनुभएको छ । उहाँ उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषद्मा भित्रिनुभएको छ । यसैगरी अर्थमन्त्री विष्णु पौडेल समेत उपप्रधानमन्न्त्री बन्नुभएको छ । विघटित प्रतिनिधि सभाका सदस्य तथा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बन्नुभएको छ । यसअघि पनि उहाँ मन्त्री हुँदा बंगलादेशमा एमबिबिएस अध्ययनरत छात्राहरुको सन्दर्भमा बोलेको कुरा विवादित भएपछि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

यसअघि एमालेमा माधवकुमार नेपाल विचार समूहमा रहेका तामाङ पछिल्लो समय अध्यक्ष ओली समूहमा प्रवेश गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असहमति जनाउँदै तत्कालीन खानेपानी मन्त्री विना मगरले राजीनामा गरेपछि नेकपा माओवादी केन्द्रबाटै एमालेमा प्रवेश गरेका मणिचन्द्र थापा खानेपानी मन्त्री बन्नुभएको थियो ।

लेखन, प्रकाशन, गैरसरकारी संस्था र राजनीति सँगसँगै


विघटित प्रतिनिधि सभाका सदस्य अनिल कुमार झा रौतहट क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो । उहाँ डा. बाबुराम भट्टराईको क्यााबिनेटमा उद्योग मन्त्री समेत रहिसक्नुभएको छ । उहाँ विभिन्न ६ घटक मिलेर बनेको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य समेत हुनुहुन्थ्यो ।

५३ वर्षीय झाले रौतहटबाट विद्यालय तहको अध्ययन पूरा गरी बिहार इन्टरमेडियट शिक्षा परिषद्बाट दश जोड दुई र पाटन क्याम्पस र अमृत साइन्स क्याम्पसबाट स्नातक गर्नुभएको छ ।

तत्कालीन नेपाल सद्भावना पार्टीबाट सन् १९८८ मा सक्रिय राजनीतिक जीवन सुरु गर्नुभएका झाले मधेश केन्द्रित राजनीतिमा आफ्नो अलग्गै पहिचान छोड्न सफल हुनुभएको छ । हिन्दी भाषालाई वैकल्पिक भाषा र माध्यम भाषा बनाउनुपर्छ भन्ने आवाज उठाउँदा उहाँमाथि तत्कालीन समयमा साम्प्रदायिकताको आरोप समेत लाग्ने गरेको थियो । झाले २०४६ सालको जनआन्दोलनमा विद्यार्थीको रुपमा भाग लिनुभएको थियो ।


२०४६ को जनआन्दोलनमा गृहजिल्ला पुगेको समयमा प्रहरीसँग झडप भएपछि उहाँको समूहले गाउँमा रहेको प्रहरी चौकीमा आगो समेत लगाइदिएको थियो । आन्दोलनकै क्रममा पर्चा र पम्प्लेट फोटोकपी गरेर भारतबाट आउँदैगर्दा प्रहरीले चेकजाँच गरी उहाँलाई गिरफ्तार गरेपछि उहाँको राजनीति झनै चर्चामा आउन थाल्यो ।

संविधानसभा सदस्य समेत रहनुभएको झा नेपाल सद्भावना पार्टी र संघीय सद्भावना पार्टीको समेत नेतृत्व गरिसक्नुभएको छ । संविधान सभा सदस्यको रुपमा उहाँ राज्य पुनःसंरचना र राज्यशक्ति बाडफाट समितिको सदस्य र सार्वजनिक लेखा समितिमो सदस्य रहिसक्नुभएको छ ।

उहाँ लेखन, सम्पादन र विभिन्न सामाजिक संस्थामा समेत आवद्ध हुनुहुन्थ्यो । दलन नेपाल, मत्श्यान्चल हिन्दी मासिक, ऐक्यवद्धता अन्तर्राष्ट्रिय मासिक म्यागेजिन, सन्डे टाइम्स साप्ताकि, मेची आयुर्वेदिक इन्स्टिच्युट इलाम, रौतहट सेवा समिति लगायतका विभिन्न संघसंस्थामा समेत उहाँ विभिन्न अवधि र भूमिकामा आवद्ध हुनुहुन्थ्यो । सन् २००६ देखि दुई वर्ष मधेशी गैरसरकारी संस्था महासंघका महासचिव रहेका झा २००७/०८ मा महासंघको अध्यक्ष समेत रहनुभएको थियो ।

नयाँ दिल्लीमा सन् २०१३ मा सम्पन्न आठौं उत्तरपूर्वी व्यवसाय सम्मेलन, नेपाल भारत सहयोग मञ्च सम्मेलन २०१२, गैरआवासीय नेपाली संघ क्षेत्रीयसम्मेलन अष्ट्रेलिया २०१२, संघीयतासम्बन्धी सम्मेलन २०१० इथियोपिया, नेपालमा शान्ति स्थापना सम्मेलन २०१० अमेरिका, जाइकाको आयोजना भएको नेपाल राष्ट्र निर्माण ः वृद्धि र विकास सम्मेलन २०१० लगायतमा उहाँले विषयविज्ञका रुपमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको छ ।

नवनियुक्त मन्त्री झाका मेरो विचार, सपुत मातृभूमि के पुस्तक प्काशन भएका छन् भने विभिन्न सञ्चार माध्यममा लेख रचना, कार्यपत्र, तथा अवधारणापत्रहरु समेत प्रकाशित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार